२२ तले धरहराबाट यस्तो देखिन्छ काठमाडौं (फोटो फिचर-भिडियो)
धरहराको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । २०७२ को महाभूकम्पमा ढलेसँगै पुनःनिर्माण सुरु भएको धरहराको २२ वटै तला बनिसकेको छ । २२ तलाको संरचना तयार भएसँगै धरहराको रङ रोगन, प्लास्टर, विद्युत जडान, ग्रेनाइट, गजुर राख्ने लगायतका काम भइरहेको छ । यसको ५८ प्रतिशत काम सकिएको धरहरा निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ई.श्यामचन्द्र श्रेष्ठ बताउँछन् ।

३ अर्ब ४८ करोड रुपैयाँ लागतमा बनिरहेको धरहरा निर्माणको जिम्मा रमन कन्स्ट्रक्सनले पाएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग २०७५ साल असोज १४ गते रमन कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । ४२.२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा उद्घाटन गर्ने मिति लगभग तय भइसकेको छ । प्रधानमन्त्रीले धरहरा उद्घाटन गरेतापनि तत्कालै सर्वसाधारणले भने चढ्न पाउने छैनन् ।

यसको अन्य संरचना पूर्ण तयार भई नसक्ने हुनाले सर्वसाधारणले कहिलेबाट धरहरा चढ्न पाउँछन् ठ्याक्कै भन्न नसकिने श्रेष्ठ बताउँछन् । ‘समयमै धरहरा निर्माण गरिसक्ने योजना थियो,’ उनी भन्छन्, ‘तर ठेक्का सम्झौता भएको २ वर्षपछि मात्र निर्माण गर्ने पुरा ठाउँ उपलब्ध भयो र कोभिड लगायतका कारणले निर्माणमा ढिलाई भयो ।’

यस्तो हुन्छ अबको धरहरा

धरहरामा तीन तलाको पार्किङ छ । जहाँ ३ सय ८७ वटा गाडी र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । २ वटा लिफ्ट राखिएको छ, जसको प्रयोग गरी अशक्त तथा वृद्धवृद्धाहरूले धरहराबाट काठमाडौं उपत्यका अवलोकनगर्न सक्नेछन् । हरेक २ तलामा कार्नेस बुट्टा हुनेछ, जसले थप कलात्मकता झल्काउने छ । बाहिरबाट हेर्दा पहिलाको धरहरा जस्तै देखिनेछ । भित्री साजसज्जा भने भिन्न हुने इन्जिनियर श्रेष्ठ बताउँछन् । यस्तै, १८ औं तलामा अडिटोरियम हल हुनेछ, जहाँ मिनी थिएटर हुनेछ । यसमा धरहरा कसरी बन्यो र यसका ऐतिहासिक तथ्यहरू डिस्प्लेमा देखाइनेछ । २२ औं तलामा मन्दिर छ । यसैगरी भूइँतलामा नेपालमा मात्र पाइने विशेष प्रकार सामानहरू बिक्रीमा राखिनेछ । धरहरासँगै संग्रहालय पनि बन्दै छ, जसको पहिलो तलाको ढलान सकिएर दोस्रो तलाको काम भइरहेको छ ।

यहाँबाट एकैपटक १ सय २० जनाले काठमाडौं उपत्यका अवलोकन गर्न सक्नेछन् । ०७२ को भूकम्पमा ढलेको धरहराको बाँकी रहेको भग्नावशेषलाई सिसाले छोपेर संरक्षण गरिने छ । यसलाई भत्काइने छैन । यसैगरी, सुन्धारालाई जीर्णोद्धार गरी पुनर्जीवन दिने जिम्मा पनि यसै कम्पनीले पाएको छ ।



















तस्बिर : महेश प्रधान / भिडियो : नवीन श्रेष्ठ / ड्रोन तथा सम्पादन राजकुमार श्रेष्ठ / प्रस्तोता : महेश तिम्लसिना