English

पार्टीमा देउवा दबदबा



आसन्न स्थानीय तहको निर्वाचनमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेको छ । चार दिन बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले यस्तो निर्णय गरेको हो ।

बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बहुसंख्याक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई व्यापक बनाउन गठबन्धन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ प्रवक्ता महतले भने, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरूप अगाडि बढाइने छ ।’

तर उसले हाल कायम रहेको सत्ता गठबन्धनसँग मात्रै तालमेल गर्नेबारे भने मूर्तरूपमा केही निर्णय गरेको छैन । तर सत्ता गठबन्धन कायम रहेको अवस्थामा गठबन्धनमा रहेका दलहरूबीच तालमेल गरेर अघि बढ्ने स्पष्ट सन्देश कांग्रेसले दिएको छ ।

वामपन्थी पार्टीमा आएको विभाजनका कारण कांग्रेस बलियो अवस्थामा रहेको आकलनकाबीच उसले तालमेलको नीति लिएको हो ।

कांग्रेस बैठक सुरु भएदेखि नै गठबन्धनको बारेमा सर्वाधिक चासो रहेको थियो । नेता शेखर कोइराला समूहले कांग्रेस एक्लै चुनावमा जानु पर्ने बताउँदै आएका थिए भने देउवा पक्षकै कतिपय नेताहरुले गठबन्धनको बिरोध गरिरहेका थिए । सात मध्ये कांग्रेसका पाँच प्रदेश प्रमुखले समेत गठबन्धनको विपक्षमा भनाइ रहेका थिए ।

त्यसका बाबजुद पनि मंगलबार बिहानदेखिको छलफलपछि कांग्रेसले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको हो । उसो त वर्तमान सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीले चुनावी गठबन्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले गठबन्धनको विपक्षमा बोल्नेहरूलाई ‘हप्काउन’ समेत पछि परेनन् । उनले गठबन्धन नगरी चुनाव जितेर देखाउन चुनौती नै दिए । उनले अहिले गठबन्धन गर्ने निर्णय नगर्ने हो भने वामपन्थी पार्टीहरू मिल्ने खतरालाई जोड दिए ।

देउवा दबदबा

कांग्रेसको महाधिवेशनबाट दोस्रोपटक सभापतिमा विजयी भएका शेरबहादुर देउवा प्रतिनिधि सभामा पार्टीको कमजोर उपस्थितिका बाबजुद पनि प्रधानमन्त्री बनेका थिए ।

तत्कालीन नेकपामा आएको फुट र केपी शर्मा ओलीले दुई पटक गरेको संसद विघटनपछि विकास भएको राजनीतिक घटनाक्रमले गर्दा उनी प्रधानमन्त्री बन्न सफल भएका थिए । प्रधानमन्त्री भएसँगै पार्टीमा देउवा थप शक्तिशाली देखिएका हुन् ।

महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा रहँदा आफू पराजित भए कांग्रेसबाट प्रधानमन्त्री हट्ने भन्दै कार्यकर्तालाई कन्भिन्स गराएका देउवाले मंगलबार सकिएको केन्द्रीय समिति बैठकमा पनि नेताहरूलाई कन्भिन्स गराउन सफल भए ।

उनी पक्षीय नेताहरूले गठबन्धनको वकालत गरिरहँदा देउवाले गठबन्धनको विपक्षमा बोल्नेहरूलाई ‘हप्काउन’ समेत पछि परेनन् । उनले गठबन्धन नगरी चुनाव जितेर देखाउन चुनौती नै दिए । उनले अहिले गठबन्धन गर्ने निर्णय नगर्ने हो भने वामपन्थी पार्टीहरू मिल्ने खतरालाई जोड दिए ।

कांग्रेसका केन्द्रीय नेताहरूलाई यदी त्यस्तो भयो भने फेरि पाँच वर्ष स्थानीय सत्ता आफ्नो हातबाट गुम्ने भयमा पार्न देउवा सफल भए । आफू अनुकूलको निर्णय गराउनका लागि देउवाले कोइराला पक्षमा रहेका महामन्त्री गगन थापालाई घोषणापत्र लेख्न जिम्मेवारी दिए र गठबन्धनको पक्षमा माहोल बनाउन दबाब दिएका थिए ।

शक्तिकेन्द्रको त्रास

देउवाले आफूलाई प्रधानमन्त्री बनाएको गुन तिर्न खोजेको कतिपय कांग्रेस नेताहरूको भनाइलाई सही मान्ने हो भने देउवा जसरी पनि गठबन्धन गरेर अघि बढ्ने पक्षमा थिए । त्यसका लागि उनले सबैखालका अस्त्रहरूको प्रयोग गरे ।

गठबन्धनबाट प्रधानमन्त्री हुने बेलैमा चुनावी तालमेलबारे निर्णय भइसकेकोले अहिले बिवाद गर्नुको अर्थ नरहेको देउवाले स्पष्ट पार्न लगाए ।

अन्तर्राष्ट्रिय शक्ति केन्द्रले वामपन्थी दललाई मिलाउन खोजिरहेको सूचना पाएको भन्दै देशका गृहमन्त्रीबाट धारणा सार्वजनिक भएसँगै कांग्रेस नेताहरूलाई तालमेलको पक्षमा लाग्न बल मिल्यो । जतिसुकै विरोध भएपनि देउवाले आफू अनुकूलको निर्णय लागू गर्न सक्छन् भन्ने देउवाको पछिल्लो कदले देखिएको छ ।

यो पनि…
स्थानीय निर्वाचन : कांग्रेसले गर्‍यो आठ निर्णय

मतदानस्थल : जहाँ छन् सुरक्षा जोखिम
स्थानीय चुनावका लागि के–के तयारी गर्दैछ निर्वाचन आयोग ?
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन