English

‘हामीले चुनावी प्रतिबद्धताको ९५ प्रतिशत काम गरेका छौँ’



स्थानीय तह निर्वाचनको मिति निर्धारण भएसँगै जनप्रतिनिधिहरूको कार्यकाल अब केही समय मात्र बाँकी छ । जनप्रतिनिधिहरूले पाँच वर्षको अवधिमा आफूले वाचा गरेका कति काम पूरा गरे ? जनपक्षीय कामहरू कत्तिको भए ? यसै सन्दर्भमा विशाल बस्नेतले बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुर कार्कीसँग गरेका कुराकानी ।

कार्यकालको उत्तरार्द्धमा हुनुहुन्छ । बर्दिबास नगरपालिकाका मेयरले केही गरेनन् भन्ने मात्र आलोचना छ नि ?

अब आलोचना गर्नेलाई के पो भन्न सकिन्छ र ? उहाँहरू स्वतन्त्र नै हुनुहुन्छ । तर, बर्दिबास नगरपालिकाले यो पाँच वर्षको अवधिमा जति काम गरेको छ, जुन घोषणापत्रमा उल्लेख गरिएको झन्डै ९५ प्रतिशत काम हो । जसले गरेको छैन भन्छन् वडामा गएर हेर्न भनिदिनुस् ।

त्यसो भए आलोचना गर्ने वातावरण कसरी सिर्जना भयो त ?

आलोचना हुनु स्वाभाविक पनि हो । जति बढी आलोचना हुन्छ त्यति नै बढी जनतामा कति धेरै अपेक्षा रहेछ भन्ने पुष्टि पनि हुन्छ । जसले जनप्रतिनिधिलाई अझ जिम्मेवार हुन निर्देशित गरेको छ । हामीले हाम्रो कार्यकालभित्रै नगरपालिकालाई समृद्ध बनाउने आधार तयार गर्नेदेखि लिएर अन्य काम पनि सोही गतिमा अगाडि बढाइरहेका छौं ।

के-के काम गर्नुभयो र ?

नगरपालिकाको १४ वटै वडा कृषिमा आश्रित छन् । थोरै सहरी क्षेत्र र धेरै ग्रामीण बस्ती छन् । नगरलाई कृषिबाटै समुन्नत बनाउन हामीले विशाल मोडेल एग्रो भिलेजको परिकल्पना गरेका छौँ । कतिपय संरचना निर्माण भइसके भने कतिपय बन्ने क्रममा छन् । ८२ बिघा क्षेत्रफलमा फैलिएको यो मोडेल एग्रो भिलेजले जनताको समृद्धि र आर्थिक रूपान्तरणको एउटा सपना बोकेको छ । यसका विशाल संरचना बनेर कार्यान्वयनमा आउँदा कृषि पर्यटनको हिसाबले देशकै अग्रणी आकर्षण क्षेत्र बन्नेछ । नगरभरिका किसानहरूको कृषि उपजलाई भण्डारण गर्न हामीले भव्य शीत भण्डारणको स्थपना गरेका छौँ जुन संरचना बन्ने क्रममा छ । त्यसैगरी, आइटी सेन्टरको समेत व्यवस्थापन गरेका छौँ ।

मोडेल एग्रो भिलेज कहिलेसम्म तयार हुन्छ ?

मोडेल एग्रो भिलेजका अन्य महत्त्वपूर्ण अंगहरूमा उच्च प्रविधियुक्त हाइटेक नर्सरी जसले गुणस्तरीय बिरुवा उत्पादन र वितरणलाई ध्यान दिनेछ, जुन १००८ वर्गमिटरमा फैलिएको हुनेछ । निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । त्यसैगरी, मोडेल एग्रो भिलेजअन्तर्गतको महत्त्वपूर्ण अंग अघि भनेजस्तै विशाल शीत भण्डारण हो । जहाँ तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार गर्ने विशाल घर निर्माणको चरणमा छ ।

यही भिलेजअन्तर्गत प्लान्ट क्लिनिक तथा माटो परीक्षण केन्द्र स्थपना गरिनेछ । यसका लागि प्रक्रियासमेत अगाडि बढेको छ । हामीले यही क्षेत्रभित्रै मेसिनरी कस्टम हायरिङ सेन्टरको स्थपना गर्दैछौं । जसले किसानहरूलाई खेतीपातीमा यान्त्रीकरणको व्यवस्था हुनेछ र कम प्ररिश्रममै प्रशस्त उत्पादन हुने वातावरण निर्माण हुनेमा म ढुक्क छु ।

डिजिटल अक्सन मार्केटको पनि स्थपना गरिँदै छ । जसले किसानलाई बिचौलियाबाट मुक्त गराउने छ भने सबैभन्दा बढी मूल्य तिर्ने व्यापारीले किसानहरूले उत्पादन गरेको फसल खरिद गर्न सक्नेछन् । लगभग ४५ प्रतिशत काम भइसकेको छ अब ५५ प्रतिशत काम पनि तुरुन्त सम्पन्न गर्ने दिशामा हामी लागिपरेका छौँ ।

नगरभित्र यो गौरवको योजनाअन्तर्गत पर्छ ?

याे तमाम बर्दिबासवासीको समृद्धिको आधार हो । अरु पनि मोडेल एग्रो भिलेजका धेरै महत्वपूर्ण अंग छन् । हामी माछापोखरी तथा भुरा उत्पादन केन्द्र बनाउँदै छौँ । फसल व्यवस्थापन केन्द्रका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।

एनिमल ब्रिडिङ सेन्टरको माध्यमबाट हामीले किसानका घर-घरमा उन्नत जातका गाई-भैँसी उत्पादन गर्दैछौँ, यसैका लागि भर्खरै मैले हरियाना पुगेर उन्नत मुर्रा जातको ११ वटा राँगा छानेको छु । सम्भवत: यो छिट्टै नगरभित्र आइपुग्नेछन् । फोहोर व्यवस्थापनका लागि जैविक मल उत्पादन केन्द्र, प्रशासनिक तथा तालिम केन्द्र, कृषि र सूचनाका लागि आइसीटी सेन्टर जस्ता सबै प्रक्रिया अगाडि बढिसकेका छन् ।

तपाईंको कार्यकालमा सम्झनलायक अन्य काम के-के भए ?

सम्झनलायक अनेकौँ काम भएका छन् । पहिला त हामी सिकाइको क्रममा थियौँ । देशमा संघीयता स्थपना भएपछि हामीले नगरभित्र एउटा प्रणालीको विकास गरेका छौँ । हामीले घर-घरमा कृषि सहकारीको माध्यमबाट लगभग मलखादको अभाववाट मुक्त बनाएका छौँ । हरेक वडामा नगर जोड्ने शाखा सडक ढलान भएका छन् । हामीले वडा-वडाका समस्यालाई केलाएर प्रशस्त कृषि सडकदेखि सडक स्त्तरोन्नतिको काम गरेका छौँ। कैयौँ ठाउँमा सडक ढलान भएका छन् भने कयौँ हुने क्रममा छन् । कालोपत्र पनि त्यतिकै भएको छ । विकासका लागि सडक सञ्जाललाई मुख्य ध्यानमा राखेर सर्वसाधारणको समस्यालाई नजिबबाट नियाल्दै सडक सञ्जालमा उल्लेखनीय विकास भएको छ ।

नगरभित्रको विकट मानिने बर्दिबास-११ लाई अलि बढी ध्यान दिएका छौँ । सडक ढलान तथा कालोपत्रे पर्याप्त गर्न नसके पनि बजार जोड्ने विभिन्न शाखा सडकको स्त्तरोन्नतिदेखि फराकिलो बनाउनेसम्मका काम भएका छन् । अहिले पनि खयरमाराका भित्री बस्तीका लागि झन्डै ४२०० मिटर सडक सञ्जाल विस्तार गरेका छौँ । अब त्यहाँका जनताले खोलाबाट यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन् । सबै भित्री बस्तीलाई पायक पर्नेगरी निर्मल लामा बहुप्राविधिक विध्यालयमा सडक निकाल्ने गरी काम थालेका छौ ।

स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको व्यापक जनगुनासो छ नि ?

हामी स्थानीय सरकार भएको हैसियतले जनताका अपेक्षा स्वाभाविक पनि हो । स्वास्थ्य क्षेत्रमा परिवर्तन भएको छ । हामीले कठिन संघर्षका साथ अस्पतालको भव्य भवन निर्माण गरेका छौँ । दुईजना विज्ञ डाक्टर, नर्स र कर्मचारी नियुक्त गरेपछि हामीले अस्पतालमा २४ घन्टे सुविधाको व्यवस्थापन गरिसकेका छौँ । अहिले अस्पतालमा अन्य निजी अस्पताल जतिकै सुविधा हुँदाहुँदै पनि आकर्षण अझै निजी अस्पतालमा नै रहेको मैले पनि महसुस गरेको छु । हामी अझै पनि स्वास्थ्य क्षेत्रका समस्यालाई केलाउँदै छौ ।

निजी अस्पतालमा उपचार गराउन नसक्ने सर्वसाधारणका लागि बर्दिबास अस्पतालले राहत प्रदान गरेको छ । वडा-वडामा स्वास्थ्य चौकीको गुणस्तरलाई ध्यान दिएका छौँ । स्वास्थ्य भवन सवै वडामा निर्माण गरेका छौँ । नर्स तथा स्वास्थ्यकर्मीको अभावलाई ध्यानमा राख्दै अहिले वडा-वडामा पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्थापन गरेका छौँ । प्रसूतिका लागि अहिले बर्थिङ सेन्टर बनाएर टाढा-टाढा जानुपर्ने बाध्यताबाट मुक्ति दिलाएका छौँ ।

खानेपानीको क्षेत्रमा के-के उन्नति भयाे ?

खानेपानीमा हामीले विशाल फड्को मारेका छौँ । पाटुदेखि खयरमारासम्म खानेपानीको विकास भएको छ । खयरमारामा अहिले भर्खरै रोटरी क्लवको सहकार्यमा दुई सय घरधुरीलाई पानीको समस्याबाट मुक्त बनाउने दिशामा उन्मुख भएका छौँ । यसअघि, पनि हामीले खानेपानीको चरम अभाव रहेका वडाहरूको पहिचान गरी काम अगाडि बढाएका थियौँ । कतिपय कमजोरी त हामीबाट पनि भएका हाेलान् । सम्पूर्ण आलोचनालाई मैले कहिल्यै नराम्राे रूपमा हेरिनँ । काम गर्दै जाँदा कतै ढिला कतै छिटो भएको पक्कै हो ।

शिक्षाको विकासमा नगरपालिकाले के-के गर्‍यो ?

शिक्षाकाे विकासमा फड्को मारेका छौँ । तर, सन्तुष्टि भइहाल्ने आधार पक्कै हैन । तर, हामीले हाम्रो कार्यकाल शुरु गरेपछि निकै परिवर्तन गरेका छौँ । यसकाे श्रेय म गिरिराजमणि दाइलाई पनि दिन चाहन्छु । हामीले हरेक विध्यालयमा प्राविधिक धारका कक्षा सञ्चालन गरेका छौँ । अहिले साँच्चै भन्ने हो भने बर्दिबास शैक्षिक हव नै बनेको छ । देशैभरिका विध्यार्थीहरूका लागि अध्ययन गर्ने थलो बनेको छ । पूर्वदेखि पश्चिमका विध्यार्थीहरू अहिले अध्ययनका लागि बर्दिबासमै आइपुग्छन् । प्रदेशकै नमुना प्राविधिक विध्यालयदेखि हरेक कुनाकाप्चाका विध्यालयमा हामीले ध्यान दिएका छौँ । हामीले ६२ जना शिक्षक एकैपटक नियुक्त गरी अध्यापनका लागि पठाएका छौँ ।

यो पनि…
स्थानीय तहमा महिला : संख्या कम, काममा अब्बल
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन