English

सिक्दै, गाउँदै, नाच्दै कौरा



ऋषिङ गाउँपालिका-१ झापुटारका साजन गर्जा मगर कौरा नाच्न र गाउन हुरुक्कै हुन्छन् । १८ वर्षीय गर्जा पाँच वर्षदेखि ठाउँठाउँमा पुगेर मौलिक संस्कृति कौरामा प्रस्तुति दिँदै हिँडिरहेका छन् । कौरा प्रस्तुत गर्न उनी समूहसँगै गाउँघरमा हुने कार्यक्रमदेखि जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला महोत्सव र प्रतियोगितामा पुग्छन् ।

उनकै उमेर समूहका दौतारीहरूको समूह बनाएर कौरामा रमाइरहेका छन् । कौरा नाच्न गाउन उनले बाबुबाजेबाट सिकेको बताउँछन् । ‘पुर्खाले गाउँदै नाच्दै आएको संस्कृति हो । हामीले बाबुबाजेबाट नै सिक्यौँ । उहाँहरूसँगै हुर्कदै, नाच्दै गाउँदै सिकेका हौँ’, उनले भने । प्रशिक्षण लिएरभन्दा पनि गाउँघरमा भएका नाचगानबाट कौराको ज्ञान हासिल गरेको उनले जनाए ।

अन्य गीतको तुलनामा कौरामा प्रस्तुति दिँदा सन्तुष्टि मिल्ने उनी बताउँछन् । अगाडि थप्दै उनी भन्छन्, ‘कौरामा आफ्नै मौलिकता छ । आफैं बजाउँदै, गाउँदै नाच्ने भएकाले बढी मज्जा हुन्छ ।’ गाउँगाउँबाट कौराको मौलिकता र रौनकता हराउँदै गएकाले राज्यका अतिरिक्त मगर समुदायसँग सरोकार राख्ने संघसंस्था संरक्षणमा जाग्नुपर्ने गर्जाको सुझाव छ ।

भिमाद नगरपालिका–९ पाथर्दीकी समृद्धि थापा मगर बाबुबाजेहरूले खैँजेडीको तालमा स्वरमा स्वर मिलाएर कौरा गाउँदै नाच्दै गरेको माहोलमा हुर्किईन् । तर उनलाई कौरामा आकर्षण भएन । ज्ञान पनि थिएन । कौराबारे चासो नहुँदा उनले सिकिनन् पनि ।

गाउँगाउँबाट कौराको मौलिकता र रौनकता हराउँदै गएकाले संरक्षण जरुरी छ ।

गाउँमा सामुदायिक होमस्टे चलाउन थालेपछि समृद्धि र उनका उमेर समूहका युवायुवतीले मौलिक कौरामा नाच्न र गाउन सिकेका छन् । पाहुनालाई मौलिक संस्कृतिमा रमाउने वातावरण तय गर्न उनका दौँतरीहरू सिक्दै नाच्दैछन् । ‘पहिला खैँजेडीको तालमाभन्दा बढी रेकर्डेड कौरा स्पिकरमा घन्काएर नाचियो । होमस्टे चलाउन थालेसँगै मौलिक कौरा सिकेर नाच्दैँछौँ’, उनले भनिन् ।

कौराको मौलिकता र महत्त्व बुझ्न थालेपछि सिक्ने इच्छा झनै बढेको उनले सुनाइन् । आफ्नो समुदायको कला, संस्कृति र मौलिकता जोगाउन अब युवापुस्ताले चासो देखाउन जरुरत रहेको उनको ठम्याइ छ ।

मगर समुदायमा कौरा निकै प्रचलित छ । तनहुँको ऋषिङबाट कौराको उत्पत्ति भएको जानकारहरू बताउँछन् । पहिले पहिले कुनै गाउँका तरुनीले अर्को गाउँका तन्नेरीलाई कौरा नाच्न र गाउनलाई निम्तो पठाउँथे । निम्तो स्विकारेका तन्नेरीहरू कमिज, भांग्रा, कछाड र टोपीमा ठाटिएर पुग्थे ।

मखमलको चोली, छिटको गुन्युँ, कम्मरमा पहेंलो, नीलो रंगको पटुका, गलामा कण्ठी, शिरमा शिरफुल र शिरबन्दीमा चिटिक्क परेर सजिन्थे तरुनीहरू । तन्नेरीले खैँजेडीको तालमा सामूहिक स्वर मिलाउँदै कौरा गाउने र तरुनीहरूसँग कम्मर मर्काउँदै खुट्टाको ताल मिलाउँदै छमछमी नान्चे प्रचलन थियो ।

साँझपख सुरु भएको कौराहाले रात छर्लंग पार्दथ्यो । बिहानपख सुरु भए साँझसम्म पनि कौराको रौनक हुन्थ्यो । गाउँघरमा रोधी घर र रोधी बस्ने चलन हराएसँगै निम्तो पठाएर दिनरात बिताएर कौरा नाचगान हुने प्रचलन हराएको छ । सांस्कृतिक कार्यक्रम, मेला, महोत्सव, प्रतियोगिता र होमस्टेहरूमा मात्र सुनिन्छ कौरा ।

दसैँदेखि सुरुवातदेखि जेठको दसहरासम्म कौरा नाचगान हुने याम हो । वैशाख पूर्णिमाको बेला कौराको रौनक झन् बढी हुन्छ । डिजिटलमा बजारमा आएको रेकर्डेड कौरा मौलिक कौरा नभएको संरक्षणकर्मीहरू बताउँछन् ।

मेला महोत्सव र प्रतियोगिताले कौरालाई जोगाउन केही हदसम्म भूमिका खेलेको मौलिक कौरा संरक्षण समिति तनहुँका अध्यक्ष सिजन थापा मगर बताउँछन् । ‘अहिले हामी नाचिरहन्छौँ । यसैमा हाम्रो भविष्य त छैन । आर्थिक रूपमा सक्षम बन्न सकिँदैन । विदेश पलायन हुनैपर्छ । त्यसैले कौरा संरक्षणमा राज्यपक्षले पनि ध्यान दिन जरुरी छ’, उनले भने ।

पहिला मनोरञ्जनका लागि रोधीको विकल्प नभएकाले कौराको रौनक गाउँगाउँमा भएकोमा आहिले प्रविधिको विकासले मौलिक संस्कृतिको रौनक हराउँदै गएको उनको बुझाइ छ । कौरा देवीदेवता सम्झिएको अन्तराबाट सुरु हुन्छ ।

देवीदेवतालाई सम्झिएपछि विस्तारै गीतबाटै चिनजानका कुरा हुन्छन् । जिस्कने, ख्यालठट्टा, मायापिरती लाउने कुरा हुँदै जीवनका भोगाई पनि गीतमा समेटिन्छ । अन्तमा विछोडको गीत गाएर छुट्टिन्छन् तन्नेरी र तरुनीहरू । कौराको एक अन्तरा पूरा गर्न झन्डै आधा घन्टा समय लाग्दछ ।

ऋषिङ उद्गमथाले भएको कौरा आसपासका जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा, नवलपुर, चितवनमा पनि प्रचलित छ । ऋषिङको कोटदरबारबाट करिब अढाई सय वर्ष अगाडि कौराहको सुरुवात भएको जानकारहरू बताउँछन् । कानराहबाट अप्रभंश भई कौराहा भयो । कतिपयले कौरा, कौडा पनि भन्छन् ।

दसैँदेखि सुरुवातदेखि जेठको दसहरासम्म कौरा नाचगान हुने याम हो । वैशाख पूर्णिमाको बेला कौराको रौनक झन् बढी हुन्छ । डिजिटलमा बजारमा आएको रेकर्डेड कौरा मौलिक कौरा नभएको संरक्षणकर्मीहरू बताउँछन् ।

यो पनि…
‘कलाकारिताले समाजमा पारेको प्रभावलाई सम्मान गर्नुपर्छ’– बिनिता बुद्धाचार्य (भिडियाे पनि)

रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)
नेपाली फिल्मले होलीलाई दिएको छ महत्त्व



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा