English

काव्यिक उपासनामा ‘प्रियमौनता’



शिखा बुक्सले २०७७ सालमा कवि नेत्र एटमको उपासना कविताको संग्रह ‘प्रिय मौनता’ बजारमा ल्याएको छ । उपासना कविता हृदयको आवाज हो, ऊर्जाशील चिन्तनको पुष्पगुच्छा हो । इसापूर्व सातौँ शताब्दीमा प्राचीन ग्रिसकी कवि स्याफोले प्रारम्भ गरेको उपासना कविताको गोरेटोमा कवि नेत्र एटमले नेपाली भूमिमा पाइला चालेका छन् । उपासना कविताले ग्रिसबाट पिन्डार हुँदै अंग्रेजी रोमान्टिक कविहरू तथा नेपालीमा पनि गोपालप्रसाद रिमालसम्ममा निकै लोकप्रियता हासिल गरिसकेको बलियो इतिहास छ ।

प्रिय मौनताका कविता पढ्दै जाँदा प्रेम र प्रकृति त सृष्टि, स्थिति र लयका जननी हुन् भन्ने भावप्रधान दर्शन पाउन सकिन्छ । कविताहरूमा पूर्वीय दर्शनका साथै पाश्चात्य जगत्का दर्शन र भोगाइका क्षणहरूलाई पनि प्रभावशाली ढंगले समेटिएको छ । मूलतः अहिले हामीले भोगिरहेको समाजमा सद्भाव, समता, स्वतन्त्रता र खुसीपूर्वक बाँच्ने सङ्कल्पका निम्ति यस कवितासंग्रहले मद्दत पुर्याउन सक्छ । कविता संग्रहमा कविले गहन चिन्तनका साथ बौद्धिकताको लेप लगाउँदै सरलता प्रदान गर्न खोजेको पनि देखिन्छ ।

‘वादेवादे जायते तत्वबोध’ श्लोकको अन्तरभाव जस्तै जीवन भोगाइका चरणहरूमा नौलो चेतनाको क्षितिज खुल्दै गएको आभास पाउन सकिन्छ, कविताका प्रत्येक खण्डहरू अध्ययन गर्दै जाँदा । युगीन स्थितिअनुकूल चेतनाहरूलाई दृष्टिगत गर्दै प्रेमबाट सिर्जना भएका कविताहरू स्वजीवन भोगाइका क्रमसँगै ‘प्रणयको प्यासन’बाट शुरु भएर ‘उपासनाको आलोक’मा पुगी टुङ्गिएको देखिन्छ ।

मौनताको उपासना गर्दै, मधुरता छर्दै, शिष्टताको गोरेटोमा बहकिँदै, गहिरो अर्थबोध र चेतना उद्घाटन गर्दै समाज रूपान्तरणका लागि लाभदायक हुनसक्ने गरी कविताहरू चित्रित भएको पाउन सकिन्छ । सिङ्गो कृति पढिसक्दा सानो संसारमा सम्पूर्ण जीवन अटाएको भान पाठकमा हुन पुग्छ ।

कविताको पहिलो खण्ड ‘प्रणयको प्यासन’ मा जम्मा १८ वटा कविताहरू रहेका छन् । पहिलो कविता ‘तिमीले मलाई बिस्र्यौ भने’ चिलीका कवि पाब्लो नेरुदाको कविताको शीर्षकलाई सापट लिएर सिर्जना गरिएको छ ।

संसारमा हरेक व्यक्ति आफैँमा विशिष्ट हुन्छन् । जन्मसँगै र हुर्कने क्रममा पाएको स्नेह, प्रेम र साथले जीवनलाई थप ऊर्जाशील राख्न, जीवन्त बनाइरहन मद्दत गर्छ । तर, कसैले कसैलाई बिर्सिए, साथ छोडे पनि प्रकृतिका गतिहरू भने चल्न छोड्ने छैनन्, कसैका आस्थाहरू विलय हुने छैनन् बरु संसार चलिरहनेछ आफूसँगै । प्रेमले जीवनमा प्रगति, प्राप्ति, ऊर्जा, सङ्गम र उल्लास भर्न मद्दत पु¥याउँछ । यद्यपि, आफ्नो प्रेमिल व्यक्तिले बिर्सिए पनि कर्तव्यपथमा हिँड्न कहिल्यै विचलित हुनुहुन्न भन्ने भाव बोक्छ यस कविताले ।

आफूभित्रको ‘म’लाई ज्ञान, विवेक, आत्मविश्वासको भरोसाले जागृत गराउन मद्दत पुग्ने गरी यसरी भाव व्यक्त गरिएको छ कवितामा :

तिम्रो सम्झनाको सघनता बोकेर
धीमा हुनेछ मेरो ढुकढुकीको गति
अरू त सब उस्तै–उस्तै
चलिरहने छन्
तिमीले मलाई बिस्र्यौ भने !

यसैगरी, ‘प्रिय आविष्कार’, ‘तिमी छ्यौ र त’, ‘कहरको क्यानभास’, ‘अनि…’, ‘प्रणयको बिस्कुन’, ‘अनन्त प्रवाह’, ‘निर्वासित मुस्कान’, ‘आफ्नै प्रतिविम्ब’, ‘प्रेमिता’, ‘तिमीसित हिँड्दा त’, ‘प्रिय सपना’, ‘स्पेस’, ‘जीवनको पर्दा’, ‘संयोग’, ‘तातो गुलाफ’, ‘तिमीसम्म आइपुगेपछि’, ‘रिक्तताहरू’,’आगमन’ शीर्षकका कविताहरूमा सम्बन्ध, प्रेमका विभिन्न रूप र हृदयमा परेको छापका साथ गहिरा भाव पोखिएका छन् ।

कविताको दोस्रो खण्ड ‘प्रमुदित प्रकृति’ मा जम्मा १४ वटा कविताहरू रहेका छन् । यसमा रहेका ‘उन्यु’, ‘वासन्ती बिहान’, ‘असारको आकर्षण’, ‘थोपा र हत्केला’, ‘मौनताका रागहरू’, ‘समयको आयाम’, ‘..मान्छे !’, ‘प्रिय कोपिला !’, ‘वृक्षवती’, ‘जाडो’, ‘प्रतीक्षा’, ‘आशङ्काका चर’, ‘मुस्कानको चिसो नदी’, ‘प्रिय कुसुम !’ कविताहरूमा पर्यावरणवादी चिन्तनहरू केही न केही रूपमा प्रकट भएका छन् । यस खण्डको ‘उन्यु’ कवितामा ‘सवाल्टर्नवादी चिन्तन’ पनि प्रखर रूपमा प्रस्तुत भएको छ । कविताहरूमा मानिसलाई प्रकृतिले दिने न्यानोपन, प्रेमिल भाव र तिनैको आँचलमा फरफराउने हाम्रो जीवनयात्रालाई नजिकबाट हेर्ने प्रयास गरिएको छ । अहिले पर्यावरणको संरक्षण नगर्दा मानिसले भोग्नुपर्ने कहालीलाग्दो भविष्य पनि यिनमा आएको छ ।

कविताको तेस्रो खण्ड ‘अभिप्साको उद्बोधन’ मा जम्मा नौ वटा कविताहरू रहेका छन् । यस खण्डमा रहेका ‘फेरि भेटौँला कुनै दिन’, ‘देब्रे चप्पलको फित्ता’, ‘सम्भावनाका सन्झ्याल’, ‘मिथ्या मान्छेहरू’, ‘अन्धकार’, ‘चुनाव’, ‘नङ्गेली ब्लुज’, ‘विचारको भुइँकुहिरो’, ‘विस्मृतिको पिँजडा’ कविताहरूले मानवीय चेतना, सोचाइ, बिर्सिएका पथहरूलाई आलोचनात्मक रूपमा प्रस्तुत गरेका छन् ।

‘विस्मृतिको पिँजडा’ कवितामा मानिसले बिर्संदै गएको आफ्नै अस्तित्व, मानवीय भावना, चेतना, आस्था आदि सम्बन्धको सार खिचिएको छ :

…..यसरी पनि बिर्सिन्छन्
मान्छेहरूले आफ्नो अस्तित्व
जसरी बिर्सिन्छ हिउँद लागेपछि
कोइलीले आफ्नै सुमधुर स्वर !

आफू र आफ्नो समाजको पहिचान एवं अस्तित्व बोध गराउन यस खण्डका कविताले मद्दत पु¥याउँछन् । कविको यथार्थवादी र आलोचनात्मक जीवनदृष्टि तथा अन्याय, विभेद र शोषणप्रति व्यङ्व्य भाव पाउन सकिन्छ यस खण्डमा ।

कविताको चौथो खण्ड ‘स्मृतिको क्याराभान’ मा जम्मा सातवटा कविताहरू रहेका छन् । यसका ‘दृश्य र दृष्टि’, ‘समयको सानो आलीमा’, ‘पुनरावृत्ति’, ‘अतीतको घनत्व’, ‘सम्झनाको लयमा विलीन हुँदै’, ‘यादका लस्कर’, ‘प्रभावको चिन्ता’ कविताहरूमा जीवन भोगाइ क्रममा विगतका स्मृतिहरूलाई सम्झँदै, तिनको पुनरावृत्तिबाट नोस्टाल्जिक आनन्द लिँदै र तिनको मूल्याङ्कनका साथ विविध पाठ सिक्दै पुनः आफ्नो गोरेटोमा अगाडि बढ्ने तरिका सिकिन्छ भन्ने भाव दर्शाइएको छ ।

Rupak Adhakari
यो पनि…
अन्तिम भेट

यस सङ्ग्रहको अन्तिम खण्ड ‘उपासनाको आलोक’मा जम्मा १२ वटा कविताहरू रहेका छन् । यस खण्डमा रहेका ‘प्रवर्तन’, ‘स्वतन्त्रता’, ‘अन्तर्लय’, ‘सूर्यमुखी’, ‘अन्तर्संवाद’, ‘यस्तो एउटा दिन’, ‘सिल्भिया आफ्नै समाधिबाट’, ‘प्रज्ज्वलन’, ‘समयको खोजी’, ‘जीवनका अक्षर’, ‘आशक्ति’, ‘यात्रा’ कविताहरूले जीवन भोगाइका अविस्मरणीय पलहरूले ल्याएका चेतना, दृष्टिकोण र उज्यालो यात्रालाई पहिल्याउन सघाउ पुर्याउँछन् । दार्शनिक भाव र सोचले सिँगारिएका यी कविताहरूले जीवनको गहन चिन्तनलाई सारभूत रूपमा प्रकट गरेका छन् ।

‘प्रिय मौनता’को पहिलो खण्ड हुँदै कविताको अन्तिम खण्डमा पुग्दा जीवनचक्रमा घुमिरहेको आभास हुन्छ । कविताको सारतत्व भनेकै जीवनको सत्यताको बोध गराउनु हो भन्ने लाग्छ । कविताका अघिल्ला खण्डमा जीवनमा देखिएका, भोगिएका विषयवस्तुहरू अनुभूत गराएर अन्तिम खण्डमा विशेष दर्शन, ज्ञानको क्षितिज दूरदूरसम्म पु¥याउन सफल भएका छन् कवि ।

