English

एलोपेथिकमात्र होइन आयुर्वेदिक औषधी पनि उत्तिकै महँगो



एलोपेथिक र आयुर्वेदिक दुवै उपचार पद्धतिमा प्रयोग हुने औषधीको उत्पादन औषधी व्यवस्था विभागले गर्छ । औषधीको गुणस्तर, मूल्य निर्धारण पनि विभागले नै गर्दै आएको छ । अत्यावश्यक वस्तुभित्र पर्ने औषधीको मूल्य आम जनताको पहुँच अनुसार बनाउने जिम्मा पनि विभागकै हो । तर, बिडम्बना औषधी आममानिसको पहुँचभन्दा बाहिर पुग्न थालेको छ ।

भरत भट्टराई
महानिर्देशक, औषधी व्यवस्था विभाग

सबै अत्यावश्यक चिजहरूको मूल्य वृद्धि भइरहेको छ यस्तो अवस्थामा औषधीको मूल्य बढ्नु पनि स्वाभाविक हो । केही औषधीहरू उत्पादन भन्दा पनि कम मूल्यमा बिक्रि भइरहेका छन् ।

किनभयो औषधी अति महङ्गो ? औषधी अचाक्ली महङ्गो हुनुको कारणका सम्बन्धमा औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईको तर्क थियो, ‘सबै अत्यावश्यक चिजहरूको मूल्य वृद्धि भइरहेको छ यस्तो अवस्थामा औषधीको मूल्य बढ्नु पनि स्वाभाविक हो ।’ महानिर्देशक भट्टराईको दावी थियो,‘केही औषधीहरू उत्पादन भन्दा पनि कम मूल्यमा बिक्रि भइरहेका छन् ।’

अन्तर्राष्ट्रिय रूपमै कच्चा पदार्थको मूल्य वृद्धि, आयात खर्च आदिले गर्दा केही औषधीहरूमा बढी मूल्य पर्न गएकोले ती औषधीहरूको मूल्य कसरी समायोजन गर्ने भन्ने विषयमा पनि विभागले अध्ययन गरिरहेको भट्टराईको दावी थियो ।

२०६४ सालमा औषधीको मूल्य तोकिएको थियो, त्यसपछि मूल्य समायोजन भएको छैन । कुनै औषधीहरूको मूल्य घटाउनु पर्ने र कुनैको बढाउनु पर्ने भएकोले अहिले हामी त्यो काममा लागिरहेका छौ ।

सन्तोष केसी
प्रवक्ता, औषधी व्यवस्था विभाग

हामीकहाँ उत्पादन हुने औषधीहरूको कच्चा पदार्थ पनि विदेशबाट आयात हुने भएकोले अन्तर्राष्ट्रिय स्तरमा कच्चा पदार्थको मूल्य बढेको खण्डमा हाम्रोमा पनि औषधीको मूल्य वृद्धि हुने औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बताउँछन् । केसीको कथन थियो, ‘२०६४ सालमा औषधीको मूल्य तोकिएको थियो, त्यसपछि मूल्य समायोजन भएको छैन । कुनै औषधीहरूको मूल्य घटाउनु पर्ने र कुनैको बढाउनु पर्ने भएकोले अहिले हामी त्यो काममा लागिरहेका छौ ।’

आयुर्वेदिक तथा एलोपेथिक दुवै औषधीको प्रकार अनुसार मूल्य फरक छ कुनै आयुर्वेदिक औषधी महँगा छन् भने कुनै एलोपेथिक । त्यसैले यो नै महँगो भनेर तोक्न गाह्रो हुने केसीको भनाई छ ।

सबै एलोपेथिक औषधी महँगो नभई केही गम्भीर किसिमका रोगमा प्रयोग हुने औषधीहरू मात्र महँगो भएको नेपाल औषधी लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह बताउँछन् ।

औषधीको बनावटले पनि त्यसको मूल्य निर्धारण गरेको हुन्छ, उदाहरणको लागि दुखाई कम गर्न प्रयोग गरिने पेनकिलरको ट्याब्लेटको मूल्य दुई रुपैयाँ पर्छ भने इन्जेक्सन (सुई)को दुई सय पर्छ ।

मोहम्मद सफिउल्लाह
महाप्रबन्धक, नेपाल औषधी लिमिटेड

आधुनिक चिकित्सा पद्धतिले धेरै रोगको उपचार पत्ता लगाएको छ । आयुर्वेदमा सम्भव नभएको उपचार पनि आधुनिक उपचारमा सम्भव भएको छ । एलोपेथिक औषधीलाई धेरै प्रशोधन गर्नु पर्छ । कच्चा पदार्थ सबै बाहिरबाट आयात हुने भएकोले उतैबाट कच्चा पदार्थको मूल्य बढेको हुनाले एलोपेथिक औषधीको मूल्य बढी पर्न गएको सफिउल्लाहको तर्क छ । ‘औषधीको बनावटले पनि त्यसको मूल्य निर्धारण गरेको हुन्छ, उदाहरणको लागि दुखाई कम गर्न प्रयोग गरिने पेनकिलरको ट्याब्लेटको मूल्य दुई रुपैयाँ पर्छ भने इन्जेक्सन (सुई)को दुई सय पर्छ ।’

आयुर्वेदिक उपचार पद्धति भन्दा एलोपेथिक बढी महँगो नभएको सफिउल्लाहको तर्क छ । ‘एलोपेथिक उपचार आयुर्वेदिकको तुलनामा अलि छिटो हुने भएकोले एकै पटक धेरै खर्च हुन्छ र उपभोक्तालाई यो बढी खर्चिलो लाग्छ । तर , आयुर्वेदिक उपचार पद्धतिमा उपचार पद्धति लामो हुन्छ, लामो समय उपचार गरिरहँदा यो पनि कम खर्चिलो भने हुँदैन ।’

आयुर्वेद चिकित्सामा केही औषधीहरूको मूल्य नै पर्दैन भन्दा पनि फरक नपर्ला । हाम्रो भान्सा तथा करेसा बारीमा पाइने जडीबुटीहरू हामीले धेरै कम मूल्यमा पाएका हुन्छौ । तर, जति पनि औषधीहरू प्रशोधन भएर उत्पादन भएका छन् ती आयुर्वेदिक औषधीहरू भने एलोपेथिक औषधीको तुलनामा केही महँगो भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय बताउँछन् ।

डा. वासुदेव उपाध्याय
महानिर्देशक, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

आयुर्वेद भनेको रोग लाग्न नदिन कस्तो जीवनशैली अपनाउने भन्ने कुरामा बढी केन्द्रित हुन्छ । त्यसैले रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु उचित हुन्छ ।

आयुर्वेद भनेको स्वास्थ्य जीवनशैली अपनाउनु हो । तर, अहिले जसरी एलोपेथिक औषधीको दुरुपयोग भइरहेको छ त्यसरी नै आयुर्वेदिक औषधीको पनि दुरुपयोग भइरहेको डा.उपाध्यायको भनाई छ । ‘अहिले आयुर्वेदिक औषधीहरूको पनि गुणस्तर र मूल्य वृद्धिको कुरा आइरहेको छ ।’

आयुर्वेदिक औषधी धेरै जडीबुटीहरूको मिश्रणबाट बनेको हुन्छ । धेरै जडीबुटीको मिश्रण भएको हुनाले सबैको मूल्य जोड्दा पनि धेरै मूल्य पर्न जान्छ । आयुर्वेदिक उपचार पद्धति लामो समयसम्म प्रयोग भइरहने भएकोले पनि यो केही महँगो पर्न गएको उपाध्यायको तर्क छ । ‘आयुर्वेद भनेको रोग लाग्न नदिन कस्तो जीवनशैली अपनाउने भन्ने कुरामा बढी केन्द्रित हुन्छ । त्यसैले रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु उचित हुन्छ ।’

नेपालमा नै उत्पादन गर्न सकिने औषधीहरू पनि विदेशबाट आयात गर्ने प्रवृत्तिले गर्दा आमनागरिक औषधीको मूल्य बढी तिर्न बाध्य छन् । हाम्रो देशमा उत्पादन भएको जडीबुटीहरू भारत लगायत अन्य देशमा बिक्री वितरण हुन्छ र फेरि उनीहरूसँग हामीले किनेर ल्याउनु पर्छ । जसले गर्दा नेपालमा औषधीको मूल्य बढी पर्न जान्छ ।

त्रिफलामा ३ वटा जडिबुडी मिसाइएको हुन्छ भने च्यवनप्रासमा ४६ प्रकारको जडीबुटीहरू,त्यसैले सबै जडीबुटीको थोरै थोरै लागत गर्दा पनि त्यो महँगो पर्न गएको हो ।

डा. मुनकर्ण थापा
वरिष्ठ आयुर्वेद विज्ञ

एलोपेथिक र आयुर्वेदिक औषधीको मूल्यमा तुलना गर्ने हो भने स्वभाविक रूपमा आयुर्वेदिक औषधी महँगो पर्न जान्छ । आयुर्वेदिक औषधीको बनौटनै महँगो छ । एउटा मात्र कच्चा पदार्थ प्रयोग भएर बनाइएको औषधी छ भने त्यसको मूल्य कम पर्छ । तर, धेरै जडीबुटीहरू मिसाएर बन्ने औषधीको मूल्य बढी पर्छ । आयुर्वेदिक औषधीमा धेरै जडीबुटी प्रयोग हुने भएकोले अलि महँगो पर्न जाने वरिष्ठ आयुर्वेद विज्ञ डा. मुनकर्ण थापा बताउँछन् । ‘त्रिफलामा ३ वटा जडिबुडी मिसाइएको हुन्छ भने च्यवनप्रासमा ४६ प्रकारको जडीबुटीहरू,त्यसैले सबै जडीबुटीको थोरै थोरै लागत गर्दा पनि त्यो महँगो पर्न गएको हो ।’

नेपालमा उत्पादन भएको जडीबुटीलाई यतै उपयोग गरेर औषधी बनाउन सकेको खण्डमा भने एलोपेथिक तथा आयुर्वेदिक दुवै औषधीहरूको मूल्य कम पर्छ । त्यसैले यहाँ उत्पादन भएका जडीबुटीहरूको खपत गरेर नेपालमा नै उत्पादन बढाउनु पर्ने डा.थापा सुझाउँछन् ।

त्यसपछि औषधी केही सस्तो होला कि !

यो पनि…
आम मानिसको पहुँचमा छैन स्वास्थ्य सेवा
नेपालको स्वास्थ्य क्षेत्रमा कसरी भित्रियो निजी क्षेत्र ?



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन