यसकारण युधिष्ठिरका दुवै हात जलाउन चाहन्थे भीम !
महाग्रन्थ महाभारत र त्यससँग जोडिएका प्रमुख पात्र अर्थात् पाँच पाण्डवको बारेमा त तपाईलाई थाहा नै होला । भनिन्छ, भीम, अर्जुन, नहकुल, र सहदेव आफ्ना दाजु युधिष्ठिरको धेरै सम्मान गर्दथे । तर एक पटक भीम आफ्ना दाजु युधिष्ठिरसँग यति धेरै रुष्ट भए कि, उनी युधिष्ठिरका दुवै हात जलाइदिन चाहन्थे ।

मान्यता छ कि, युधिष्ठिर जुवामा द्रौपदीलाई हारेपछि द्रौपदीको अपमान भयो । यो देखेर भीम अत्याधिक रुष्ट भए । भीमले युधिष्ठिरलाई भने, तपाईले जुवामा जुन धन हार्नुभयो, त्यसमा मलाई क्रोध छैन, तर द्रौपदीलाई दाउ लगाएर जुवामा हार्नु धेरै ठूलो गल्ती हो ।

उनले युधिष्ठिरसँग द्रौपदी अपमानको योग्य नभएको बताए । तर तपाईको कारण यस्तो भयो भन्दै भीम रिसाएका थिए । भीमले यो सबको कारण तपाई भएको भन्दै युधिष्ठिरको दुवै हात जलाउन तम्सिएका थिए ।

उनी सहदेवलाई युधिष्ठिरका हात जलाउनका लागि आगो ल्याउन भन्छन् । पछि अर्जुनले उनलाई सम्झाउँछन् । क्षत्रिय धर्मानुसार जुवा खेलेको र यसको दोष नलाग्ने भनेपछि भीम अलि शान्त बन्छन् ।
