अमर न्यौपानेका पुस्तक फ्यान : गाडीमा ह्वाँ–ह्वाँ रुनेदेखि पाइलट भएकोमा पछुतो मान्नेसम्म
नेपालका प्रख्यात साहित्यकार हुन् अमर न्यौपाने । उनका पुस्तकहरू ‘सेतो धरती’, ‘करोडौँ कस्तुरी’ र ‘गुलाबी उमेर’ धेरैले रुचाएका छन् । उनको लेखनशैली सबै उमेर समूहलाई मनपर्ने गरेको छ । ‘सेतो धरती’ले विसं २०६८ सालको मदन पुरस्कार प्राप्त गरेपछि उनको चर्चा एकाएक चुलियो । उनलाई माया गर्ने पाठकको सङ्ख्या पनि एकदमै धेरै छ । धेरै पाठकहरूमध्ये आफ्ना केही अनौठा पाठकलाई उनी यसरी सम्झन्छन् :
‘सेतो धरती’ पढेर पढाइ सुधार्ने फ्यान
पोखराको मदरल्यान्ड स्कुलको कक्षा ९ पढ्ने छात्रा सुलोचना अधिकारी । उनी पढाइमा एकदमै कमजोर रहिछिन् । बा आमाले ट्युसन राख्दिँदा पनि उनको पढाइ सुध्रिएनछ । पाठ्यक्रम बाहेकको पुस्तक पढ्नुहुन्न, भन्ने मान्यता उनको अभिभावकको थियो भने स्कुलमा पनि स्कुलको पाठ्यक्रममा मात्र ध्यान दिनुपर्छ भनेर दबाब दिने गर्थे । एक दिन सुलोचनाले घरमा ‘सेतो धरती’ देखिछिन् र त्यो पुस्तक आमा बुबासँग लुकेर दुई–तीन पेज पढिछिन् । दुई तीन पेज पढेपछि उनलाई त्यो पुस्तक पढिरहने इच्छा भएछ स्कुल र घरमा अभिभावक तथा शिक्षकसँग लुकेर उनले ४ सय पेजको सेतो धरती पढेर सकिछिन् । स्कुलमा चार घण्टा लगाएर तीन पेज पढाउँदा याद नहुने मान्छेले त्यो ४ सय पेजको पुस्तक सबै पढेर याद गरिछिन् ।
उनले पुस्तकबारे समीक्षा नै लेखिछिन् जुन ‘नयाँ पत्रिका’मा छापिएको थियो । पत्रिकामा छापिएको त्यो पुस्तक समीक्षालाई कटिङ गरेर स्कुलको नोटिस बोर्डमा नै टाँसियो । उनको नाम नै ‘सेतो धरती’ राखिएछ, त्यसपछि अचानक उनको पढाइमा पनि सुधार भएछ । उनी कक्षामा पहिलो दोस्रो हुन थालिछिन् । एउटा कार्यक्रमको सिलसिलामा पोखरा जाँदा उनको आमासँग मेरो भेट भयो र उहाँले मलाई यो सब कुरा सुनाउनुभयो । उहाँले मलाई ती नानीको स्कुल पनि लिएर जानुभयो ।
त्यहाँ विद्यालयको प्रधानाध्यापकसँग पनि मेरो भेट भयो । उहाँले सुनाउनुभयो ‘हामीले पाठ्यक्रमभन्दा बाहिरको किताब पढ्न दिँदैन थियौँ तर, तपाईंको पुस्तक पढेर सुलोचनामा जुन परिवर्तन आयो । त्यसलाई देखेर हामीले महसुस ग¥यौँ पाठ्यक्रम सँगसँगै बाहिरी पुस्तक पनि पढ्नुपर्छ ।’ पढाइमा रुचि नराख्ने एक जना नानी मेरो पुस्तक पढेर पढाइतिर ध्यान दिन थालेको भन्ने कुरा थापा पाउँदा धेरै खुसी लाग्यो ।
‘करोडौँ कस्तुरी’ ले मुड चेन्ज गराएको म्यासेज पठाउने फ्यान
मेरो करोडौँ कस्तुरी उपन्यास आएको केही समयपछि एकजना भाइले मलाई म्यासेज गर्नुभएको रहेछ । म्यासेजमा लेखिएको थियो ‘मलाई घरबाट बुबाले मेडिकल साइन्स पढ्नुपर्छ भनेर एकदमै दबाब दिइरहनुभएको थियो । तर, मलाई मेडिकल साइन्स पढ्न मन थिएन । घरबाट धेरै दबाब आएको भएर एउटा इन्स्टयुटमा तयारी कक्षा लिइरहेको थिएँ । धेरै प्रयास गर्दा पनि पहिलो वर्ष मेरो नाम निस्किएन, दोस्रो वर्ष पनि पनि निस्किएन ।
एक दिन अचानक बुबा आएर छोरा तँलाई जे पढ्न मन लाग्छ त्यै पढ् भन्नुभयो । यत्रो दुई वर्ष मेहनत गरेपछि बुबाले किन अचानक यसो भन्नुभयो भनेर म छक्क परेर बुबालाई सोधेँ उहाँले मेरो अगाडि करोडौँ कस्तुरी उपन्यास राखिदिनुभयो र ल यो पढ्नु भन्नुभयो । सर । धेरै धन्यवाद तपाईंको किताबले मलाई चेन्ज गरिदियो । म चेन्ज हुनुभन्दा मेरो बुबा चेन्ज हुँदा मेरो जीवनमा धेरै परिवर्तन भयो । म मेडिकल साइन्स पढ्न चाहन्न थिएँ पत्रकारिता पढ्न चाहन्थेँ त्यो म आफ्नो लक्ष्य प्राप्तिमा सफल भएपछि तपाईंलाई भेट्न आउँछु ।’
‘करोडौँ कस्तुरी’ पढेपछि, आफू पाइलट भएकोमा पछुतो मान्ने फ्यान
एक जना महिला पाइलट हुनुहुँदो रहेछ । उहाँले मलाई फेसबुकमा एक दिन म्यासेज गर्नुभएको थियो । नमस्कार सर, म तारा एयरको पाइलट तपाईंको किताब करोडौँ कस्तुरी पढेँ अहिले मेरो दिमागले काम गरिरहेको छैन । म जहाज चलाउन जन्मेको हैन रहेछु । मेरो रुचि अर्कै थियो । मेरो शिक्षा जहाज चलाउने हो तर मेरो इच्छा जहाज चलाउने हैन । तपाईंको किताब पढेपछि मेरो दिमाग खुल्यो अब के गरौँ भनेर उहाँले म्यासेजमा लेख्नुभएको थियो । तपाईंको बेचैनीको लागि क्षमा चाहन्छु भनेर मैले उहाँको म्यासेजको जवाफ दिएँ । यो कुरा पहिल्यै महसुस गरेको भए सायद म पाइलट बन्ने थिइनँ । अब त विकल्प छैन फेरि उहाँको म्यासेज आयो ।
‘फाइन प्रिन्ट फिभर’ भन्ने एउटा कार्यक्रममा सहभागी हुन नेपालगञ्ज गएको थिएँ । एयरपोर्टमा प्लेन ल्यान्ड भएपछि विमानस्थलमा ओर्लिंदै गर्दा पछाडि बाट कुममा एक जना महिलाले थपथपाउनुभयो । को रहेछ भनेर फर्के मलाई म्यासेज गर्ने पाइलट हुनुहुँदो रहेछ । मैले तपाईंलाई म्यासेज गरेको थिएँ नि भन्दै सम्झाउनुभयो ।
नातिनीले पढेको उपन्यास सुन्ने फ्यान
२०७१ सालमा म एउटा कार्यक्रमको लागि गोर्खा गएको थिएँ । त्यहाँ एक जना बुढी आमा लौरो टेक्दै आउनुभयो । उहाँ एकदमै कुप्रो हुनुहुन्थ्यो । मेरो नजिक आएर टाउको उठाएर मलाई हेर्नुभयो र मलाई गालामा छुनुभयो । बाबु मैले तिम्रो किताब सुनेको छु नि भन्नुभयो । एफएममा सुन्नुभयो आमा भनेर सोधे ? हैन मेरी नातिनी काठमाडौंमा बसेर पढ्छे दशैँमा घर आउँदा सेतो धरती ल्याएकी रहिछ । उसलाई पढेर सुना न भने तर उसले मानिनँ । तर, १० कक्षामा पढ्ने अर्को नातिनीले पढेर सुनाई ।
स्वस्थानीजस्तै एक दुई अध्याय गरेर पढेर सुनाई । हाम्रो पालाको कथा कसरी लेख्नुभयो बाबु यति सानै उमेरमा भनेर मेरो गाला सुमसुमाउनुभयो ।
गाडीमा ह्वाँ–ह्वाँ रुने फ्यान
एकजना व्यक्ति काठमाडौंबाट पोखरा जाँदै हुनुहँदोरहेछ । उहाँले गाडीमा मेरो पुस्तक ‘सेतो धरती’ पनि पढ्दै हुनुन्थ्यो रे । किताब पढ्दापढ्दै उहाँ ह्वाँ–ह्वाँ रुनु भएछ । उहाँले म गाडीमा छु भनेर नै बिर्सनुभएछ । मेरो वरिपरि अरू मान्छे पनि छन् भनेर पनि बिर्सनुभएछ । सबै प्यासेन्जर आएर के भयो भनेर उहाँलाई सोधेछन् । म त किताब पढेर रोएँ भन्नुभएछ । सबै जिल्ल परे, उहाँ मेरो नाता पर्ने व्यक्ति हुनुहुँदोरहेछ । त्यो कुरा उहाँले मसँग भेट हुँदा सुनाउनुभएको थियो ।
यो पनि…
‘कलेजमा पहिलो ब्वाई हुनु दबाब थियो’
‘मार्कसिट सच्याउन काठमाडौं आउँदा कलेज भर्ना भएँ’