English

नयाँ आईजीपीमा कसले मार्लान् बाजी ?



नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् । डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन् । यीसँगै नेपाल प्रहरीमा नाै जना एआईजी भएका छन् । तीमध्ये आठ जना जनपदतर्फका छन् । भने एक जना प्राविधिकतर्फका छन् । तीनै आठ जनामध्येबाट भावी प्रहरी प्रमुख नियुक्त गरिनेछ । आठ जनामध्ये चार जनाबीच मात्रै प्रतिस्पर्धा हुनेछ ।

अब एआईजीपीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै आजबाट थपिएका सिंह र धानुकबीच प्रतिस्पर्धा हुनेछ । चारै जना एआईजीहरू एउटै ब्याची हुन् । चारै जना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

पन्त भने वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउँदै छन् । जसले गर्दा उनी आईजीपीको दौडबाट बाहिरिनेछन् । आईजीपी क्षेत्रीका ब्याची एआईजीहरू हरि बहादुर पाल, प्रद्युम्न कार्की र नीरज शाही पनि १९ वैशाखदेखि अवकाश पाउँदै छन् ।

सरकारले गत ५ फागुनमा नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू निकट मानिएका सिंह र धानुकलाई आईजीपीको प्रतिस्पर्धामा ल्याउन दरबन्दी थप गरेको आरोप लाग्ने गरेको छ ।

नयाँ प्रहरी प्रमुख सरकारको हातमा

अब नयाँ प्रहरी प्रमुख को बन्ने भन्ने सरकारको हातमा छ । प्रहरी प्रमुख नियुक्त गर्दा वरीयताक्रम तथा कार्य सम्पादन मूल्यांकन हेरेर गर्नुपर्ने हुन्छ । तर, सरकारले आफू अनुकूलका प्रहरी अधिकृतलाई नियुक्त गर्दै आएको छ ।

अब चार जनामध्ये कसले नेपाल प्रहरीको २९औं प्रहरी प्रमुखको जिम्मेवारी पाउनेछन् ? यो आम चासोको विषय छ । प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोखरेल एसपी बढुवा हुँदा आफ्नो ब्याचको पाँचौं स्थानमा थिए । त्यो बेला धीरजप्रताप सिंह ब्याचको पहिलो नम्बरमा थिए । तर, एसएसपी बढुवादेखि पोखरेल पहिलो नम्बरमा आए ।

हालका आइजी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याचकालाई पछि पारे । सडक दुर्घटनामा डीआईजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेल वैशाख २०७६ मा एक्लै डीआईजीमा बढुवा भए ।

त्यसपछि, उनी १५ मंसिर २०७७ मा एआईजीमा बढुवा भए । त्यो पनि दरबन्दी थप गरेर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको थियो ।

अस्वाभाविक छलाङ मारेका पोखरेल आईजीपीको प्रबल दाबेदार हुन् । तर, उनलाई एमालेको ट्याग लागेकाले सम्भावना कम देखिन्छ । निर्वाचनमा आफूहरूलाई सहयोग गर्ने चिन्ता प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणको छ । जसले गर्दा दुवै जनाको रुचिमा पोखरेल परेका छैनन् ।

आईजीपी बन्न चर्को लबिङ गर्ने अर्का एआईजी हुन् सहकुल थापा ।

डीआईजीमा सिंह र धानुकसँगै बढुवा भएका थिए । थपिएको दरबन्दीबाट उनी एआईजीमा बढुवा भएका थिए । उनलाई पनि देउवाले पत्याइहाल्ने अवस्था छैन । तर, वरिष्ठताको आधारमा पोखरेल र थापामध्ये एक जना बढी दाबेदार हुन् । आज बढुवा भएका सिंह र धानुक पनि पोखरेलकै ब्याची हुन् । एसपीसम्म १ नम्बरमा रहेका सिंह एसएसपी बढुवामा शीर्ष तीनमा परेका थिए ।

सिंहलाई देउवाले आईजीपी बनाउन चाहेका छन् । सुदूरपश्चिम घर भएका तथा एआईजीको तेस्रो वरीयतामा रहेका सिंहलाई प्रधानमन्त्री देउवाले बढी रुचि देखाएका हुन् ।

नेपाल प्रहरीका भाग्यमानी प्रहरी अधिकृत मानिएका धानुक पनि भावी आईजीपीका दाबेदार मानिन्छन् । सुदूरपश्चिम घर भएका धानुकलाई पनि देउवाकै साथ छ । प्रहरीले सञ्चालन गर्ने अप्रेसनहरूमा धानुक ‘अब्बल’ प्रहरी अधिकारीका रूपमा परिचित छन् ।

जसले गर्दा पनि देउवाले उनलाई एआईजीमा बढुवा गरेका हुन् । हुन त सिंह डिआइजीमा छैटौं र धानुक आठौं वरीयता क्रममा छन् । तर, प्रधानमन्त्री देउवाले सिंह र धानुकमध्ये एक जनालाई आइजिपी बनाउन खोजेका छन् ।

तीनजना डीआइजीहरू सर्वोच्च पुगे

उनीहरूभन्दा वरीयताक्रममा अगाडि रहेका तीन जना डीआइजीहरू एआईजीमा बढुवा नभएपछि सर्वोच्च पुगेका छन् । डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् ।

उनीहरूले बढुवा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश मागदाबी गरेका छन् ।

उनीहरूको दाबीअनुसार नै सर्वोच्चले फैसला गरेको खण्डमा थप तीन जना पनि भावी आईजीपीका दाबेदार मानिनेछन् ।

यो पनि…
स्थानीय निर्वाचनमा एकलाख म्यादी प्रहरी खटिने
म्यादी प्रहरीले यस्ता सुविधा पाउने



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन