कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ
सोधिएको प्रश्नको जवाफ दिने हुति शासकले राखून्
प्रकाश सपूतले लेखेको, गाएको र निर्देशन गरेको नयाँ गीत ‘पिर’ विवादित छ । युट्युबमार्फत सार्वजनिक भएको यो गीतप्रति माओवादी केन्द्र र त्यसबाट विभाजित भएर छुट्टै पार्टी गठन गरेका नेताहरूले सार्वजनिक रूपमै आपत्ति जनाएका छन् ।
०५२ मा नेकपा माओवादीले शुरू गरेको सशस्त्र जनयुद्धबाट आफ्नै जीवनको गन्तव्य नभेटेका लडाकुहरूको हालको अवस्थालाई केन्द्रित गरी बनाइएको यो भिडियोसहितको गीतले माओवादी जनयुद्घमा लागेका केही व्यक्तिहरूको जीवन फेरिए आमजनता र जनयुद्घमा होमिएका लडाकुहरूको दैनिक जीवन झनै कष्टकर बनेको दर्शाउँछ ।
सरोकारवाला पार्टी र सरकारले समेत बेवास्ता गर्दा जनयुद्घका लडाकुहरू वैदेशिक रोजगारीदेखि देहव्यापारको दलदलमा फस्नुपरेको व्यथा यो गीतको मूल मर्म हो ।
माओवादी द्वन्द्वका नायक र उक्त द्वन्द्वको बलमा शक्तिमा आएका माओवादी नेता तथा केही कार्यकर्ताका लागि सपूतको ‘पिर’ ले पिर थप्ने काम गरेको छ । उनीहरूले उक्त गीतप्रति आपत्ति जनाउँदै उक्त गीत युट्युबबाट तत्काल हटाउनुपर्ने माग गरेका छन् । तर, सपूतले ‘जसले देशको व्यवस्था परिवर्तनका लागि लडे उनीहरूको आफ्नै अवस्था परिवर्तन नभएकाले आफूले उनीहरूको कथा समेट्ने प्रयास गरेको’ प्रष्टीकरण दिएका छन् ।
माओवादी नेताहरूले सपूतको यो गीतलाई लिएर जसरी धम्कीपूर्ण भाषा बोलेका छन्, त्यसले हाम्रा विशेषगरी कम्युनिस्ट स्कुुलिङमा हुर्केका वामपन्थीहरूलाई प्रश्न गरेको कदाचित मनपर्दो रहेनछ भन्ने प्रष्ट भएको छ ।
यसअघि, २०७५ मा एमालेले ‘लुट्न सके लुट…’ बोलको गीत बन्द गराएरै छाड्यो । पशुपति शर्माको उक्त गीत सत्तालक्षित थियो, सत्तामा थियो एमाले । यो गीतले एमालेका नेता र दासहरूको मगज एकसाथ खलबलिएको थियो ।
सपूतले यो गीतमार्फत जनयुद्घबाट नयाँ नेपाल बनाउँछौँ भन्नेहरूको अनुहार ऐनामा देखाइदिएका छन् । कम्युनिस्टहरू आफ्नो आलोचना पचाउन सक्दैनन् भन्ने कुरा सपूतको यो गीतले फेरि एकपटक प्रमाणित गरेको छ । हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू आज परिवारको पेट पाल्न देह बेच्दै छन् कि त विदेशी भूमिको तातो हावामा श्रम बेच्दै छन् । यो सत्य हो । यसबाट भागेर माओवादी उम्किने ठाउँ छ र ? भोलि यदि अर्को कुनै गायकले शिक्षक, क्रियापुत्री, पण्डित मारेको, निर्दोष जनता चढेको बस पड्काएको, पुल भत्काएको, धरोहर ध्वस्त पारेको र मन्दिरमा पिसाब फेर्न लगाएको जस्ता घटनाहरूलाई संकेत गर्नेगरी भिडियो सार्वजनिक गरेको स्थितिमा माओवादीले के जवाफ दिने ? कति जवाफ दिने ?
के नेपालका राजनीतिक दलका नेताहरू केवल आफ्नो भजन मात्र सुन्न चाहन्छन्, शेरबहादुर देउवा, केपी ओलीदेखि प्रचण्डसम्मलाई नजिकबाट नियाल्ने हो भने यस्तै देखिन्छ । उनीहरू स्तुतिमा रमाउने रोगले ग्रस्त भइसकेका छन् । आलोचना उनीहरूलाई फिटिक्कै मन पर्दैन । जनताको जीवनशैली परिवर्तन गर्छु भनेर कसम खाएर हिँडेका हाम्रा नेताहरूलाई केवल राजतन्त्रकालीन शैलीको जयजयकार मात्र मन पर्न थाल्नु आफँैमा विडम्बनापूर्ण लाग्छ ।
यसबाट आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेस पनि अछुतो छैन । कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा लागेर प्रजातन्त्रका लागि अहोरात्र खटेका प्रजातान्त्रिक सेनानी मगनी शाहले उपचार नपाएर मर्नुपरेको एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता उदाहरण कांग्रेसभित्र खोज्दै गए अनेक भेटिन्छन् । आफ्नो पार्टी सरकारमा रहेका बेला छोरालाई जागिर लगाउने आसमा काठमाडौं आएका झापा विद्रोहका डिकेन्द्र राजवंशीले एमालेको पार्टी कार्यालयमै झुन्डिएर आत्महत्या गर्नुपरेको घटना धेरै एमाले कमरेडहरूको स्मृतिमा ताजै होला कि नहोला ?
आज प्रसङ्ग माओवादीको छ । जनयुद्धको नाममा आफैंले हिजो प्रयोग गरेका सोझा–साझा जनतालाई चुसेर अहिले जुकाझैँ ढाडिएका प्रचण्ड लगायतको पार्टी नेतृत्वदेखि माओवादीका मन्त्री, माननीय र टाठाबाठाहरूको जीवन कुनै सम्भ्रान्त, शोषक र सामन्तहरूको भन्दा कम छैन । तर, उनीहरूलाई जंगलदेखि सिंहदरबारसम्म पुर्याएका गाउँका सोझासाझाहरूको अहिले कहाँ कुन स्थितिमा छन् भन्ने कुरा उनीहरू सुन्न पनि चाहँदैनन्, जसरी यो गीत उनीहरूले सुन्न चाहेनन् ।
हो, तस्कर र बिचौलियाहरूसँग संगतमा रहेको माओवादी नेतृत्व र टाठाबाठा कार्यकर्ताका लागि यो ‘पिर’ ले पार्नु पिर पारेको बुझ्न सकिन्छ । तर, कमरेड, यथार्थ यही हो । गीत सुन्न मन नलागे विकल्प छँदै छ नि कान थुन्ने । त्यतिले पनि नपुगे आँखा पनि छोप्ने ।
सपूतले त माओवादी नेतृत्वलाई विवेकको आँखा खोल्न मात्र आग्रह गरेका हुन्, त्यो पनि बन्दुक देखाएर होइन, बैंक लुटेर होइन, आफ्नो टिमको सिर्जनामार्फत् ।
सुकिला माओवादी नेतृत्वलाई हेक्का रहोस, यो गायक सपूतको मात्र सन्दर्भ होइन किनकी यो गीतले उसलाई प्रश्न मात्र गरेको छैन, विवेकपूर्ण जवाफ पनि खोजेको छ ।
हो, यदि माओवादी पंक्तिलाई सपूतको उक्त गीतको ‘वेश्यावृत्ति’ अंश मात्र मन परेको छैन र अन्य दृश्य र गीतका बोलमा आपत्ति होइन भने गायक सपूतसँग बसेर छलफल गरेर टुङ्गिने विषय हो यो ।
खासमा सपूतले यो अंशलाई भद्दा तरिकाले प्रस्तुत गरेका छन् । ‘नगरवधू’ को रूपमा देखाइएको अनुहारमा पनि विवाद् देखियो । तर, मुद्दा यो होइन । कुनै एउटा कलाकारको सिर्जनाबाट तर्सिएर सामाजिक सञ्जालमार्फत धम्कीको भाषा दिनुले असभ्यता नै सिद्घ गर्छ ।
तर, सामाजिक सञ्जालमा जिम्मेवार माओवादी नेताहरूले जसरी सपूतको विरुद्घमा जनयुद्घकालीन समयको ‘भाषा’ प्रयोग गरेका छन्, त्यसको निन्दाको कुनै सिमाना नै छै्रन ।
हाम्रा नेताहरूलाई प्रश्न सोधेको मन पर्दैन । तर, समाजले कुनै पनि बेला प्रश्न सोध्न सक्छ । सोधिएको प्रश्नको जवाफ दिने हुति राख्ने कि प्रश्न सोध्नेको टाउकोमाथि खुकुरी झुन्डयाउने ?
सपूतको यो प्रश्न केवल माओवादीे नेतृत्वलाई मात्रै होइन, हिजोदेखि आजसम्म सत्तामा रहेका कांग्रेस, एमाले लगायतका दलहरूमाथि पनि हो ।
यो पनि…
राजनीतिक दललाई पिरोलेका यी गीतहरू
‘गीतका सर्जकलाई किन धम्क्याउने ?’