नेपाली फिल्मले दर्शकलाई हलसम्म डोर्याउन किन सकेन ?
अहिले नेपाललगायत विश्वका धेरै फिल्म हलहरूमा दक्षिण भारतीय फिल्म ‘आरआरआर’ प्रदर्शन भइरहेको छ । विश्व फिल्म जगतमा यस फिल्मको चर्चा चुलिएको छ । ‘आरआरआर’ ले नेपाली दर्शकलाई पनि उत्तिकै आकर्षित गरिरहेको छ ।
नेपाली दर्शक तथा फिल्मकर्मीबीच पनि अहिले ‘आरआरआर’ को चर्चा चुलिएको छ । नेपालका थुप्रै हलहरूमा आरआरआरसँगै नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ र ‘चिसो एस्ट्रे’ पनि प्रदर्शन भइरहेकै छ । तर, परिणाम, यी दुई फिल्मको कहीँ कतै नामोनिशान भेटिँदैन ।
पछिल्लो समय दक्षिण भारतीय, हिन्दी तथा अंग्रेजी फिल्म हेर्नका लागि नेपाली फिल्मको ठूलो लर्को सिनेमा हलमा पसिरहेको देखिन्छ । तर, नेपाली फिल्मले भने दर्शकलाई चुम्बकीय शैलीमा हलसम्म डो¥याउन सकेका छैनन् । हलिउड तथा बलिउड फिल्महरूले कमाल गरिरहेका बेला नेपाली फिल्म भने आकर्षणको क्यानभासमा समेत अटाउन सकेको छैन ।
नेपाली फिल्मले नेपाली दर्शकलाई नै आकर्षित गर्न नसक्नुको कारणबारे धेरै बहस भएका पनि छन् । बहसबाट निस्किएको निचोड हो, हामीले पस्कने कथा नै कमजोर धरातलमा उभिएको छ । तर, कारण यो मात्र छैन । फिल्ममा उचित लगानी भएको छैन । राम्रो कथा त पस्किन सकेका छैनौँ नै सङ्गीत र निर्देशनमा पनि फिल्म निर्माताहरूको ध्यान नगएका कारण नेपाली फिल्मको क्रेज क्रमशः घट्दै गएको निर्देशक दिवाकर भट्टराई बताउँछन् । ‘यस्तै, अवस्था रहने हो भने अबको तीनदेखि चार वर्षको अवधिमा नेपाली फिल्म पनि बन्थ्यो र भन्ने अवस्था सिर्जना हुन सक्छ,’ भट्टराई निराश सुनिए ।
दोस्रो कारण भनेको समयसँगै नेपाली फिल्मका दर्शक बाँडिएका छन् । पहिले मनोरञ्जनको धेरै विकल्प थिएनन्, जसले गर्दा नेपाली फिल्म प्राथमिकतामा पथ्र्यो । ‘अहिले विश्व भरको फिल्म नेपाली हलहरूमा एकैदिन एकसाथ चल्छ, जसले गर्दा नेपाली दर्शकहरू बाँडिएका छन् । त्यसैले, राम्रो फिल्म बनाएर दर्शकको मन जित्नु बाहेकको विकल्प नेपाली फिल्म मेकरहरूसँग छैन,’ भट्टराई उपाय सुझाउँदै थिए ।
मेरो छोरीलाई, श्रीमतीलाई, गर्लफ्रेन्डलाई नायिका बनाउँछु, मेरो छोरोलाई, ज्वाइँलाई नायक बनाउँछु भनेर फिल्म मेकरहरू आएका हुन्छन् । तर, व्यावसायिक रूपमा फिल्म बनाउँछु भनेर कमै मात्र आएका हुन्छन् । त्यसैले, पनि नेपाली फिल्म राम्रो बन्न सकेको छैन ।
फिल्म राम्रो बन्यो भने त्यसले कलाकारलाई स्टार बनाउने हो । स्टारलाई लिएर फिल्म बनाउँदैमा राम्रो बन्ने होइन । राम्रा भनिएका कलाकारले अभिनय गरेको फिल्म पनि फ्लप भएका छन् र फिल्मकै कारण स्टार भएकाहरू पनि छन् ।
उदाहरणका लागि ‘लुट’ ले धेरैलाई स्टार बनाइदियो भने ‘कालो पोथी’ ले एउटा बालकलाई स्टार बनाइदियो । जब फिल्म कमजोर हुँदै जान्छन् भएका स्टारहरूको पनि क्रेज घट्दै जान्छ । तर, कथा र गुणस्तरमा ध्यान दिन सकेमा नेपाली फिल्म फेरि माथि उठ्ने भट्टराईको तर्क छ ।
‘फिल्मको सङ्ख्याभन्दा पनि गुणस्तरमा ध्यान दिन सकिएन भने गाली खानुको विकल्प नेपाली फिल्मसँग छैन,’ भट्टराई नेपाली फिल्म निर्माणको नियति सुनाउँदै थिए, ‘मेरो छोरीलाई, श्रीमतीलाई, गर्लफ्रेन्डलाई नायिका बनाउँछु, मेरो छोरोलाई, ज्वाइँलाई नायक बनाउँछु भनेर फिल्म मेकरहरू आएका हुन्छन् । तर, व्यावसायिक रूपमा फिल्म बनाउँछु भनेर कमै मात्र आएका हुन्छन् । त्यसैले, पनि नेपाली फिल्म राम्रो बन्न सकेको छैन ।’
नेपाली फिल्मसँग जोडिएका सेलिब्रेटीहरूले आफू सेलिब्रेटी हुनुको अर्थ नै थाहा छैन । टिकटकदेखि म्युजिक भिडियोमा जताततै उनीहरू सजिलै उपलब्ध छन् । उनीहरूलाई सेलिब्रेटी हुनुको मूल्य नै थाहा छैन ।
दर्शकले निःशुल्क सेलिब्रेटीहरूलाई हेर्न पाइरहेका छन् भने त्यो सेलिब्रेटीलाई पैसा तिरेर हलमा गएर किन फिल्म हेर्ने ? यो कारणले पनि नेपाली फिल्मको दर्शक घटेको भट्टराई तर्क गर्छन् ।
दर्शकहरू हलसम्म जाने भनेको मनोरञ्जनका लागि हो । यदि, दर्शकले फिल्मबाट मनोरञ्जन पाएनन् भने त उनीहरूलाई सजाय दिएजस्तो हुन्छ । ‘कुनै नेपाली फिल्ममा त संवाद बोलेकोसम्म पनि मिल्दैन अनि दर्शकले कसरी पत्याउने नेपाली फिल्मलाई,’ भट्टराई भन्दै थिए, ‘कति दिनसम्म नेपाली फिल्मलाई माया गर्दिनुस् भनेर हात जोड्ने ? मेहनत गरेर राम्रो फिल्म बनाउने हो भने त दर्शक आफँै हलसम्म पुगिहाल्छन् नि ।’
कोरोनापछि नेपाली फिल्मका दर्शक केही घटेका छन् । किनकी, कोरोनाले गर्दा राम्रा फिल्महरू प्रदर्शन हुन पाएका छैनन् । त्यसैले, पनि नेपाली दर्शकले अहिले हिन्दी तथा दक्षिण भारतीय फिल्मलाई माया गरिरहेका छन् । त्यसैले, हिन्दी तथा दक्षिण भारतीय फिल्मले मात्र आक्रामक व्यापार गरे दर्शकको मन जिते भन्न नमिल्ने निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला बताउँछिन् । ‘हलिउड र दक्षिण भारतीय फिल्म मात्र हैन राम्रो फिल्म बनेको खण्डमा दर्शकले माया गर्छन् ।’
शुक्रबार र शनिबार नेपाली फिल्म मात्र प्रदर्शन गरेर अन्य दिनमा विदेशी फिल्म प्रदर्शन गरियो भने राम्रो नेपाली फिल्मले धेरै दिन हलमा टिक्न पाउँछन् ।
नेपाली फिल्मलाई पनि दर्शकले धेरै माया गरेका छन् । २० करोड सम्मको व्यापार गरेको उदाहरण पनि छ । हामीले बलिउड र हलिउड फिल्मसँग नेपाली फिल्मलाई तुलना गर्नुभन्दा नेपाली माटो सुहाउँदो फिल्म बनाउनुपर्छ । हलिउड, बलिउडजस्तो स्रोत–साधन हामीसँग छैन । हामीले नेपाली फिल्मलाई गुणस्तरीय बनाउन त लाग्नुपर्छ तर त्यसको चक्करमा नेपाली कथा र त्यसलाई भन्ने शैली भने भुल्न नहुने निरौला बताउँछिन् ।
नेपाल सरकारले नेपाली फिल्मलाई संरक्षण भने गर्नु नै पर्छ । धेरै लगानी र प्रविधिमा बनेका विदेशी फिल्मसँग नेपाली फिल्म भिडाउन डराउनुभन्दा पनि पहिलो प्राथमिकता नेपाली फिल्मलाई दिनुपर्ने दीपाश्रीको तर्क छ । ‘शुक्रबार र शनिबार नेपाली फिल्म मात्र प्रदर्शन गरेर अन्य दिनमा विदेशी फिल्म प्रदर्शन गरियो भने राम्रो नेपाली फिल्मले धेरै दिन हलमा टिक्न पाउँछन् ।’
नेपाली फिल्मको औसत लागत दुईदेखि पाँच करोड रुपैयाँ हो भने हलिउड तथा बलिउड फिल्मको लगानी पाँच सय करोडको हाराहारीमा हुन्छ, जसले गर्दा बलिउड, हलिउडको फिल्ममा नयाँ–नयाँ प्रविधि भित्रिएको हुन्छ ।
त्यसैले, नेपाली फिल्मको तुलना हलिउड, बलिउडसँग गर्न नहुने निरौलाको भनाइ छ । ‘राम्रो नेपाली फिल्मलाई त दर्शकले धेरै मन पराएका छन् । त्यसैले, राम्रो बनाएर नेपाली फिल्मलाई फेरि माथि उठाउने जिम्मेवारी नेपाली फिल्मको हो, फिल्महरूले यो विषयमा राम्ररी सोच्नुपर्छ ।’
दुई वर्ष कोरोना महामारीले गर्दा हाम्रो नेपाली फिल्म उद्योगले धेरै घाटा बेहोर्नुपर्यो । नेपाली फिल्म पनि राम्रो हुन्छ है भनेर साबित हुने फिल्महरू बन्दै थिए । ती फिल्मलाई दर्शकले पनि रुचाएका थिए ।
तर, पछि केही कम मेहनतमा बनेको फिल्महरू बजारमा आए जसले फेरि नेपाली फिल्मलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामा बताउँछन् ।
अहिले केही फिल्महरू प्रदर्शनको तयारीमा छन् । ती फिल्महरूले दर्शकलाई हलसम्म डोर्याउँछ कि भन्ने आस गर्न सकिन्छ, तर, प्रदर्शनको तयारीमा रहेका फिल्मले पनि दर्शकको मन जित्न सकेन भने क्रेज घटेको भन्न सकिन्छ ।
‘अहिले केही फिल्महरू प्रदर्शनको तयारीमा छन् । ती फिल्महरूले दर्शकलाई हलसम्म डोर्याउँछ कि भन्ने आस गर्न सकिन्छ, लामाको ठहर छ, ‘तर, प्रदर्शनको तयारीमा रहेका फिल्मले पनि दर्शकको मन जित्न सकेन भने क्रेज घटेको भन्न सकिन्छ ।’
अहिलेभन्दा १० देखि १५ वर्षअघि वर्षमा ४/५ वटा फिल्म मात्र बन्थे । मनोरञ्जनको साधन भनेको फिल्म थियो । त्यसैले, पनि नेपाली फिल्मको छुट्टै क्रेज थियो ।
अहिले वर्षमा साना ठूला गरी औसत ५० देखि ६० वटा फिल्म बन्छन् । फिल्मको सङ्ख्या त बढेको छ तर, फिल्मको गुणस्तरमा भने ह्रास आएको लामाको निचोड छ । लामा भन्दै थिए, ‘सबै फिल्मको गुणस्तर घटेको छ भन्न खोजेको भने हैन, केही फिल्मको गुणस्तर राम्रा पनि छन्, जसले दर्शकको माया राम्ररी नै पाएका छन् ।’
पहिले दर्शकसँग धेरै विकल्प थिएन, त्यसैले जस्तो फिल्म भए पनि हेर्थे । तर, अहिले धेरै विकल्प छन् । त्यसैले, राम्रो फिल्म छनोट गरेर मात्र हेर्छन् । अब दर्शकले रुचाउने खालको फिल्म बनाउन फिल्मकर्मीहरू मेहनत गरेर लाग्नुपर्ने लामाको निष्कर्ष छ ।
लामाले भनेजस्तै नेपाली फिल्ममा मेहनत नपुगेकै हो, मेहनत गरेर बुनिएका नेपाली फिल्मलाई दर्शकले माया गरेकै हुन् । अब राम्रो नेपाली फिल्मका लागि थोरै मेहनत बढाउन जरुरी नै देखिन्छ ।
यो पनि…
१० अभिनेत्री कसको फेसन डिजाइनर को ?
यस्तो छ अभिनेत्री सरिता लामिछानेको फिटनेस राज