यो पनि…
कथा : सकुबस

कविता संग्रहले जीवन मात्र होइन, विश्वको विशाल परिवेश, लामो समय, भूगोल, परिस्थिति, संस्कृति, प्रगति र विकृति आदि समेतको प्रभावलाई अभिव्यञ्जित गरेको छ । ‘प्रिय मौनता’का कविताको समालोचना गर्ने क्रममा डा. पुष्प दमाईंले नेत्र एटम ‘एकै साथ जनकवि र कविहरूका कवि बनेका छन्’ भनेर उद्घोष गरेका छन् । वास्तवमै कविता पढ्दै र गहिराइमा डुब्दै गर्दा यस्तो मिठास र आनन्दको आभास पाठकलाई पनि हुन्छ ।

कविताको भावमा डुबुल्की मार्दे जाँदा केही कविताका अक्षरहरूको मात्रामा न्यून रूपमा भएका त्रुटि देखेर मन रड्किन पनि सक्छ । तर त्रुटिलाई ख्यालै नराखी अगाडि बढ्न सक्ने अवस्थामा रहन पनि सक्छ पाठक । कविता पढ्न प्रारम्भ गर्दा प्रेमिल भावमा मात्रै डुबिने पो हो कि भन्ने आशङ्का पनि जन्मन सक्छ ।

कवितामा प्रयुक्त केही जटिल शब्दको सन्दर्भले दिमाग खियाउन लगाउँछ । तर, पाठकको विचार र चेतनाले त्यसलाई चिरफार गर्दै अघि बढ्न सक्नुपर्छ । यस अर्थमा अधिकांश कविताहरू बौद्धिक पाठकका लागि बोधगम्य छन् । आम पाठकलाई बुझाउन पुराण वाचकले झैँ अर्थबोध गराउनुपर्ने पनि हुन सक्छ । जब भावको गहिराइ बुझेर अर्थखुल्छ, तब पाठक आफूलाई कविता सुनेको, पढेकोमा धन्य भएछु भन्ने महसुस गर्न सक्छ । कविता पढ्दै जाँदा तेस्रो खण्ड ‘अभीप्साको उद्बोधन’ र चौथो खण्ड ‘स्मृतिको क्यारभान’ एउटै खण्डमा अटाउन पनि सक्थ्यो कि जस्तो लाग्यो मलाई ।

कविताहरूमा आफ्नो देशका पारिजात, शङ्कर लामिछाने जस्ता साधकका साथसाथै विश्व साहित्यका केही विशिष्ट कविहरूका कवितालाई प्रयोग गर्दै संरचनावादी धारलाई उठान गरेका छन् कविले । समयको अन्तरालमा आत्मसात् गरिएका केही महत्वपूर्ण मुद्दाहरूको पुनः पहिचान र पुनः व्याख्या गर्दै कविले ब्रिटिस कवि किट्स, अमेरिकी कविहरू प्लाथ र ह्विटमन, अरबी कवि जिब्रान, जर्मन कवि गोथे, ल्याटिन अमेरिकी कवि नेरुदा, अमेरिकी समालोचक ह्यारोल्ड ब्लुमका कृतिका प्रसङ्गहरूलाई सम्झँदै र केही अंश सापट लिएर साहित्य आकाशको परिधिलाई विस्तार गरेका छन् ।

भाषा र भूगोलको सीमामा मात्र साहित्य बाँधिएर बस्न सक्दैन भन्ने उदाहरण कविले कवितामा प्रयोग गरेका छन् । जीवनका विविध पाटाका अंशहरूलाई बिम्ब बनाएर सम्प्रेषणशील र हृदयस्पर्शी रूपमा यी कविता सिर्जना भएका छन् । सूक्ष्म विषय स्पर्श गर्ने भाषा बुझ्न, त्यसलाई अभिव्यक्त गर्ने नवीन शिल्प पहिचान गर्न र भावको गहिराइमा डुब्न एकपल्ट सबैले उपासना कविताको सङ्ग्रह ‘प्रिय मौनता’लाई चुम्नै पर्छ भन्ने लाग्छ मलाई !’

यो पनि…
उत्तर कोरिया, मैले जे देखेँ
राजनीतिमा हाम्रा कलाकार



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन