English

बाबुरामको प्रतिवेदन : कुन दल कस्ता ?



जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संघीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ । जसपाको केन्द्रीय कमितिको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । केन्द्रीय समितिको बैठकअघि परिषद्को बैठक बसेको हो ।

प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको छ । दस्तावेजमाथि सामूहिक छलफल हुने जसपाले जनाएको छ । विसं २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जसपा बनेपछि पार्टीको पहिलो संघीय परिषद् बैठक हो ।

विभिन्न विषय समेटिएको ३२ पृष्ठको प्रतिवेदनमा राजनीतिक शक्तिको विश्लेषणका रूपमा नेपाली कांग्रेस नेपाल कम्युनिस्ट पार्टीका घटकहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबारे धारणा समेटिएको छ ।

प्रतिवेदनमा अध्यक्ष डा.भट्टराईले कांग्रेस वैचारिक दृष्टिकोणले उदारवादी-पूँजीवादी संसदीय लोकतान्त्रिका धारको नेतृत्व गर्ने पार्टीका रूपमा चित्रित गरेका छन् । कांग्रेसले प्रजातान्त्रिक समाजवादको नारा लिए पनि यसको व्यावहारिक अभ्यास गर्न नसकेको आरोप प्रतिवेदनमा लगाइएको छ ।

यस्तै नेपालमा धेरै कम्युनिस्ट समूह रहेका र नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत घटकहरू जसपाको दृष्टिकोणमा एउटै पेन्सिलका फरक-फरक टुक्रा मात्रै भएको प्रतिवेदनमा डा.भट्टराईले उल्लेख गरेका छन् ।

कांग्रेस र कम्युनिस्टको ब्रान्ड नामबाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको टिप्पणी गरेका डा.भट्टराईले उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष डा.भट्टराईले एकीकृत समाजवादीको एजेन्डा अझै प्रस्ट भइनसकेको र राप्रपा सानो शक्ति भए पनि विचारले सबभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको टिप्पणी गरेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको विचार, सिद्धान्त र एजेन्डा प्रस्ट नभएको उनको विश्लेषण छ ।

विवेकशील–साझा पार्टीको एउटा पङ्क्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवाहरू असन्तुष्ट रहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । जनमत पार्टीको वास्तविक राजनीतिक अभीष्ट के हुन् भन्ने अझै प्रस्ट नभएको उनको प्रतिवेदनमा उल्लेख छ ।

‘स्वतन्त्र मधेस’ को नाराबाट यो पार्टीको नेतृत्व चर्चामा आएको प्रतिवेदनमा भनिएको छ । यस्तै पूर्ववत् सरकार र वर्तमान गठबन्धन सरकारका बारेमा र पार्टीको एजेन्डाका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो पनि…
निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा
गठबन्धनको भविष्य चुनावमा निर्भर



सम्बन्धित खबरहरु

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन