डेढ करोडको मोटरसाइकल चढ्ने नेपाली
एउटा नेपालीले मोटरसाइकल कति मूल्यसम्मको चढ्ला ? १० देखि लाखसम्मको त सहजै पत्याउन सकिन्छ । करोडभन्दा माथि मूल्य पर्ने मोटरसाइकल चढ्ने नेपाली पनि छन् भन्दा सबैलाई विश्वास नलाग्न सक्छ । तर, एक नेपाली जसले करोडभन्दा बढी मूल्य पर्ने मोटरसाइकल चढ्छन् । उनी हुन्– अन्दिप आचार्य ।
लामो समयदेखि बेलायत बस्दै आएका आचार्य एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने मोटरसाइकल चढ्छन् । सन् १९९६ मा बेलायत पुगेका उनको महँगा मोटरसाइकल चढ्ने सोख नै हो । त्यही सोखले हुनुपर्छ, यतिबेला उनीसँग ९ वटा महँगा मोटरसाइकल छन् । त्यसमध्ये ६ वटा बेलायतमा छन् भने ३ वटा नेपालमा राखिएका छन् । त्यही महँगो मध्येको एक हो– भी ८ चोपर । यो मोटरसाइकल विश्वकै महंगो र ठूलो मध्येमा पर्दछ । ५७०० सीसीको यो मोटरसाइकलकोे तौल १ हजार केजीको छ ।
‘एकपटक पाएको जिन्दगीमा आफ्ना सोख पूरा गर्न नसके जिन्दगी पाएको के काम ?’ उनी आफैंलाई प्रश्न गर्छन् र आफूलाई गर्न मन लागेको काम गरेरै छोड्छन् ।
आचार्य अहिले प्रायः ५७०० सीसीको यही मोटरसाइकल चढ्छन् । उनले यो मोटरसाइकल ३ वर्ष अघि १ करोड ४५ लाख ९५ हजार रुपैयाँ अर्थात् ९० हजार पाउन्डमा किनेका थिए । हाल १ पाउन्डको नेपाली मूल्य १६२ रुपैयाँ १७ पैसा छ । तर, नेपालमा भने यो मोटरसाइकल पाइँदैन । यदि नेपालमा ल्याएर बिक्री गर्ने हो भने यसको मूल्य ३ करोड हाराहारी पर्ने यसका जानकारहरू बताउँछन् ।
रेष्टुरेन्ट व्यवसायमा फड्को
काठमाडौं, मीनभवनमा जन्मिएका आचार्यले बेलायत पुगेसँगै रेष्टुरेन्टमा काम गर्न थाले । त्यहाँ भाँडा माझ्नेदेखि सबै काम गर्नुपर्थ्यो । करिव १ वर्ष रेष्टुरेन्टमा काम गरेपछि उनले सन् १९९७ मा आफ्नै रेष्टुरेन्ट गोर्खा किचन खोले । केही महिनामै गोर्खा किचनले नेपाली ग्राहकलाई आकर्षित गर्न थाल्यो । उनी अहिले पनि यही रेष्टुरेन्टमा व्यस्त हुन्छन् । काम सानो ठूलो मान्दैनन्, आफ्नो अघि देखिएको काम गरिहाल्छन् । ‘सेफदेखि भाँडा माझ्नेसम्म काम गर्छु,’ उनी भन्छन्, ‘कामलाई सानो र ठूलो दर्जामा राख्ने मान्छेले कहिल्यै प्रगति गर्दैन । त्यसैले, म आफ्नो अघि जे काम आउँछ, त्यो गर्छु ।’
‘अरु कमाएर घर घडेरी जोड्नतिर लाग्छन्,’ उनी भन्छन्, ‘म चाहिँ सोख पूरा गर्छु । मेरो सोख भनेकै महंगा मोटरसाइकल चढ्ने हो ।’
यही साेचले हुनुपर्छ उनको रेष्टुरेन्टले सोचेभन्दा राम्रो सफलता प्राप्त गरिरहेको छ । करिव ३ वर्ष रेष्टुरेन्टमा घोटिएपछि उनी आफ्नो सोख पूरा गर्नतिर लाग्छन् । उनलाई पैसा कमाएर जोगाउनुपर्छ भन्ने लाग्दैन । ‘एकपटक पाएको जिन्दगीमा आफ्ना सोख पूरा गर्न नसके जिन्दगी पाएको के काम ?’ उनी आफैंलाई प्रश्न गर्छन् र आफूलाई गर्न मन लागेको काम गरेरै छोड्छन् ।
हार्ले डेभिडसन उनलाई मनपर्ने मोटरसाइकल हो । सानैदेखि यो कम्पनीको मोटरसाइकल किन्ने उनको चाहना थियो । त्यही चाहना पूरा गर्न उनले सन् २००१ मा हार्ले डेभिडसनको फ्याट ब्वाई १६०० सीसीको मोटरसाइकल १४ हजार पाउन्डमा किने । अहिले यो मोटरसाइकलको मूल्य २० हजार पाउन्ड पर्छ । यही मोटरसाइकलबाट उनले बेलायतमा लाइसेन्सका लागि ट्रायल पास गरे । त्यो आफैंमा चुनौती थियो । ‘बेलायतमा अधिकांशले ५ सय सीसीको मोटरसाइकलबाट लाइसेन्सको जाँच दिन्छन्,’ उनले मेरो लाइफस्टाइलसँग भने, ‘तर, मैले १६०० सीसीको मोटरसाइकलबाट जाँच पास गरेँ ।’ त्यतिबेला १६०० सीसीको मोटरसाइकलबाट ट्रायल पास गर्दा सबै दंग परेका थिए ।
महँगा मोटरसाइकल किन्ने, तिनै मोटरसाइकलमा संसार डुल्ने, रमाइलो गर्ने उनीहरूको रहर हो ।
उनले फ्याट ब्याई करिव ८ वर्ष चढे । त्यसपछि उनले हार्ले डेभिडसनकै टुरर १७०० सीसीको बाइक किने । अहिले उनीसँग यीबाहेक ट्राइम्प रकेट थ्री २३०० सीसी, हार्ले डेभिडसनको स्पोर्टस्टर ४८, बुलेट ५०० सीसी, ७१ वर्ष पुरानो ल्याम्ब्रेटाको इटालियन स्कुटर छन् । त्यस्तै नेपालमा हार्ले डेभिडसनको १२०० सीसी, ३५० सीसीका २ वटा बुलेट मोटरसाइकल छन् । त्यसमध्ये एउटा बुलेट उनकी आमा पुष्पलताले चढ्छिन्, जो केही वर्ष अघि बुलेट आमा भन्दै चर्चामा आएकी थिइन् ।
१२ हजार किलोमिटर यात्रा तय
अन्दिप मोटरसाइकलमा लामो यात्रा गर्न रुचाउँछन् । अझै एक देशबाट अर्को देशसम्म साथीभाईहरूसँग मोटरसाइकलमा यात्रा गर्दा साँच्चै जिन्दगीको मजा लिने गरेको उनी बताउँछन् । उनी बेलायतमा हार्ले डेभिडसन क्लबमा आवद्ध छन् । त्यहाँबाट उनी लङ राइडका लागि गइरन्छन् । पछिल्लो समय नेपाल आएको बेला उनले नेपालबाट लद्दाखसम्म २७ दिनमा करिव ७ हजार किलोमिटरको राइड गरिसकेका थिए । सन् २०२२ मा उनी नेपाल आउने तयारीमा छन् । त्यतिबेला काठमाडौंदेखि थाइल्याण्डसम्म मोटरसाइकलमा नै जाने उनको योजना छ । त्यो यात्रा ३२ दिनको १२ हजार किलोमिटरको हुनेछ ।
उनी हरेक वर्ष नेपाल आउँछन् । विशेषगरी दशैँमा आमाको हातको टीका थाप्न नेपाल जसरी पनि आइपुग्छन् । कोभिड–१९ का कारण यसपाली भने नेपाल आउन सकेका छैनन् । नत्र उनी वर्षमा ३–४ पटक नेपाल आउँछन् ।
कमाउँदै मोटरसाइकल किन्दै
अन्दिपको बेलायतमा राम्रो कमाई छ । तर, कमाएर जोगाउनुपर्छ भन्ने उनको साेच नै छैन । जति कमाउँछन् खर्च गर्छन् । सबैभन्दा बढी खर्च मोटरसाइकलमा हुने उनी बताउँछन् । ‘अरु कमाएर घर घडेरी जोड्नतिर लाग्छन्,’ उनी भन्छन्, ‘म चाहिँ सोख पूरा गर्छु । मेरो सोख भनेकै महंगा मोटरसाइकल चढ्ने हो ।’
समाजसेवामा अग्रसर
उनको रुची समाजसेवामा पनि छ । लमजुङको एउटा गाउँ, जहाँ बिजुली पुगेको थिएन, त्यहाँ उनले सन् २००७ मा इन्भर्टरबाट कैयौं घरलाई उज्यालो बनाएका थिए । यस्तै, २०७२ को भूकम्पले तहसनहस बनाएको सिन्धुलीको एउटा विद्यालयलाई पनि उनले आर्थिक सहयोग गरेर ठड्याए ।
उनी हरेक वर्ष नेपाल आउँछन् । विशेषगरी दशैँमा आमाको हातको टीका थाप्न नेपाल जसरी पनि आइपुग्छन् । कोभिड–१९ का कारण यसपाली भने नेपाल आउन सकेका छैनन् । नत्र उनी वर्षमा ३–४ पटक नेपाल आउँछन् । नेपाल आएको बेलामा सडक बालबालिका, अनाथ असहायलाई सहयोग गर्छन् ।
पछिल्लो समय नेपाल आएको बेला उनले नेपालबाट लद्दाखसम्म २७ दिनमा करिव ७ हजार किलोमिटरको राइड गरिसकेका थिए ।
बाइकमा डुल्ने सोखले छोराछोरी जन्माएनन्
उनले सन् २००९ मा मुक्ता आचार्यसँग विवाह गरे । तर, अहिलेसम्म सन्तान छैनन् । सन्तान जन्माउनुपर्छ, बाबुआमा बन्नुपर्छ भन्ने उनीहरूको सोच नै छैन । महँगा मोटरसाइकल किन्ने, तिनै मोटरसाइकलमा संसार डुल्ने, रमाइलो गर्ने उनीहरूको रहर हो । यदि सन्तान भए भने हेरचाह र हुर्काउनतिर लाग्दा यी रहर मर्ने भएपछि सन्तान नजन्माउने निधो गरेको आचार्य बताउँछन् ।
अर्को कुरा उनी आफेै एक्लो छोरा हुन् । आमा नेपालमा छिन्, बुबाको पहिल्यै देहावसान भइसक्यो । ‘एक्लो छोरो, तैपनि आमालाई छोडेर सात समुन्द्र पारी छु । अब मैले सन्तान जन्माएर पनि उनीहरू मसँगै हुन्छन् भन्ने निश्चित छैन,’ उनी भन्छन्, ‘त्यसैले एकपटक पाएको जिन्दगीमा आनन्दले रमाइलो गरी बिताउनका लागि छोराछोरी नजन्माउने विचार गरेका छौं ।’