राजनीतिमा हाम्रा कलाकार
नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री हुन्– रेखा थापा । उनको परिचय यतिले मात्रै पुग्दैन । राजनीतिज्ञ, उनको अर्को परिचय बनिसकेको छ ।
एकपटक रेखाको राजनीतिक यात्राबारे जानौँ । कुरा हो, करिब १२ वर्ष अघिको । जतिबेला तत्कालीन एकीकृत नेकपा माओवादीले सिंहदरबार घेराउ कार्यक्रम आयोजना गरेको थियो । सिंहदरबार घेर्न अभिनेत्री थापा पनि पुगिन् । कार्यक्रममा रेखाले ‘लालुपाते नुग्यो भुइँतिर…’ गीत गाउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छमछमी नचाइन्, आफू पनि नाचिन् । त्यतिबेला रेखाले प्रचण्डसँग मर्काएको कम्मरले यत्रतत्र सर्वत्र चर्चा पायो । साथै, रेखाको राजनीतिक रङ पनि छर्लङ्ग देखियो ।
पार्टीभित्रको हारजित एकातिर छ तर तन, मन, वचन र विचारले दत्तचित्त भएर लाग्ने मान्छे राजनीतिमा एकदिन पक्कै सफल हुन्छ ।
यही क्रममा संविधान सभाको दोस्रो निर्वाचन आयो । रेखा सभासद् उठ्ने चर्चा चारैतिर छायो । माओवादीले पर्सा क्षेत्र नम्बर १ बाट टिकट दिने लगभग टुङ्गो पनि लगायो । यद्यपि, मतदाता नामावलीमा नाम नै नभएकाले रेखाको सभासद् बन्ने ढोकामा भोटेताल्चा लाग्यो ।
यही क्रममा २०७३ मा रेखाले राजनीतिक कित्ता परिवर्तन गरिन् । पूरै प्रगतिशील भनिएको माओवादी पार्टी त्यागेर पुरातनवादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरिन् । र, राप्रपाको हालै सम्पन्न, एकता महाधिवेशनमा उनी राजेन्द्र लिङ्देन खेमाबाट महामन्त्री उम्मेद्वार बनिन् । तर, पराजित भइन् ।
यद्यपि, थापा राजनीतिमा सक्रिय छिन् । ‘एकाध व्यक्तिहरूले राजनीतिलाई पेसा बनाएर लुटिरहेको देख्न नसकेर यता होमिएकी हुँ,’ अभिनेत्री थापा भन्दै थिइन्, ‘पार्टीभित्रको हारजित एकातिर छ तर तन, मन, वचन र विचारले दत्तचित्त भएर लाग्ने मान्छे राजनीतिमा एकदिन पक्कै सफल हुन्छ ।’
राजनीतिमा जानीनजानि नयाँ शक्तिमा आवद्ध भएँ जब बुझ्दै गएँ हरेक कुरा सच्याउने राजनीतिले नै हो भन्ने कुरा थाहा पाएपछि झनै प्रेरणा मिल्यो ।
यसैगरी, कलाकारितासँगै राजनीतिमा होमिएकी अर्की पात्र हुन्, अभिनेत्री करिश्मा मानन्धर । २०७३ मा डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत माओवादी छोडेर ‘नयाँ शक्ति’ पार्टी खोले । त्यसैबाट अभिनेत्री मानन्धरले राजनीतिक यात्रा शुरु गरिन् । उक्त पार्टीमा उनीसँगै अभिनेता सरोज खनाल, निर्माता तथा निर्देशक अशोक शर्मा पनि प्रवेश गरे । करिश्मा नयाँ शक्तिमा रहँदा पार्टीको विकास र विस्तारका लागि गाउँ–गाउँ पुगिन् । यद्यपि, डा. भट्टराईसँग करिश्माको सहकार्य लामो समय टिकेन । दुई वर्षअघि उनी भट्टराईसँग टाढा भइन् । भट्टराईले पनि नयाँ शक्तिलाई उपेन्द्र यादवको संघीय समाजवादीमा बिलिन गराए । भट्टराई अहिले जनता समाजवादी पार्टी संघीय परिषद्को अध्यक्ष छन् ।
यता, राजनीतिबाट विश्राम लिएर पढाइलाई निरन्तरता दिइरहेकी अभिनेत्री मानन्धर भने अब नेकपा एमाले प्रवेश गर्ने तयारीमा छिन् । गत बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरी वैशाख ९ गते पार्टी प्रवेश गर्ने निधो गरेकी हुन् । ‘१४ वर्षको कलिलो उमेरमा सिनेमा क्षेत्रमा होमिएँ मलाई केही थाहा थिएन गहिराइ बुझ्दै सिक्दै, बम्बई गएर सिनेमाको एउटा लामो यात्रा तय गरें,’ मानन्धर आफ्नो जीवनयात्रा वर्णन गर्दै थिइन्, ‘यो उमेरमा आएर पढ्न मन लाग्यो पढेँ जसलाई निरन्तरता दिँदै छु । यस्तै, राजनीतिमा जानीनजानि नयाँ शक्तिमा आवद्ध भएँ जब बुझ्दै गएँ हरेक कुरा सच्याउने राजनीतिले नै हो भन्ने कुरा थाहा पाएपछि झनै प्रेरणा मिल्यो ।’
चाप्लुसी घस्ने सर्टिफिकेट भएकाले मात्र स्थान पाउँदा रहेछन्, त्यसैले म स्थापित हुन सकिनँ ।
यसैगरी, राजनीतिबाट हार खाएका अर्का पात्र हुन्–अभिनेता भुवन केसी । २०७० ताका केसी एमालेमा सक्रिय भएर लागे । त्यसो त उनलाई एमालेले दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट टिकट दिने निधो गर्यो । तर, अन्तिममा उनको नाम काटियो । केसीको सट्टामा एमाले नेता विदुर मैनालीलाई उम्मेदवार बनाइयो । त्यसपछि, भुवन बिच्किए । उनलाई थुमथम्याउनका लागि समानुपातिक सूचीमा नाम राखियो । तर, सभासद् बनाइएन । त्यसपछि भुवन राजनीतिक वृत्तबाट गुमनामझैँ रहे । ‘तपाईंलाई राजनीतिप्रति वितृष्णा बढेको हो ?’ मेरो लाइफस्टाइलको प्रश्नमा उनी भन्दै थिए, ‘त्यस्तै–त्यस्तै हो ।’
‘म त्यतिबेला मन्त्री, प्रधानमन्त्री बन्छु भनेर राजनीतिमा लागेको होइन मैले लगभग पाँच दशक सिने क्षेत्रमा बिताएँ । त्यसैले, संसद्मा नेपालको कला, संस्कृति र भाषाको उत्थानका लागि आवाज उठाउन राजनीतिमा आएको थिएँ,’ उनी निरास सुनिन्छन्, ‘त्यहाँ झुटो बोल्ने, फटाहा भाषण दिने, झुटा आश्वासन बाँड्न सक्ने, जे बोलेको छ त्यो पूरा गर्न नसक्ने, चाकडी गर्ने, चाप्लुसी घस्ने सर्टिफिकेट भएकाले मात्र स्थान पाउँदा रहेछन्, त्यसैले म स्थापित हुन सकिनँ ।’ यद्यपि, अब एमाले छोडेर अरू पार्टीमा तत्काल जाने मुडमा भुवन छैनन् ।
यही विन्दुमा प्रश्न उठ्नसक्छ । गणतन्त्रपछि जति पनि कलाकारले राजनीतिक हाँगो समाते एकाधबाहेक कोही किन स्थापित हुन सकेनन् ?
लहै–लहैको भरमा राजनीतिमा लाग्दा कोही पनि सफल हुन नसक्ने अभिनेत्री थापाको धारणा छ । ‘म राजनीतिमा होमिएको १२ वर्ष बित्यो ।’
आफ्ना लागि जे पनि गर्ने र संगठनका लागि केही नगर्ने कलाकार मात्र होइन कोही पनि राजनीतिमा स्थापित हुन सक्दैनन् ।
राजनीतिक दलको उपयोगवादी रणनीति
नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापा कलाकारमा राजनीतिक इमान्दारिता नहुँदा यस्तो अवस्था सिर्जना भएको बताउँछन् । साथै, पार्टीले पनि कलाकारलाई गहनाको रूपमा लिने र चाहिएको बेलामा मात्र उपयोग गर्ने गरेको उनको आरोप छ । ‘कलाकारहरू मौकाको खोजीमा दौडिरहेका छन्,’ उनी भन्छन्, ‘तर, त्यो मौका राजनीतिक दलका नेताहरूले उठाइरहेका छन् । कलाकारको पहिचान व्यवस्थापन गर्नुपर्छ भन्ने कुनैपनि पार्टीमा नीतिगत व्यवस्था छैन ।’
साथै, कलाकार पनि जुन पार्टीमा लाग्ने हो त्यसको संगठन विस्तारमा लाग्नुपर्ने उनको धारणा छ । ‘आफ्ना लागि जे पनि गर्ने र संगठनका लागि केही नगर्ने कलाकार मात्र होइन कोही पनि राजनीतिमा स्थापित हुन सक्दैनन्,’ थापाको ठम्याइ थियो ।
हामी पनि आफ्नै हक खोज्न राजनीतिमा लागेका हौँ तर, आफूलाई कसरी प्रस्तुत गर्ने र स्थापित हुने भन्ने कुरा स्वयंले बुझ्नुपर्छ ।
राजनीतिमै लागेका केही कलाकार पार्टीभित्रको राजनीतिमा गिजोलिएका छन् । तैपनि, सक्रिय छन् । गायिका राधिका हमाललाई कांग्रेसले गत स्थानीय निर्वाचनमा रोल्पास्थित त्रिवेणी गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनायो । तर, उनी त्यता जम्न सकिनन् । यद्यपि, उनी पार्टीमा निरन्तर सक्रिय छिन् । ‘राजनीतिले नछुने कसलाई छ र ?,’ उनी प्रश्न गर्छिन्, ‘हामी पनि आफ्नै हक खोज्न राजनीतिमा लागेका हौँ तर, आफूलाई कसरी प्रस्तुत गर्ने र स्थापित हुने भन्ने कुरा स्वयंले बुझ्नुपर्छ ।’
पार्टीले गाउँपालिकामा टिकट दियो तर, त्यसको नतिजा आफूतर्फ पार्न नसक्नु उनी आफ्नै कमजोरी स्विकार्छिन् । ‘पार्टीले मलाई पत्याएर टिकट दियो तर मतदाताले पत्याएनन्,’ स्विकार भावका साथ उनको कथन थियो, ‘मैले राजनीतिमा अझै मिहिनेत गर्नुपर्यो भन्ने जनमत पाएँ, त्यसैले पार्टीमा काम गर्दै छु ।’ तर, कांग्रेसले कलाकारलाई जुन स्थान दिनुपर्ने हो त्यो नदिएकोमा भने उनको गुनासो छ ।
राजनीति भनेको बेग्लै कुरा हो । यसमा निरन्तर लगाब चाहिन्छ, तर हाम्रा कलाकारहरूमा राजनीतिक चाहना भयो तर, लगाब नभएकाले स्थापित हुन सकेनन् ।
कलाकारितामा अब्बल भएर पनि राजनीतिक कला नहुँदा कलाकारहरूको राजनीतिक यात्रा सहि गन्तव्यमा नपुग्ने गरेको माओवादीनिकट अखिल नेपाल जनसाँस्कृतिक महासंघका उपाध्यक्ष तथा गायक चेतन सापकोटा बताउँछन् । ‘हामी सेलिब्रिटी हौं, जुनसुकै पार्टीमा गए पनि जनसमर्थन पाइहालिन्छ भन्ने दम्भ कलाकारमा देखिन्छ,’ उनको तर्क थियो, ‘राजनीति भनेको बेग्लै कुरा हो । यसमा निरन्तर लगाब चाहिन्छ, तर हाम्रा कलाकारहरूमा राजनीतिक चाहना भयो तर, लगाब नभएकाले स्थापित हुन सकेनन् ।’
कलाकारले राजनीतिको मूख्य भूमिकामा काम गर्न नसक्ने यथार्थ हो, किनभने राजनीतिक दर्शनसँग सम्बन्धित कला हो ।
एमालेनिकट जनसाँस्कृतिक संघका संयोजक खगेन्द्र राई कलाकारको राजनीतिक यात्रालाई व्यंग्य गर्छन् । भन्छन्, ‘कमर्श पढेर वैज्ञानिक बनिदैन जसको लागि साइन्स नै पढ्नुपर्छ ।’
कलाकारिता र राजनीति फरक कला हो । त्यसैले, कला क्षेत्रमा चम्कियो भन्दैमा राजनीतिमा चम्किन्छ भन्ने धारणा गलत साबित भएको राई बताउँछन् । ‘कलाकारलाई कुन भूमिका दिँदा पार्टीलाई फाइदा हुन्छ त्यहीअनुसार जिम्मेवारी दिन्छ,’ उनी सुनाउँदै थिए, ‘कलाकारले राजनीतिको मूख्य भूमिकामा काम गर्न नसक्ने यथार्थ हो, किनभने राजनीतिक दर्शनसँग सम्बन्धित कला हो ।’
एकाधबाहेक राजनीतिको हाँगो समातेका थुप्रै कलाकारको राजनीति यात्रा गन्तव्यविहीन बनेको छ । यद्यपि, राजनीतिकै आडमा केही कलाकर्मीले फाइदा पनि लिए । तर, तुलनात्मक रूपमा कलाकारहरू राजनीतिमा जम्न नसकेको तितो यथार्थ हो ।
विभिन्न पेसामा ज्ञान हासिल गरेका व्यक्तिहरू राजनीतिमा आउँदा विज्ञताको उपयोग हुन्छ, त्यसैले राजनीतिमा कलाकार आउनुपर्छ ।
जसलाई फाप्यो राजनीति
राजनीतिमा लागेर केही कलाकार स्थापित पनि भएका छन् । उदाहरण हुन्– गायिका कोमल वली । पत्रकारितालाई बिट मार्दै २०७३ मा राप्रपा प्रवेश गरेकी वली एक वर्ष निबित्दै एमाले प्रवेश गरिन् । दाङलाई मूल थलो बनाएकी वलीले छाेटो समयमै राजनीतिमा फड्को मारिन् । यद्यपि, सुरुवाती दिनमा उनले पनि पार्टीभित्र धोका खाएकी नै हुन् । २०७४ को निर्वाचनमा एमालेले वलीलाई दाङ क्षेत्र नम्बर ३ बाट टिकट दिने आश्वासन दियो । तर, उनलाई उम्मेदवार बनाइएन ।
वली स्वतन्त्र उम्मेदवारी दिने अवस्थामा पुगिन् । तर, अन्तिममा उम्मेदवारी फिर्ता लिइन् । त्यसको बदलामा एमालेले उनलाई लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवार बनायो । उनी निर्विरोध राष्ट्रिय सभा सदस्यमा चुनिइन् । भर्खरै उनको ४ वर्षे कार्यकाल सकियो । एमालेले १०औँ महाधिवेशनबाट उनलाई केन्द्रीय सदस्य पनि बनायो ।
कलाकारमा पनि राजनीतिक क्षमता, योग्यता, लगनशीलता, दृढता भयो भने सफल हुने उनको अनुभव छ । ‘शुरुवाती दिनमा मैले पनि आलोचना खेपेकै हुँ,’ उनी सफलताको सूत्र भन्दै थिइन्,‘मेरो योग्यता, क्षमता र दक्षताले गर्दा सफल भएँ ।’
कलाकार मात्र होइन विभिन्न क्षेत्रका मानिसहरू राजनीतिमा आउँदा त्यसले दललाई नै सहयोग गर्ने वली बताउँछिन् । ‘विभिन्न पेसामा ज्ञान हासिल गरेका व्यक्तिहरू राजनीतिमा आउँदा विज्ञताको उपयोग हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले राजनीतिमा कलाकार आउनुपर्छ ।’
यद्यपि, लामो समय राजनीति गरिरहेका नेताले भने कलाकारको राजनीतिक यात्रालाई सहजै नस्विकारेकोप्रति उनको गुनासो छ । ‘उनीहरू राजनीति भनेको त हामीले मात्र गर्ने हो भन्ने सोच्छन्,’ उनी भन्दै थिइन्, ‘पार्टीभित्र सबै क्षेत्रका मानिसको सहभागिता भयो भने त्यो पार्टी मजबुत हुन्छ भन्ने कुरामा नेताहरूको ध्यान अझै पुग्न सकेको छैन ।’
पार्टीले पत्याएकाहरू
केही महिनाअघि मात्रै मूलधारका राजनीतिक पार्टीले महाधिवेशन सके । त्यसमा केही कलाकार प्रतिस्पर्धामा उत्रिए । नेपाली कांग्रेसको महाधिवेशनमा कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’, निर्माता रोज राणा, कलाकार शिवहरी वैरागी, कलाकार तीर्थ थापा, निर्देशक सम्झना रौनियारलगायत थुप्रै कलाकार विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि बने ।
माओवादी केन्द्रको आठौँ महाधिवेशनमा चलचित्रकर्मी युवराज लामा महाधिवेशन प्रतिनिधि बने । साथै, चलचित्र निर्देशक तथा निर्माता छवि ओझालाई माओवादी केन्द्रनिकट चलचित्र संघको विशेष समितिको अध्यक्षमा चयन गरियो । गायक विष्णु खत्री माओवादीले बाग्लुङको गलकोट नगर समितिको उपाध्यमा चुनिए ।
लामो समयदेखि राप्रपाको राजनीतिमा लागेको निर्माता प्रदीपकुमार उदय हाल केन्द्रीय सदस्य छन् । त्यस्तै, चलचित्र निर्माता तथा निर्देशक धर्मेन्द्र मोरबैता यतिबेला जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।
जसले पार्टीभित्रै पराजय व्यहोरे
पार्टीभित्र पराजय व्यहोर्ने अभिनेत्री थापा मात्र होइनन् । कांग्रेसको महाधिवेशन प्रतिनिधिमा जितेका गायक विमलराज क्षेत्रीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । ४७१ मत प्राप्त गरेका क्षेत्री कांग्रेस केन्द्रीय सदस्य बन्न सकेनन् ।
यसैगरी, निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले इलामबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिइन् तर, पराजय व्यहोरिन् ।
कलाकारको कला समाजको विम्ब बन्न सकेन भने त्यो कलाकारलाई समाजले रुचाउँदैन, त्यसो नभएपछि उसको राजनीतिक यात्रा पनि अघि बढ्दैन ।
राजनीतिमा किन भिज्न सक्दैनन् कलाकार ?
कलाकारको क्रेज कलाकारितामा मात्र सीमित भएकाले राजनीतिमा भिज्न गाह्रो भएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् । ‘कलाले समाजलाई जोड्नुपर्छ अनि मात्र कलाकार समाजसँग जोडिन्छन्,’ उनी भन्दै थिए, ‘कला र राजनीति भनेको फरक कुरा हो तर, दुवैको प्रभाव भने समाजमा देखिन्छ ।’ त्यसैले, कलासँगै राजनीतिमा लाग्नेहरूले आफ्नो कला समाजको बिम्ब बन्न सकेको छ कि छैन भन्ने ख्याल गर्न उनको सुझाव छ । ‘कलाकारको कला समाजको विम्ब बन्न सकेन भने त्यो कलाकारलाई समाजले रुचाउँदैन,’ उनले भने, ‘त्यसो नभएपछि उसको राजनीतिक यात्रा पनि अघि बढ्दैन ।’
एउटा राजनीतिकर्मी आफूलाई स्थापित गर्न जुन जटिलता भोगेको हुन्छ त्यो कलाकर्मीले भोगेका हुँदैनन् ।
राजनीतिका अघि कलाको क्यानभास त्यति धेरै जटिल नहुने हुनाले कलाकारहरूको राजनीति विफल बन्ने गरेको चलचित्रकर्मी तथा समीक्षक सचिन घिमिरे बताउँछन् । ‘तल्लो तहबाटै राजनीति गरेर आएका नेताले नीति, संगठन, कार्यक्रम, विचारमा पकड बनाउँदै, हरेक चुनौतीको सामना गर्दै आफूलाई परिपक्व बनाएको हुन्छ,’ उनले तर्क राखे, ‘त्यसैले, कलाको विज्ञानले राजनीतिज्ञ बन्नका निम्ति एउटा आधार बन्ला तर, पर्याप्त हुँदैन । किनकि, राजनीति धेरै गाह्रो काम हो ।’
त्यसैले, राजनीतिमा जम्नका लागि कलाकारमा सांगठनिक, नीति निर्माण, वैचारिक र अप्ठ्यारा परिस्थितिलाई पार गरेर अघि जान सक्ने क्षमताको विकास हुनुपर्ने घिमिरेको ठम्याइ छ । ‘एउटा राजनीतिकर्मी आफूलाई स्थापित गर्न जुन जटिलता भोगेको हुन्छ त्यो कलाकर्मीले भोगेका हुँदैनन्,’ घिमिरे निष्कर्ष सुनाउँछन् ।
‘लहै–लहैमा लागेर राजनीति हुँदैन’– रेखा थापा
पछिल्लो समय कलाकारले राजनीति गर्ने कि नगर्ने भन्ने अर्को बहसको विषय बनेको छ । तर, अभिनेत्री थापा भने यसलाई सोझै नकार्छिन् । राजनीति कसैको पेवा नभएर साझा भएकाले जुनसुकै क्षेत्रका मानिसले यसलाई अँगाल्न सक्ने उनको मत छ । ‘जन्मजातै राजनीतिको झोला बोक्नुपर्छ भन्ने होइन,’ उनको जिज्ञासा थियो, ‘एउटा क्षेत्रमा सफलता हासिल गरेका मानिसले देशको सेवा गर्छु भनेर राजनीतिमा आउँदा किन रिस गर्ने ?’
मेरो त शरीरमै राजनीतिको रगत बगेको छ, म लहैलहैमा लागेर राजनीतिमा आएको होइन । यदि म कलाकार थिइनँ भने राजनीतिज्ञ नै देख्नुहुन्थ्यो ।
यद्यपि, लहैलहैको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्याउने उनको धारणा छ । ‘राजनीतिबाटै देश विकास सम्भव छ तर, लहैलहैमा राजनीतिमा लागेकाबाट त्यो आशा गर्न सकिँदैन,’ उनी भन्दै थिइन, ‘मेरो त शरीरमै राजनीतिको रगत बगेको छ, म लहैलहैमा लागेर राजनीतिमा आएको होइन । यदि म कलाकार थिइनँ भने राजनीतिज्ञ नै देख्नुहुन्थ्यो ।’
त्यसो त राजनीतिलाई सामान्यीकरण गरेको चित्त नबुझ्ने उनी सुनाउँछिन् । ‘यो देश मेरो होइन र, देशमा समस्या छ भन्ने थाहा पाउँदा पाउँदै चुप लागेर बस्यो भने भोलिको पुर्खाले प्रश्न गर्छ,’ रेखाको निष्कर्ष थियो,‘मेरो साझा परिचय हुँदा हुँदै पनि राजनीतिमा म किन होमिएँ ?
यो पनि…
आखिर करिश्माले किन छानिन् एमाले ?
राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् रेखा थापा