देशभर वायु प्रदूषण, घरबाहिर ननिस्कन चेतावनी
हिजोआज पूरै देश धुवाँ र तुवाँलाेले ढाकेको छ । वन तथा भू–संरक्षण विभागका अनुसार देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकासहित देशभरको वायुमण्डल धूलो, धुवाँ र तुवाँलोले ढपक्कै ढाकेको छ ।
पर्सामा ८, चितवनमा २, हुम्लामा २, कञ्चनपुरमा २, कालीकोटमा १, बारामा १, , नवलपुरमा १, , रौतहटमा १, सर्लाहीमा १ गरी १९ ठाउँमा डढेलो लागेको विभागले जनाएको छ ।
‘पूरै नेपाल धुवाँले ढाकेको छ । काठमाडौं उपत्यकामा देखिएको प्रदूषण पनि डढेलोका कारण हो,’ विभागका उपसचिव सुन्दर शर्माले भने । उनका अनुसार भारतमा पनि आगलागी र डढेलो लागिरहेकाले त्यसको असर नेपालमा पनि परेको छ ।
‘पानी परेन भने हावाले उडाएर धुवाँ अर्कोतिर पुग्छ । हिमाली भेगमा गयो भने हिउँ पग्लने जोखिम हुन्छ,’ उनले भने ।
कस्तो छ स्थिति ?
वातावरण विभागका अनुसार मंगलबार दिउँसो उपत्यकाको रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१७ पुगेको छ । एक्यूआई ३ सयभन्दा माथि गयो भने धेरै जोखिम मानिन्छ ।
तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले केही समय वातावरण धुमिल भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘राम्रोसँग वर्षा पनि भएको छैन, हावा पनि चलेको छैन । तापक्रम पनि बढिरहेको छ,’ महाशाखाकी मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, ‘ठूलो वर्षा नभएसम्म वातावरण सफा हुने देखिँदैन । फाटफुट वर्षा हुन्छ, तर यसले क्लियर हुँदैन ।’
गत वर्ष एक्यूआई ४ सय क्रस गरेको थियो । ‘चैत र वैशाख डढेलो लाग्ने समय हो । पानी पनि कम पर्छ,’ विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले भने, ‘अहिले एसियाका धेरै देशमा डढेलो लागेको छ । यसैका कारण अहिले प्रदूषण बढेको हो ।’
वायु प्रदूषणका कारणहरू
हावामा विभिन्न प्रकारका पदार्थ वा ग्याँस जस्तैः धुमपान, वनजङ्गलको डडेलोबाट निस्केको धुँवा, जीव, जन्तु, रुख, विरुवा, फोहोरमैला सडे, गलेर प्राकृतिक रुपमा मिसिन गई वायु प्रदूषण हुन सक्छ।
आजकल वायु प्रदूषण व्यक्तिका क्रियाकलापबाट पनि दिन प्रतिदिन बढ्दै गएको छ । जसमा दाउरा–कोइला बाल्ने, विभिन्न प्रकारका मेसिन चलाउने, कीटनाशक औषधीको प्रयोग गर्ने, बढ्दो सवारी साधन र वन विनाशका कारण वातावरण प्रदूषित बन्दै गएको छ ।
सवारी साधनबाट निस्कने धुँवाले वायु प्रदूषणको समस्या शहरी क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको छ । राजधानी काठमाडौं सहर धुलो, धुँवा र बढ्दो सवारी साधनका कारण विश्वको तेस्रो प्रदूषित शहरमा पर्नु ज्यादै दुःखलाग्दो कुरा हो । एउटा नयाँ गाडीले एक टन पेट्रोल खपत गर्दा ७५० केजी धुवाको रुपमा विशालु ग्याँस फ्याक्छ ।
सवारी साधनबाट जति पुरानो हुँदै गयो, त्यति नै दुषित धुँवा बढी निष्कासन हुन्छ । सवारी साधनबाट निस्कने विषालु ग्यासहरूमा नाइट्रोजन अक्साइड, कार्बनडाइअक्र्साईड, हाइड्रोकार्बन, लिड आदि हुन् यी विषालु ग्यासहरू वायुमण्लीय हावामा मिसिन जाँदा कार्बन मनोअक्साइडले हाम्रो शरीरमा अक्सिजनको सञ्चारमा अवरोध गराउँदा मानिस वेहोस हुने वा मृत्युसमेत हुन सक्छ ।
वायुप्रदूषणले यसरी गर्छ स्वास्थ्यमा असर
वायु प्रदूषणको स्तर हावामा हुने हानिकारक कणको मापनमा आधारित हुन्छ । त्यसपछि नतिजा राम्रोदेखि खतरनाकको रूपमा वर्गीकृत गरिन्छ ।
विशेष गरी, पानी नपर्ने समयमा वायु प्रदूषणको खतरा बढी हुन्छ । यसको असर सबैभन्दा बढी बालबालिका र वृद्ध मानिसहरूमा पर्छ । श्वासप्रश्वास र मुटुको समस्या रहेका युवाहरूलाई पनि प्रदूषणले ठूलो असर पार्छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गराउँदछ । यसबाट उत्पन्न हुने मुख्य समस्यामा श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण, रुघाखोकी, ब्रोङ्काइटिस, निमोनिया, फोक्सो, घाँटीको क्यान्सर, एलर्जी आदि हुन् । यसका साथै हावामा रहेका हाइड्रोजन सल्फाइट, फ्लोराइड, आर्सनिक आदि विषालु पदार्थले व्यक्तिको मृत्यु पनि हुन सक्दछ । हावामा रहेको विषालु मर्करी र सिसाका सुक्ष्म कणले स्नायु प्रणाली, मुत्रप्रणाली र पाचन प्रणालीमा असर गर्नुका साथै एनटिमोनी भन्ने तत्वले मुटुमा असर गर्दछ ।
यस्तै, पेट्रोल, डिजेलबाट निस्कने धुँवामा रहेको अक्सिएसिटिन नाइट्रेड र फमेलडीहाइडले फोक्सो, आँखा आदिमा असर पार्नुका साथै खेती, बाली पनि नष्ट गराउँदछ । इन्धनबाट निस्कने पोली हाइड्रोकार्बनले क्यान्सर जस्तो भयानक रोग उत्पन्न गराउँदछ ।
दूषित ग्यासका कारण ओजन तहमा असर परी छाती, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, क्रोमोजोममा असामान्य अवस्था आउन सक्दछ। यदि वायुमण्लीय हावा दूषित भएमा सूर्यको किरणबाट आउने अल्ट्र भ्वाइलेट किरण र अम्लीय वषाका कारण छाला खुम्चने, छालाको क्यान्सर हुने, आँखा पाक्ने रोग लाग्ने हुने सम्भावना बढी रहन्छ।
वायु प्रदूषण बढ्दै गएमा हवाइ यातायातमा समस्या आउने, बाक्लो धुँवाका कारण सवारी साधनहरू दुर्घटनाग्रस्त अवस्थामा जाने, हरितगृहमा असर गरी पृथ्वीको तापक्रम बढ्ने, हिउँ पग्लने, वातावरणमा परिवर्तन भई कृषि उत्पादनमा ह्रास आउने आदि पनि हुन्छ।
प्रदूषण बढेसँगै स्वास्थ्यमा असर पर्ने भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । ज्येष्ठ नागरिक र बालबालिकालाई बढी असर गर्ने विज्ञहरू बताउँछन् ।
प्रदूषणले छाला, आँखा, दम, खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुरोगीलगायत दीर्घरोगीहरूलाई बढी असर गर्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने, ‘मास्क लगाएर हिँड्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध छ ।’
यो समयमा आगो, सवारीसाधन र कल कारखाना कम चलाउन र मर्निङ वाकलगायत शारीरिक क्रियाकलाप पनि घरभित्रै गर्न उनले आग्रह गरे ।
बच्ने उपाय
१. वनजङ्गल फडानी रोक्ने, वृक्षारोपण गर्नेजस्ता कार्यमा प्रोत्साहित गरिनु पर्दछ ।
२. व्यवस्थित सहरीकरणको विकास गर्ने, आफ्नो घरअगाडि अनिवार्यरूपमा सरसफाइ गर्ने, प्लाष्टिक र धुँवाजन्य पदार्थहरू नजलाउने, पुराना सवारी साधनहरू हटाउने र नयाँ सवारी साधनहरू चलाउने गर्नुपर्दछ ।
३. उद्योगधन्दा, कलकारखानाहरूलाई मानव बस्तीबाट टाढा राख्ने, सडकको गल्ली, खोलानाला, नदी, ताल आदि सफा गर्नुपर्दछ ।
४. इन्धनको रुपमा दाउरा, कोइलाको सट्टा, गोबर ग्याँस, विद्युतीय शक्ति र सौर्य उर्जाको प्रयोगमा जोड दिनु पर्दछ।
५. विद्यालय र समुदायमा वातावरणीय जनचेतना फैलाउनु पर्दछ ।
प्रदूषणबाट अपनाउनुपर्ने सावधानी :
– मास्क लगाउने
– बाहिर ननिस्कने
– चस्मा लगाउने
– मुख धुने
– आगो नबाल्ने
– सवारीसाधन कम चलाउने
– कल कारखाना कम चलाउने
– मर्निङ वाक् नगर्ने ।
यो पनि…
यसकारण बढ्दै छ विश्वमा वायु प्रदूषण
वायु प्रदूषणको असर सर्जिकल मास्कले रोक्दैन