English

गाउँ फर्किंदै चित्रेवासी



गण्डकी प्रदेशकै उत्कृष्ट घरवास सुविधा भएको गाउँ पर्वतको चित्रेका स्थानीयवासी पर्यटक आगमन बढ्दै गएपछि पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति शहरबाट गाउँ फर्कनेको सङ्ख्या बढ्दै गएको छ । गाउँमा पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले पोखराको होटल व्यवसाय छाडेर गाउँ फर्किएको मोदी गाउँपालिका–८ चित्रेका निशान गुरुङले बताए ।

घरवास सञ्चालन गर्न गाउँ आएको उनको भनाइ छ । “शहरमा भन्दा गाउँमै बसेर मनग्य आम्दानी गर्ने लक्ष्य छ”, उनले भने, शहरमा आम्दानीभन्दा खर्च बढी हुन्छ, बचत गर्नै मुस्किल, तर गाउँमा आम्दानीसँगै अन्य घरायसी काम पनि गर्न पाइन्छ, त्यसैले हामी गाउँमै फर्किएका हौँ ।”

“गाउँको हावापानी राम्रो छ, सामान्य मेहनत गरेर पनि मनग्य आम्दानी हुन्छ”

गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीयवासी निकै उत्साहित भएका छन् । पर्यटकलाई राम्रो सेवासुविधा दिनका लागि यहाँका १० घरमा व्यवस्थित घरवास पूर्वाधार निर्माण भइसकेको छ । घरवास सञ्चालनका लागि गाउँ फर्किएका अहिले दैनिक गाउँमा आएका पाहुनाको स्वागत–सत्कारमा व्यस्त हुने गरेका छन् । तीमध्ये कतिपयले घरवासको मापदण्डबमोजिमका संरचना निर्माण गर्न थालेका छन् । कोरोना कहरका कारण झण्डै ११ महिनापछि तङ्ग्रिन थालेको चित्रेमा दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटक आउन थालेको ग्रामीण चित्रे घरबास पर्यटन विकास समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताइन् । गाउँमा एकसाथ ६० जनासम्म पाहुनालाई राख्न सकिने उनको भनाइ छ ।

समुद्री सतहदेखि एक हजार ५०० मिटर उचाइमा अवस्थित चित्रेमा ४४३ घर छन् । प्राकृतिक सुन्दरता, न्यानो आतिथ्यता, गुरुङ संस्कृतिमा प्रख्यात चित्रेगाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

“कहिलेकाहीँ त ६० जनाभन्दा बढी पाहुना आउँछन्, व्यवस्थापन गर्न निकै अप्ठेरो हुने गरेको छ”, उनले भनिन्, “जिल्लामा भन्दा बाहिरका विद्यालय तथा क्याम्पसका विद्यार्थी ठूलो समूहमा आउने गरेका छन् ।” दैनिक पर्यटकको चहलपहलले गाउँनै रमाइलो हुने गरेको काठमाडौँबाट जन्मगाउँ चित्रे फर्किएका हर्कमान गुरुङ बताउँछन् । “गाउँको हावापानी राम्रो छ, सामान्य मेहनत गरेर पनि मनग्य आम्दानी हुन्छ”, उनले भने, “दैनिक पर्यटकको आगमनले गाउँनै शहरजस्तो भएको छ ।”

चित्रेलाई विसं २०६७ देखि पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । समुद्री सतहदेखि एक हजार ५०० मिटर उचाइमा अवस्थित चित्रेमा ४४३ घर छन् । प्राकृतिक सुन्दरता, न्यानो आतिथ्यता, गुरुङ संस्कृतिमा प्रख्यात चित्रेगाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । चित्रेमा स्थानीयवासीको सक्रियतामा सामूहिक पाहुनाघर छ । स्थानीय महिला गाउँ घुम्न आउने पाहुनाको स्वागत–सत्कारका लागि समूहघरमा जम्मा हुने गर्छन् ।

गण्डकी प्रदेशमै सातौँ स्थान र पर्वत जिल्लाकै पहिलो घरबासका रूपमा रहेको यहाँ आन्तरिक मात्र नभएर जापान, कोरिया तथा भारतलगायतका देशबाट पर्यटक आउने गरेका छन् ।

गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुनाघरमा राखेर सत्कार गर्नु, सोरेठी, घाँटू, लोकदोहोरी, रोधीलगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु चित्रेवासीको चलन हो । स्थानीयवासीले गाउँमै उत्पादन गरेका मकै, धान, कोदो, भटमासलगायत हरियो सागसब्जी, गेडागुडी, गाउँमै पालिएका खसी तथा कुखुराको मासु खुवाउने गर्छन् । स्थानीयवासीको स्वागत–सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको चित्रेको पञ्चकोशी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक मधुसुधन अधिकारीले बताए । गुरुङ जातिको पुरानो संस्कृति तथा संस्कार जोगाइराख्न पनि यस्ता कार्यक्रम उपायोगी भएको उनको भनाइ छ । वृद्धवृद्धाले धान्दै आएका यस्ता कार्यक्रम पछिल्लो समय युवायुवतीले पनि सिको गर्दै आएका छन् । चित्रेबाट माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायतका हिमाल आँखै अगाडि देखिन्छन् ।

ऊर्जा नदीको रूपमा परिचित मोदी गाउँपालिकाको पातीचौरबाट चित्रेगाउँसम्म मोटरबाटो पुगेको छ । हिँडेर आउन नसक्नेका लागि मोटरबाटो निर्माणपछि सजिलो भएको छ । पातीचौरबाट करिब ४५ मिनेटको गाडीको यात्रापछि चित्रे पुग्न सकिन्छ भने डेढ घण्टामा हिँडेरै पुग्न सकिन्छ । गण्डकी प्रदेशमै सातौँ स्थान र पर्वत जिल्लाकै पहिलो घरबासका रूपमा रहेको यहाँ आन्तरिक मात्र नभएर जापान, कोरिया तथा भारतलगायतका देशबाट पर्यटक आउने गरेका छन् । रासस



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन