English

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ३७ हजारको मृत्यु !



नेपालमा हरेक वर्ष वायु प्रदूषणका कारण ३७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइएको छ । वायु प्रदूषणका कारण मर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्वमा हरेक दश जनामध्ये नौ जनाले प्रदूषित हावामा स्वास फेर्ने गरेको र हरेक वर्ष ७० लाख मानिसले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३.६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा बाँचिरहेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको पाइएको छ । नेपालमा मात्रै सूर्तीजन्य पदार्थको सेवनबाट हुने रोगबाट २७ हजारभन्दा बढीको ज्यान जाने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसहरूको मृत्यु हामीले नियन्त्रण गर्न सकिने वातावरणीय कारणहरूले गर्दा हुने गरेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्रले विश्व स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा एक विज्ञप्ति जारी गर्दै वातावरण प्रदूषणका विषयमा गम्भीर बन्न सबैमा अनुरोध गरेकाे छ ।

नेपाल जलवायु परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको मुलुक हो । देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरू (बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने बन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारकहरू हुन् ।

यस वर्ष नेपालमा वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइँदैछ । जनस्वास्थ्यका मुद्दाहरूलाई सम्बाेधन गर्ने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनले बर्सेनि नारा तय गर्दछ ।

विश्व जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावको साक्षी छ । प्रत्येक बितेका वर्षलाई हेर्ने हो भने स्पष्ट र थप प्रमाणका साथ कसरी जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जिवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ भनि देखाइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलवायु परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुलाई सम्बोधन गर्नका लागि विभिन्न कदमहरू चालेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना कार्यान्वयन गरेको र जुन स्वास्थ्य क्षेत्रको जोखिम र अनुकूलन मूल्याङ्कनका आधारमा परिमार्जनको चरणमा रहेको जनाएको छ । यसका अतिरिक्त विभिन्न नीतिहरू जस्तैः राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सन २०२१ मा ग्लस्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालले पेन्टमा हुने सिसाको मात्रा ९० पीपीएम तोकेर बाध्यकारी मापदण्ड लागू गरेको छ र यस्को कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको मन्त्रालयको दाबी छ । मर्करीको प्रयोगबाट स्वास्थ्यमा हुने जोखिमलाई ध्यानमा राख्दै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन २०२० मा गर्भवती, स्तनपान गराउने महिला र १५ वर्ष मुनिका बालबालिकाहरूलाई तत्काल लागू हुनेगरी र अन्यलाई पाँच वर्षभित्र डेन्टल अमल्गमको प्रयोग निषेध गर्न निर्देशिका जारी गरेको थियो ।

स्वास्थ्य सेवा संस्थाहरूमा स्वच्छ पानी र सरसफाइमा पहुँच सुनिश्चिजत गर्न आवश्यक सेवाहरूमा लगानी बढाउन जरुरी रहेको मन्त्रालयको दाबी छ । नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिवद्धताअनुसार जलवायु परिवर्तन, वायुको गुणस्तर, रासायनिक सुरक्षा, सरसफाइजस्ता उदीयमान वातावरणीय स्वास्थ्यसँग सम्बन्धित दिगो विकासका लक्ष्यहरू सन् २०३० सम्ममा हासिल गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि…
देशभर वायु प्रदूषण, घरबाहिर ननिस्कन चेतावनी
वायु प्रदूषण : विज्ञले दिए चेतावनी !



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन