English

‘कोरोनासँगै जनशक्ति तथा स्रोत–साधनको कमीले गर्दा सोचेजस्तो उपलब्धि भएन’



नेपालमा पहिलोपटक स्थानीय तहको निर्वाचन २०७४ मा भयो । स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि कोसेढुंगाको रूप लियो । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पुर्याउनका लागि ढोका खुला भयो । तर, स्थानीय तहका जनतालाई यसले के साँच्चिकै आफ्नै घर आँगनमा सिंहदरबार आएको अनुभव भयो त ? पहिलो पटकको स्थानीय निर्वाचनको पाँचवर्षे कार्यकाल कस्तो रह्यो ?, के–कस्ता उपलब्धि र चुनौती आए ? यिनै विषयवस्तुमा केन्द्रित रहेर लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीसँग मेरोलाइफस्टाइलकर्मी सरिता थारूले गरेको कुराकानी :

स्थानीय तहको पाँचवर्षे कार्यकाल कस्तो रह्यो ?

समग्रमा राम्रै रह्यो । पहिलो निर्वाचनबाट स्थानीय तहमा काम गर्दा नयाँ अनुभव भयो । पाँचवर्षे कार्यकाल सकिँदै छ । जनतालाई प्रतिबद्ध गरेका कामहरू क्रमिकरूपमा गर्दै गइरहेका छौँ ।

जनतालाई के–कस्ता प्रतिबद्धता गर्नुभएको थियो ?

हामीले भौतिक, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिएका थियौँ । सोहीअनुसार काम गरिरहेका छौँ ।

तपाईंले प्रतिबद्धता जनाउनुभएको काम कति पूरा भयो ?

बाटो निमार्णका क्रममा धेरै ठाउँमा ग्राभेल, १२ किलो मिटर कालोपत्रे र यो वर्ष थप २० किलोमिटर बाटो कालोपत्रे गर्नेछौँ । नगरपालिकाभित्र २० वटा नयाँ सार्वजनिक भवन निर्माण गर्यो । सामुदायिक तथा सरकारी विद्यालयमा कक्षा १० सम्म निःशुल्क शिक्षाको घोषणा गर्यौं । स्कुलमा पर्खाल निमार्ण, खानेपानी व्यवस्था, शौचालय निमार्ण लगायतका कार्य गर्यौं । स्वास्थ्य सेवाका लागि १० वटा आधारभूत सेवा निःशुल्क गरेका छौँ । १ हजार ५ सय श्ययाको अस्पताल बनाउने प्रक्रिया अगाडि बढाएका छौँ । स्वास्थ्य सेवामा औषधि खरिदका लागि बजेट र जनशक्ति पनि थपेका छौँ ।

अन्य प्रतिबद्धता कति पूरा भए ?

अझै धेरै काम गर्न बाँकी छ । प्रतिबद्ध गरेको सबै कामहरू पूरा भएको छैन । बहुवर्षीय योजना पनि छन् ती कार्यहरू क्रमिक रूपमा भइरहेका छन् । करिब दुई वर्ष त कोरोनाले प्रभाव पार्यो । यसका साथै जनशक्तिको पनि अभाव नै भयो जसकारणले स्थानीय तहमा जुन तीव्रताका साथ काम हुनुपर्ने हो त्यो हुन सकेन ।

केन्द्र र प्रदेश सरकारसँगको समन्वय कस्तो रह्यो ?

केन्द्र र प्रदेश सरकारसँग आवश्यक समन्वय भइरह्यो । तर, २०७२ को संविधानले स्थानीय तहलाई दिएको अधिकारमा कटौती भयो । जे–जति अधिकार थियो भरपुर मात्रमा सदुपयोग गर्नबाट वञ्चित रह्यौँ ।

स्थानीय तहको पहिलो अगुवाइ गरेपछि कस्ता चुनौतीहरू खेप्नुभयो ?

अवश्य पनि नेपालको स्थानीय तहलाई अगुवाइ गर्ने पहिलो मौका पायौँ । स्थानीय तहको काम कर्तव्यबारे स्पष्ट नीति बनिसकेको छैन । जसकारणले केन्द्र र प्रदेश सरकारबाट केही हस्तक्षेप भए । यसका साथै जनशक्ति अभाव, आवश्यक स्रोत साधनको कमी भयो । कोरोना महामारीबाट प्रभावित भयौँ । सोचेजस्तो उपलब्धि स्थानीय तहमा भएन ।

ती चुनौतीहरूलाई कम गर्न के गर्नुपर्ला ?

संविधानमा स्थानीय तहलाई दिएका अधिकार सदुपयोग गर्न दिनुपर्छ । स्थानीय तहका लागि समयमै नीति निमार्ण गर्न आवश्यक देखिन्छ । स्रोत, साधन, जनशक्ति व्यवस्थित गर्नुपर्ने हुन्छ । अधिकार अनुसारको स्रोत र साधनलाई स्थानीय तहले सदुपयोग गर्नु दिनुपर्छ ।

‘स्थानीय सरकार आएपछि घर–आँगनमा सिंहदरबार आउँछ’ भनिन्थ्यो, यहाँका जनताले कस्तो अनुभव गरेजस्तो लाग्छ ?

काम गर्ने क्रममा विभिन्न कमजोरी रहे होलान् । जनताले आशा गरेबमोजिम कामहरू अझै प्रभावकारी हुन सकेन होला । तर, स्थानीय तहमा गरिने कार्यहरूलाई हामीले सम्बोधन गरेका छौँ । पछिल्लो समयमा केन्द्रमा गरिने कार्यहरू यही गरिएको छ । पहिला भौतिक निमार्णका लागि जिल्ला विकास समितिमा जानुपर्ने बाध्यता थियो भने अहिले स्थानीय तहबाट नै गरिन्छ । यस्ता कार्यहरूले यहाँका सेवाग्रहीले केही राहत आवश्य पाउनुभएको छ ।

अन्त्यमा, आगामी नगरप्रमुख जो कोही भएता पनि उहाँलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?

आउने प्रमुख जो कोही भए पनि नगर र नगरबासीका हकहितका लागि अवश्य पनि राम्रो काम नै गर्नुहुनेछ । कोरोना महामारी, समयमा नीति नबन्दा, जनशक्तिको अभावले केही काममा बाधा पुग्यो । योजनाअनुरूप तीव्र गतिमा काम गर्न सकिएन । पाँच वर्षको अनुभवलाई आगामी दिनमा फेरि काम गर्ने मौका पाएमा सायद यो सिकाइबाट सुधार गर्दै बाँकी रहेका धेरै कार्य गर्नेछु । बहुयोजनालाई निरन्तरता दिनेछु ।

यो पनि…
पोखरामा दर्जनौँ आकांक्षी नेतृत्वको होडमा
प्रदेश–१ की एक्ली पालिका अध्यक्ष, जसले संघीयतालाई स्थापित गरिन्



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन