English

बत्ती बल्दै, अँध्यारो हट्दै जुम्ला कालिकोटको …



झन्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गरे । गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले पीडा बोल्छ, अभाव बोल्छ । अझ भनौँ, गीतले समग्र कर्णालीको अवस्थाको चित्रण गरेको छ ।

प्रकृतिले अपार स्रोत र साधन दिए पनि कर्णाली प्रदेशका धेरै बस्तीले अझै पनि उज्यालो पाएको छैन । भौगोलिक विकटता र स्रोतको अभावमा कर्णाली प्रदेशले बिजुली बाल्न अझै पाएको छैन । आफ्नो गाउँ ठाउँमा बिजुली बाल्न भन्दै कर्णाली प्रदेशवासीले गरेको सङ्घर्ष पनि कम छैन ।

जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतले पटक–पटक भावकु हुँदै कर्णालीमा कहिले बिजुली बल्छ भनेर सोध्न थालेको पनि लामै समय भयो । देशभर कुल ९१ प्रतिशत घरधुरीमा बिजुली पुगेको विवरण सार्वजनिक हुँदा र त्यही विवरण सञ्चार माध्यमबाट थाहा पाउँदा झनै पीडामा परेका कर्णालीबासीले अब भने लामो समय पर्खनु नपर्ने भएको छ । पखाईका लामो पीडा अनि अभावकाबीचमा बाँचिरहेका कर्णाली प्रदेशवासीको सपनालाई अब छिट्टै सरकारले पूरा गर्ने भएको छ । त्यसका लागि मात्रै रु २५ अर्ब बराबरको लगानी हुने भएको छ ।

गायक एवं सङ्गीतकार सुरजको गीतले भने जस्तै निकट भविष्यमा नै कर्णाली प्रदेशका अँध्यारा बस्तीमा उज्यालो हुनेछ । अनि साँझमा सल्लाको दाउरा बालेर वा मट्टितेलको खोजीमा भौतारिनुपर्ने अवस्थाको अन्त्य हुनेछ । नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रैमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्याउने भएको छ । प्राधिकरणले कर्णालीवासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युतको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको जनाएको छ ।

कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत पुगेको छ । तीन नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत पुग्न सकेको छैन । नगरपालिका र गाउँपालिकाका कूल ७ सय १८ वडामध्ये ३ सय ९३ वडामा विद्युत पुगेको छ । कर्णाली प्रदेशको समग्र विद्युतीकरण ४४.९३ प्रतिशत मात्रै छ । बाँकी स्थानमा बिजुली पुर्याउन युद्धस्तरमा काम अगाडि बढेको छ ।

कर्णालीमा विद्युतीकरणको खर्च र यहाँ खपत हुने विद्युतको आम्दानीबाट लागतसमेत उठ्दैन, तर सबैको घरमा विद्युत पुर्याउने राज्यको दायित्व भएकोले नाफा नोक्सान नहेरी विद्युतलाई आधारभूत आवश्यकताको वस्तुको रूपमा लिएर काम गरिरहेका छौं ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भौगोलिक कठिनाई तथा विकटताले गर्दा कर्णाली प्रदेशका जिल्लामा विद्युतीकरणमा ढिलाइ भए तापनि अब दुई वर्षभित्रमा सबैको घरधुरीमा विद्युत पु¥याउने गरी काम भइरहेको जानकारी दिए ।

कार्यकारी निर्देशक घिसिङले राष्ट्रिय प्रसारण लाइन पुर्याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत (माइक्रो हाइड्रो) लगायतमार्फत विद्युतीकरण गरिने बताए । ‘कर्णालीमा विद्युतीकरणको खर्च र यहाँ खपत हुने विद्युतको आम्दानीबाट लागतसमेत उठ्दैन, तर सबैको घरमा विद्युत पुर्याउने राज्यको दायित्व भएकोले नाफा नोक्सान नहेरी विद्युतलाई आधारभूत आवश्यकताको वस्तुको रूपमा लिएर काम गरिरहेका छौं’, घिसिङले भने ।

सरकारले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैंक (ईआइबी)बाट करिब रु २५ अर्ब सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गर्दै छ । यस्तै, सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युतको पहुुँच विस्तारमा खर्च गरिरहेको छ ।

चालू आवमा कर्णाली प्रदेशमा विद्युतीकरणका लागि रु ६४ करोड बजेट रहेको छ । एआईआईबी र ईआईबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋणबाट विद्युतीकरण गर्न ठेक्का प्रक्रिया शुरु भएको छ । निर्माण व्यवसायीले काम नगरिदिँदा पनि विद्युतीकरणमा समस्या देखिएको छ । काम नगर्नेको ठेक्का तोड्ने र नयाँ प्रक्रियामार्फत निर्माण व्यवसायी छनोट गरी विद्युतीकरण गरिने घिसिङको भनाइ छ ।

karnali nadi

प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट र जुल्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र हुम्ला, मुगु र डोल्पामा लघु जलविद्युतमार्फत् विद्युत आपूर्ति गरिरहेको छ । कुल ३३ र ११ केभी लामो प्रसारण लाइनमार्फत विद्युत आपूर्ति भइरहेकाले ट्रिपिङ हुँदा लाइन जाने र न्यून भोल्टेजको समस्या पनि छ ।

बाँकेको कोहलपुर र दाङको तुलसीपुरबाट यस प्रदेशमा विद्युत आपूर्तिका लागि प्रसारण लाइन लगिएको छ । कर्णाली प्रदेशका जिल्लामा विद्युत आपूर्तिका लागि ११ वटा ३३/११ केभी वितरण सबस्टेसन निर्माणको विभिन्न चरणमा छन् । कोहलपुर–सुर्खेत–दैलेख १३२ प्रसारण लाइन र सुर्खेत तथा दैलेखमा १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि कर्णाली क्षेत्रको विद्युत आपूर्ति भरपर्दाे र गुणस्तरीय हुने छ ।

५५ प्रतिशतलाई निःशुल्क विद्युत पहुँच पुगेका कर्णाली प्रदेशका करिब ५५ प्रतिशत घरधुरीले २० युनिटसम्मको निःशुल्क विद्युतको सुविधा उपभोग गरिहेका छन् । यस प्रदेशमा प्राधिकरणका एक लाख १४ हजार ३०० ग्राहकमध्ये ६२ हजार ६ सय घरायसी ग्राहकले निःशुल्क विद्युतको सुविधा उपभोग गरिहेका हुन् । सरकारले ५ एम्पियर मिटर राख्ने घरायसी ग्राहकलाई २० युनिटसम्मको ऊर्जा निःशुल्क गरेको छ ।

त्यस्ता ग्राहकले न्यूनतम ३० रुपैयाँ भने तिर्नुपर्छ । प्राधिकरणको विद्युत बिक्रीबाट गर्ने आम्दानीमा ०।८ प्रतिशत हिस्सा मात्रै कर्णाली प्रदेशको छ । कालिकोटमा सबस्टेसन सञ्चालनमा कालिकोटमा अस्थायी रूपमा निर्माण गरिएको ३३/११ केभी, ३ एमभीए क्षमताको सवस्टेसन आइतबारदेखि सञ्चालनमा आएको छ । दैलेख–कालिकोट करिब ६६ किलोमिटर ३३ केभी लाइन पनि सञ्चालनमा ल्याइएको छ ।

अहिले दैलेखबाट करिब १५० किलोमिटर लामो ११ केभी लाइनबाट जुम्लामा विद्युत आपूर्ति भइरहेको थियो, अब यस सबस्टेसनबाट दिँदा जुम्ला र कालिकोटको विद्युत आपूर्तिमा सुधार हुने छ ।

कालिकोटमा ३३/११ केभी सबस्टेसन पनि निर्माणाधीन छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवका अनुसार अस्थायी सबस्टेसन सञ्चालनमा आएपछि कालिकोट र जुम्लाको विद्युत आपूर्तिमा सुधार हुने छ । ‘अहिले दैलेखबाट करिब १५० किलोमिटर लामो ११ केभी लाइनबाट जुम्लामा विद्युत आपूर्ति भइरहेको थियो, अब यस सबस्टेसनबाट दिँदा जुम्ला र कालिकोटको विद्युत आपूर्तिमा सुधार हुने छ’, प्रमुख यादवले भने, ‘कुनै एक ठाउँमा अवरोध हुँदा पूरै क्षेत्रमा बत्ती जाने अवस्था पनि कम हुने छ ।’ हाल जुल्लामा समस्या आएमा कालिकोट र दैलेखको पनि बत्ती जाने अवस्था थियो ।

कर्णाली प्रदेशमा बिजुली पुगेपछि गायक तथा सङ्गीतकार मिलन लामाले गीतमा भने जस्तै ‘बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको’… अवस्था ‘आउनेछ र भनिनेछ ‘बत्ती बल्यो, बस्ती झुल्यो जुम्ला कालिकोटको…।’\

यो पनि…
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलक्षित ‘औद्योगिक हब’ बन्दै गनापुर
नदीजन्य पदार्थको उत्खननले जोखिममा कर्णाली



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन