रजत जयन्तीको अवसरमा सेन्ट लरेन्सले गर्यो विद्यार्थीलाई स्वागत तथा विदाइ
चावहिलस्थित सेन्ट लरेन्स कलेजले रजत जयन्तीको अवसरमा विद्यार्थीलाई स्वागत तथा विदाइ गरेको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच कलेजले स्नातक तहमा अध्ययनरत बिए, बिएसडब्लू, बिबिएस, बिसिए, बिएससी सिएसआइटीको नयाँ शत्रमा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा उत्तिर्ण भएकालाई विदाइ गरेको हो ।

कार्यक्रममा त्रिभूवन विश्वविद्यालयअन्तर्गत मानविक तथा सामाजिक विज्ञान संकायकी डिन प्रा.डा. कुशुम शाक्य प्रमुख अतिथिका रुपमा थिइन् । यसैगरी, शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङ, काठमाडौं महानगरपालिका (कामनपा) वडा नम्बर ७ का वडाअध्यक्ष शुद्धकुमार डंगोल, अधिवक्ता डा. रुद्र शर्मा लगायत अतिथिका रुपमा थिए ।

कलेज प्रमुख पुरुषोत्तम महर्जनले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कलेजले २५ वर्षको अवधिमा हासिल गरेको उपलब्धिमा शिक्षक, विद्यार्थी, अभिभावक सबैको हात रहेको बताए । ‘हामीले २५ औं वसन्त पार गरिरहँदा यसमा सबैको लगनशिलता, मिहेनत छ ,’ उनले भने, ‘आगामी दिनमा पनि सेन्ट लरेन्सलाई यही उचाईमा राख्न नयाँ शत्रमा भर्ना हुनुभएका विद्यार्थी भाईबहिनीहरुले मिहिनेत गर्नुहुनेछ र उत्तिर्ण हुनभएकाहरुले पनि जीवनलाई सही गन्तव्यमा पुर्याउनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।’

यसैगरी, कामनपा वडा नम्बर ७ का वडाध्यक्ष डंगोलले सेन्ट लरेन्स शिक्षाका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने विषयमा पनि अब्बल रहेको बताए । ‘सेन्ट लरेन्सले उत्कृृष्ट शिक्षा दिनुका साथै सामाजिक क्रियाकलापमा पनि सक्रिय छ,’ उनले भने, ‘त्यसैले यो कलेज वडा नम्बर ७ कै उत्कृष्ट र नमूना कलेज हो ।’

कार्यक्रममा बोल्दै डंगोलले अबको शिक्षाले युवावर्गलाई विदेशिनबाट रोक्नुपर्ने बताए । ‘हामीले नेपाल अनुकुल शिक्षा दिएका छौं कि छैनौं ?,’ उनी प्रश्न गर्दै भन्छन्, ‘कतै विदेशिनका लागि मात्र शिक्षा दिएका त छैनौं ? सबैले सोच्ने बेला आएको छ ।’यसैगरी कार्यक्रमकी विशेष अतिथि चरीमाया तामाङले आफ्नो जीवन भोगाई सुनाएकी थिइन् । जीवनमा शिक्षा र सिकाईको महत्वबारे बोल्दै उनले भनिन्, ‘शिक्षा भनेको जीवनको ज्योति हो त्यसैलाई मनन गर्दै ४६ वर्षको उमेरमा पनि पढिरहेकी छु ।’ तामाङले स्नातक तह अध्ययनका लागि मित्रपार्कस्थित कैलाशकुट क्याम्पसमा भर्ना भएको सुनाइन् ।

कार्यक्रमकी प्रमुख अतिथि प्रा.डा. शाक्यले सेन्ट लरेन्सले स्नातक तहमा सञ्चालित संकायहरुको कोटा सिस्टमको तारिफ गरिन् । ‘३५ जनाको कोटामा पूर्ण विद्यार्थी भर्ना गर्नु चानचुने कुरा होइन,’ सेन्ट लरेन्सको प्रशंसा गर्दै प्रा.डा. शाक्य भन्छिन्, ‘विद्यार्थी भर्नाका साथै ३५ जना विद्यार्थीलाई ‘पास आउट’ गराउनुपनि अर्को सफलता हो त्यसका लागि शुभकामना दिन चाहन्छु ।’

यसैगरी, उनले कलेजलाई अनुसन्धान विभाग खडा गर्न पनि सुझाव दिइन् । यी सबै कुराले त्रिविले दिने गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गर्ने आधार खडा गर्ने उनले बताइन् । कलेजले पूर्व विद्यार्थीलाई सक्रिय राखेकोप्रति खुशी व्यक्त गर्दै उनले भनिन्, ‘यसरी आफ्ना विद्यार्थी कहाँ कुन अवस्थामा छन् भन्ने लेखाजोखा एउटा शैक्षिक संस्थाले राख्नु महत्वपूर्ण हुन्छ जो आज मैले सेन्ट लरेन्समा देखेँ ।’

साथै, आफूले उत्पादन गरेका विद्यार्थी कहाँ के गर्दैछन् भन्नेबारे ‘ट्रेसर स्टडी’ गर्न पनि उनले सुझाव दिएकी छन् । ‘आफूले उत्पादन गरेका विद्यार्थीको खोजीनीति गर्नु र उनीहरुको सफलतासँग कलेज नजिक रहनु गर्वको कुरा हो,’ उनले भनिन्, ‘यसले कलेजको गुणस्तर सुनिश्चितता निर्धारण गर्न ठूलो भूमिका खेल्छ ।’

कार्यक्रमका सभापतिसमेत रहेका कलेजका अध्यक्ष केशवप्रसाद दंगालले प्रा.डा. शाक्यको सुझावलाई मनन गर्दै छिट्टै कलेजले ती कुरालाई कार्यान्वयन गर्ने बताए । ‘हामी छिट्टै रिसर्च डिपार्टमेन्ट सुरु गर्नेछौं,’ उनले भने, ‘शिक्षालाई सीपको विकास र समाज परिवर्तनको आधार बनाउने हाम्रो पनि संकल्प हो त्यसैले सबैको सुझावलाई मनन गर्दै अगाडी बढ्ने प्रण गर्दछौं ।’ साथै, उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवादसहित विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना दिएका थिए ।







