English

पत्रकार जीवन पराजुलीको पुस्तक ‘क्लोज–अप’ सार्वजनिक



नेपाली चलचित्रका केही आयाम र पात्रहरूमा आधारित गैर–आख्यान पुस्तक ‘क्लोज–अप’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।

पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभलगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल : युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र : सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौं अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका चलचित्रकर्मीहरूको अनुभव, भोगाइ र संघर्षलाई समेटिएको छ ।

कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले ‘क्लोज–अप’ एउटा राम्रो दस्तावेज भएको बताउँदै नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरूका लागि उपयोगी हुने धारणा राखे । उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरूका अनुभवलाई समेट्न लेखकलाई सुझाएका छन् ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरू इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरूमा नलाग्ने बताइन् । ‘किताबको आफ्नै महत्त्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु । ‘क्लोज–अप’ले पनि नेपाली चलचित्रलाई थप नजिकबाट चिनाउनेछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज–अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् । निर्देशक दीपाश्री निरौलाले भने ‘क्लोज-अप’लाई आफूले नेपाली चलचित्र र चलचित्रकर्मीहरूको दस्तावेजको रूपमा लिएको धारणा राखिन् ।

उनले कार्यक्रममा भनिन्, ‘चलचित्रकर्मीहरूको यात्रा लाइमलाइटमा रहँदासम्म मात्र देखिन्छ । लाइमलाइटमा हुँदासम्म सबैले वाहवाही गर्छन् तर त्यसपछि हामी थियौं र ! भन्ने खालको स्थिति छ । ‘क्लोज–अप’ले चलचित्रकर्मीलाई लिपिबद्ध गरिदिएको महसुस गरेकी छु ।’

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज–अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा ब्याख्या गर्दै भने, ‘नेपाली चलचित्र पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको छु । पुस्तकले नेपाली चलचित्रको समग्र इतिहास र पात्रलाई समेट्न नसके पनि भोलिका दिनमा अझ फराकिलो रुपमा पुस्तक ल्याउन म लेखकलाई आग्रह गर्छु ।’

पुस्तकबारे कार्यक्रममा अभिनेता उत्तम प्रधान, निर्देशकहरू नारायण पुरी, दिनेश डिसी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले पनि बोलेका थिए । कार्यक्रममा लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरू समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरू पुस्तकहरू पनि क्रमशः लेख्दै जाने बताए ।

कार्यक्रममा लेखक पराजुलीले भने, ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवात मात्र हो । पुस्तकलाई पहिलो खण्डको रुपमा मात्र लिन सकिन्छ । पहिलो खण्ड यस अर्थमा कि चलचित्रको इतिहास झल्काउने धेरै कुराहरू लेख्न बाँकी नै छ । त्यस्ता धेरै व्यक्तित्वहरू हुनुहुन्छ, जसले नेपाली चलचित्रलाई आजको स्थानसम्म पुर्‍याउन योगदान दिनुभएको छ । उहाँहरूका बारेमा लेख्न बाँकी नै छन् ।’

ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । यूरोपका विभिन्न देशहरू र थाइल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलियालगायतका देशहरूमा पनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा बताइयो ।

५९९ रुपैयाँ मूल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजनमार्फत संसारभर उपलब्ध हुने जानकारी गराइयो । कार्यक्रममा सञ्चारकर्मीसहित चलचित्र क्षेत्रका साथै अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यो पनि…
राजनीतिमा हाम्रा कलाकार

आखिर करिश्माले किन छानिन् एमाले ?
राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् रेखा थापा



सम्बन्धित खबरहरु

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत