English

‘सिंहदरबारमा हेपाहा प्रवृत्ति थियो तर, स्थानीय तहमा त्यो छैन’



स्थानीय तहको नेतृत्वमा महिलाको पहुँच सुनिश्चित गर्नका लागि संविधानमा प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

नेपालमा पहिलोपटक स्थानीय तहको निर्वाचन २०७४ मा भयो । देशभर महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७ सय ५३ स्थानीय तह भए । जसमध्ये ६ जना मात्रै महिला मेयर बने ।

यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पुर्याउनका लागि ढोका खुला भयो । यसका साथै महिलाले नेतृत्वमा सक्षम भएको प्रमाणित गर्नका लागि महिला मेयर कतिको सफल भए त ? सोही विषयवस्तुमा केन्द्रित रहेर सुदूरपश्चिम प्रदेश, डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाकी मञ्जु मलासीसंग मेरोलाइफस्टाइलकी संवाददाता सरिता थारूले गरेको कुराकानी :

स्थानीय तहको पाँचवर्षे कार्यकाल कस्तो रह्यो ?

समग्रमा राम्रो रह्यो । सेवादायी काम गरियो । ‘महिलाले काम गर्न सक्दैनन्’ भन्ने खालका गुनासा आएनन् । जनताको चाहनाअनुसार काम गरियो र उपलब्धि पनि राम्रो भयो ।

जनतालाई के–कस्ता प्रतिबद्धता गर्नुभएको थियो ?

चुनावका समयमा पाँचबुँदे घोषणा पत्र निकालेका थियौँ । तर, सोभन्दा बढी नै कार्य गरेका छौँ । जसमा जनतालाई अति आवश्यक पर्ने कुरालाई प्राथमिकता दिएका थियौँ । नगरभित्र रिङरोड निर्माण गर्ने कार्यदेखि लिएर सडक निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतमा पनि प्राथमिकता दिएका थियौँ ।

चुनावमा गरेका प्रतिबद्धता के–कति पूरा गर्नुभयो ?

एक जिल्लाबाट अर्को जिल्ला जोड्ने सडक निमार्ण गर्यौं । बाहिरबाट आउनेलाई गाउँघरमा पुग्न समस्या थियो । जसका लागि नगरबाट तीनवटा बसको व्यवस्था गरेका छौँ । यसबाट सेवा–सुविधा लिन विद्यार्थी, फरक क्षमता भएका र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट पनि छ ।

खानेपानी व्यवस्थापनका लागि मुहान भएको ठाउँलाई संरक्षण गर्ने र नभएको ठाउँमा सेती नदीबाट डिप बोरिङ गरी पानी ल्याएका छौँ । जसमा साढे सात करोड खर्च गरेका छौँ । पानी पैँचो हुने ठाउँ पनि छ त्यहाँका लागि अबको केही दिनमै खानेपानी पुग्नेछ ।

यस्तै, स्कुल, स्वास्थ्य सेवा, सार्वजनिक लगायतका भवन निमार्णका लागि १५ देखि २० लाख खर्च गर्यौं ।

नगर प्रहरीको ब्यवस्थादेखि बजार व्यवस्थापन गरेका छौँ । २४ लाखको जग्गा खरिद गरी टहरामा बसेकालाई व्यवस्थित गरेका छौंँ ।

टेक्निकल कलेजका लागि साढे एक करोडको जमिन खरिद गरेका छौँ । यसैगरी, स्कुलमा स्थानीय पाठ्यक्रमका साथै समाजका कुप्रथाबारे ३० मिनेटको कक्षा सञ्चालन गर्ने गरेका छौँ ।

यस्तै, धार्मिक क्षेत्र संरक्षण र संवद्र्धनका गरेका छौँ । खेलका लागि जहाँ उत्पादन हुँदैन त्यस्तो जमिन छनोट गरी ८० रोेपनी जमिनमा ‘स्पोर्टस् पार्क’ बनाउँदै छौँ ।

घण्टौँ हिँडेर अस्पताल जानुपर्ने बाध्यता हटाउँदै सबैलाई प्रायः एकदेखि डेढ घण्टामा पर्ने क्लिनिक स्थापना गर्नुका साथै नगरभित्र बर्थिङ सेन्टर पनि सञ्चालन गरेका छौँ ।

पर्यटकलाई आकर्षित गर्नका लागि सेती नदीमा २ वटा र्याफ्टिङको व्यवस्था गरेका छौँ । हामीले यस्ता विभिन्न कार्यहरूलाई २५ वर्षे गुरुयोजना बनाएर एकपछि अर्को विकासका कार्य गरिरहेका छौँ ।

प्रतिबद्ध गरेको सबै काम पूरा गर्नुभयो त ?

प्रतिबद्धता ब्यक्त गरेको भन्दा बढी काम गरेका छौँ । अझै पनि कतिपय काम योजनामा छ । सोहीअनुसार काम गर्दै गएका छौँ ।

केन्द्र र प्रदेश सरकारसँगको समन्वय कस्तो रह्यो ?

