ह्यारीको सहयोग विद्यालयलाई अभिसाप : उनी फर्किएनन्, अरूले हातै हालेनन्
२०७२ सालको महाविनाशकारी भूकम्पको केन्द्र गोरखा थिलथिलो भयो । विद्यालय र सार्वजनिक भवन मात्रै होइन, मान्छेका घरहरूसमेत खण्डहर बने । भूकम्पबाट धार्चे र बारपाक क्षेत्र सबैभन्दा बढी प्रभावित भए । लामो समय विद्यालयनै खुलेनन् ।
बिस्तारै चउरमा बालबालिका राखेर पढाई हुन थाल्यो । चउरमै बसिरहेका विद्यार्थीको पीडा देख्न नसकेर टीम रुविकन (बेलायती सेनाबाट अवकास प्राप्तहरूको संस्था)ले धार्चे गाउँपालिकास्थित लापूबेँशीको प्रभात किरण माविको भवन बनाइदिने निधो गर्यो ।
भूकम्प गएको केही समयमै विद्यालय बन्ने भएपछि गाउँलेहरू खुसी भए । विदेशीहरू आएर धमाधम काम गर्न थाले । केही समयपछि नौ जनाको टोली पनि थपियो, विदेशी नै । गाउँलेहरूले ठाने उनीहरू पनि स्वंसेवक होलान् । सँगसँगै माटो बोके, गारो लगाए ।
केही दिनपछि हल्ला चल्न थाल्यो, बेलायती तत्कालीन राजकुमार गोरखाको विकट गाउँमा विद्यालय बनाउन गए । समाचार सुनेपछि गाउँलेहरू मुखामुख गर्न थाले । अलि दिन बितेपछि थाहा भयो, आफैसँग ढुंगामाटो बोकिरहेका व्यक्ति बेलायती राजकुमार रहेछन् ।
‘निकै साधारण मान्छे । सबैसँग मिल्ने, दुःखमा पनि रमाउने,’ स्थानीय हसिमान गुरुङ भन्छन्, ‘चिनजान नहुँदा त को गोरा आएर काम गरिरहेको छ भनेर वास्तै गरिएन । थाहा भएपछि आफैंलाई कस्तो कस्तो लाग्यो ।’
सुरुमा आउँदा ह्यारीबारे कसैलाई थाहा थिएन । पहिले पनि कहिलेकाहीँ पर्यटकहरू आएर काम गरिरहन्थे । कसैलाई चासै भएन । ‘हामीलाई पनि जानकारी थिएन । मिडियामा समाचार आएपछि त हामी छक्क पर्यौं,’ सोही विद्यालयमा पढाउने शिक्षक श्यामबहादुर नेपालीले भने, ‘मान्छेले नचिन्दासम्म फोटो खिच्ने र सँगै खाने गर्थे । पछि फोटो खिच्न पनि दिएनन् । फोटो खिचे कानुनी कारबाही गर्छु भने ।’
ह्यारीले एक साताभन्दा बढी लापूबेँशीमा बिताए । सुटुक्क त्यहाँ पुगेर आफैं श्रमदान गरेका उनले विद्यालय बनाउन लाग्ने सबै खर्च आफू र टीम रुविकन नामक संस्थामार्फत जुटाइदिए । ३५ लाख लागतमा त्यहाँ १२ कोठे अस्थायी भवन बन्यो ।
तत्कालको आवश्यकता पूरा गर्न बनेको भवन अहिले जीर्ण भइसकेको छ । भवन बनाएर फर्किएका ह्यारीले अहिलेसम्म विद्यालय सम्झिएनन् । ‘यहाँबाट गएपछि कोही आएका छैनन् । टीम रुविकनकै दुई जना आए, उद्घाटनको बेलामा । ह्यारीले चाहीँ कन्ट्याक्ट गरेका छैनन्,’ नेपालीले भने, ‘विद्यालय जीर्ण भयो । नयाँ बनाउन सकिएको छैन । सहयोग माग्न जाँदा कसैले वास्ता गर्दैनन् ।’
तत्कालको आवश्यकता पूरा गर्न बनेको भवन अहिले जीर्ण भइसकेको छ । भवन बनाएर फर्किएका ह्यारीले अहिलेसम्म विद्यालय सम्झिएनन् । भवन मात्रै होइन शिक्षाको अवस्थासमेत नाजुक छ । शिक्षकको तलब जुटाउन अप्ठ्यारो भएको छ भने विद्यार्थीलाई आकर्षण गर्नेगरी पढाई हुन सकेको छैन ।
बेलायती तत्कालीन राजकुमारले बनाइदिएको भनेर कसैले पनि विद्यालय स्तरोन्नतीमा हात हाल्न मानेका छैनन् । विद्यालयका शिक्षक शिवराज खनाल ह्यारीकै कारण सहयोगी नपाएको हुनसक्ने अनुमान गर्छन् ।
‘कसैसँग सहयोग माग्दा ह्यारीले बनाइदिएको विद्यालयमा सहयोग गर्नुपर्छ र ? भन्छन् । हामीले त्यहाँ किन हात हाल्ने भनेर ठाडो शब्द बोल्छन्,’ उनले भने, ‘भूकम्प जाँदा सुरुमा त राम्रो भयो । अहिले अन्त राम्रो भवन बन्यो । हाम्रो विद्यालय जीर्ण छ ।’
भवन मात्रै होइन, त्यहाँको शिक्षाको अवस्था समेत नाजुक छ । शिक्षकको तलब जुटाउन अप्ठ्यारो भएको छ भने विद्यार्थीलाई आकर्षण गर्नेगरी पढाई हुन सकेको छैन । ‘छिमेकका सबै विद्यालय भवन भव्य बनेका छन् । सिंहदरबार जस्ता भवन छन्,’ उनी भन्छन्, ‘यो विद्यालयमा ठूलो पानी पर्यो भने भित्रै चुहिन थाल्छ । घाम चर्कियो भने पसिनाले पढाउन सकिँदैन ।’
लापुगाउँमा शिक्षा कार्यालयबाट दुई कोठे र एनजिओले भव्य विद्यालय बनाइदियो । गंगाजमुना आधारभुत विद्यालय भिरकुनामा शिक्षा कार्यालयले नै पक्की भवन बनाईदिएको छ । छिमेकका सबै विद्यालयको भव्य भवन हुँदा लापुबेँशीका विद्यार्थी र शिक्षक भने हेरेरै चित्त बुझाउन बाध्य छन् ।
विद्यालयमा १५ जना शिक्षक छन् । अधिकांश शिक्षकलाई गाउँलेले मासिक चन्दा उठाएर पाल्छन् । ह्यारी बेलायत गएपछि राजसंस्थाबाट अलग हुने निर्णयले त्यहाँका स्थानीय र शिक्षकहरू झनै निराश भए । गाउँलेले आफ्नो गाउँको सम्झना गराईराख्न डाँडै उपहार दिए । तर ह्यारीले गाउँ सम्झिएनन् ।
उनको नाममा स्थानीय डम्फूडाँडालाई ह्यारी हिल नामाकरण गरिएको छ । ह्यारीले सहयोग थप्नु त परको कुरा उनकै कारण संघ संस्था र सरकारबाट आउने अनुदान र पाउने सहयोग पनि पाउन छोडे । विद्यालयका शिक्षक पाल्न प्रत्येक घरले एक सय ५० रुपैयाँ मासिक उठाउँछन् ।
‘मावि सन्चालन गर्ने बेलामै मासिक सहयोग गर्ने भनेर स्थानीयले बचन दिए । पहिले ५ सय उठाईन्थ्यो, अहिले डेढ सय मात्रै उठाउछौं,’ लेखापाल विनिता गुरुङ भन्छिन्, ‘बोलेको पैसा खुरुखुरु तिर्नुहुन्छ ।’ विद्यालय चलाउने अरू श्रोत नभएको उनले बताइन् । अघिल्लो वर्षदेखि गाउँपालिकाले ३ वटा शिक्षकको कोटामा अनुदान दिएको छ ।
यो पनि…
छनोट गरियो १४० विद्यालय, कारण यस्तो छ [नामसहित]
शिक्षक परीक्षा जारी रहँदा शिक्षामन्त्रीले दिए यस्तो निर्देशन