प्रदेश सरकारसँग आवश्यक समन्वय भइरह्यो । तर, केन्द्रसँग हुन सकेन । प्रदेश सरकारले केही सहयोग गरेको छ । तर, केन्द्र सरकारबाट कुनै पनि सहयोग भएन । हामीले आफ्नो स्थानीय स्रोत र साधनको प्रयोगले काम गर्यौं । कतिपय नीति त बनेकै छैनन् । जस्तै, वन नीति, शिक्षा नीति स्थानीय तहका लागि बनेकै छैनन् । हामीले स्थानीय तहमै बनाएर कार्य गर्दैछौँ । केन्द्र सरकारले स्थानीय तहलाई सम्मानको दृष्टिले हेर्न सकेको छैन ।

२०७४ को निर्वाचनपछि स्थानीय तहको पहिलो अगुवाइ गर्नुभयो, यसबाट के–कस्ता चुनौतीहरू खेप्नुभयो ?

नेपालको स्थानीय तहलाई अगुवाइ गर्ने पहिलो मौका पायौँ । त्यसैमा महिला मेयर बनेर काम गर्दा केही चुनौती र बाधा नआएका होइनन् । तर, त्योसँग लड्ने साहस, आँट भएपछि जनताको साथ र सहयोग पाइन्छ । यहाँका सेवाग्राहीले महिला मेयरले काम गर्न सकेन भनेर गुनासो सुनेको छैन । मेरो लागि यो ठूलो उपलब्धि हो ।

ती चुनौतीहरूलाई अबका दिनमा कम गर्न के गर्नुपर्ला ?

प्रदेश मात्र होइन केन्द्र सरकारले पनि स्थानीय तहसँग समन्वय गर्नुपर्छ । सोही अनुसार साथ सहयोग गरी योजना बनाएर काम गर्न आवश्यक छ । काम गर्दा गर्दै कुनै कार्य बिग्रेमा ‘महिला मेयर हो, के नै काम गर्न सक्थी र ?’ भन्ने प्रश्न उठाउने प्रवृत्ति छ,हाम्रो समाजमा । महिला मेयर भएर सजकता अपनाएर कार्य गर्नुपर्छ । जे–जस्ता चुनौती आए पनि आँट र हिम्मत गर्दा चुनौतीहरूको सामना गर्न सकिन्छ ।

‘स्थानीय सरकार आएपछि घर–आँगनमा सिंहदरबार आउँछ’ भन्थे, यहाँका जनताले कतिको अनुभव गरेजस्तो लाग्छ ?

केन्द्रस्तरको सरकार हुँदा पहुँच वालाले मात्र सेवासुविधा उपभोग गर्न पाउँथे तर स्थानीय सरकार आएपछि यहाँबाटै कार्य हुन्छ । ‘स्थानीय सरकार आएपछि घर आँगनमा सिंहदरबार आउँछ’ भन्ने भनाइमा मात्र नभई यहाँ जनताले पनि अनुभव गरेका छन् । जस्तै, सामाजिक सुरक्षा भत्ता कोरोनाका समयमा घर–घर गएर वितरण गरियो । सोही समयमा दीर्घरोगका बिरामीलाई पनि औषधि दिइयो । यो सबै स्थानीय सरकार आएपछि सम्भव भएको हो । सिंहदरबारबाट सेवा लिँदा हेपाहा प्रवृत्ति थियो तर, स्थानीय तहमा त्यो छैन । सबैलाई समान रूपले सेवासुविधा दिएका छौँ ।

सुदूरपश्चिमका बासिन्दाले स्थानीय सरकारको अनुभूति गर्न पाएनन् भन्ने जनगुनासो छ नि !

हामीले आफ्नो तर्फबाट कार्य गरिरहेका छौँ । तर, काम गर्दा गर्दै पनि एक–दुई जना काम नदेख्ने हुन्छन् । त्यस्ता कुरालाई वास्ता गरिँदैन । यहाँका जनताले आफूले पाउने सेवा–सुविधा पाएका छन् ।

स्थानीय सरकार आएपछि यहाँका नगरबासीको जीवनशैलीमा कस्ता परिवर्तन आए ?

स्थानीय सरकार आएपछि यहाँका स्थानीय बासीमा अवश्य पनि परिवर्तन आएको छ । बाटो नहुँदा बिरामी बोकेर अस्पताल लैजाने परिस्थिति थियो । तर, अहिले एम्बुलेन्स पुगेको छ । स्थानीय सरकार आएपछि अस्पतालमै सुत्केरी गराउनेको संख्या बढेको छ । भारतबाट आउनेहरूको स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिने गरेका छौं । यस्तै, सामाजिक सुरक्षा भत्ता घर–घर पुगेको छ । सानो कामको लागि केन्द्र धाउनुपर्ने बाध्यता थियो, तर अहिले छैन ।

नगरप्रमुखका रुपमा फेरि दोहरिने चाहना छ कि ?

पुरुष हाबी भएको यो क्षेत्रमा महिला नगरप्रमुख हुन आवश्यक छ । यहाँको कुरीति हटाउनकै लागि अझै पाँच वर्ष काम गर्न मन छ । जनताको चाहना पनि यही छ र पार्टीले आगामी दिनमा मलाई मौका दियो भने यहाँका बहुवर्षीय योजनालाई निरन्तरता दिने चाहना छ ।

यो पनि…
स्थानीय तहमा महिला : संख्या कम, काममा अब्बल

‘महिलालाई नेतृत्व सुम्पिन कोही तयार हुँदैनन्’



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन