English

‘कञ्चनवनमें राम खेलैय होरी’



‘कञ्चनवनमें राम खेलैय होरी…हो, कञ्चनवनमें’ आज भङ्गाहा नगरपालिका–९ कञ्चनवन ‘होरी उत्सव’ मा उमङ्गित छ । एकाबिहानै मिथिला माध्यमिकी परिक्रमाका यात्री कञ्चनवन पुग्न थालेसँगै यहाँ ‘होरी उत्सव’ का गीत गुञ्जिन थालेका हुन् ।

कञ्चनवन वरिपरिका बस्तीमा आज घरघरमा चटारो छ । मध्याह्न शुरु हुने ‘होरी महोत्सव’ को घरघरै चर्चा छ । ‘ए मखानपुरवाली, तिमीले घरकाज सक्यौ, नानीहरूका लागि ख्वाउने प्याउने इन्तिजाम मिलाइसक्यौ ?’ एक गृहिणीले छिमेककी अर्की गृहिणीलाई सोध्ने आजको आमप्रश्न बनेको छ । अवधविहारी (श्रीराम) र किशोरीजी (श्री जानकीजी) को परिक्रमा डोला आइपुग्नासाथ गृहिणी घरको काम जे बाँकी छ, त्यो थाति राखेर कञ्चनवन दौडन्छन् । सबैको एउटै लय, एउटै स्वर १ ‘कञ्चनवनमें राम खेलैय होरी…हो, कञ्चनवनमें..११’

अघि, त्रेता युगमा श्रीराम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्रको भ्रमण गर्ने क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ अबिर खेलेका विश्वासमा यहाँ सो दिन ‘होरी उत्सव’ को परम्परा चलेको मानिन्छ । ‘श्रीराम आ जानकीजी अजुके दिन कञ्चनवनमें होरी खेल्ने रहे’, (श्रीराम जानकीले आजकै दिन कञ्चनवनमा होरी खेलेका थिए) कञ्चनवनसँगै जोडिएको हरिणमरी बस्तीका आज होरी उत्सवमा सहभागी हुन जाने तयारीमा रहेका ८५ वर्षीय जितन यादव भन्नुहुन्छ, ‘ओहिके यादमें अई ठाम परिक्रमाके आठम दिन होरी उत्सव मनाओल जायत अछि, हमहुँ जेवाक तयारीमें छी’ त्यसैको सम्झनामा यहाँ परिक्रमाको आठौँ दिन होरी उत्सव मनाउने गरिएको हो, म पनि जाने तयारी गर्दै छु ।

कञ्चनवनमा परिक्रमा यात्री सखारै पुग्न थाले पनि ‘होरी उत्सव’ भने मध्याह्न कटाएर सुरु हुन्छ । यस भेगका जनजन परिचालन हुने यो खास पर्व बन्दै आएको छ । आज यस भेगका बस्तीबस्तीमा डुलन्ते व्यापारी साइकल खट्खटाउँदै विभिन्न रङ्गका अबिर पोका बेच्न घरघर डुल्दै छन् । ‘अबिर लियौ अबिर १’ व्यापारीको स्वर घरका कोठाचोटासम्म पुग्छ । रातो, हरियो, निलो, पहेँलो र अन्य विभिन्न रङका पोकाको जोहो घरघरै हुन्छ । मध्याह्नअघि खानपिन सकेर चहकिला वस्त्रमा सजिएर मठतिर निस्कनेको ताँती लाग्छ । होरी गीत गाउँदै झुम्दै ।

‘हो…किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरी…१’ एकपक्षको यो स्वरमा लय मिलाउँदै ‘रामजीके हात कनक पिचकारी, सीयाजीक हातमें अबिर झोरी…हो…खेलैय होरी…११’ को जवाफ फर्कन्छ । मिथिलामा श्रीपञ्चमीसँगै अतिथि सत्कारमा रङ अबिरको प्रयोग थालिए पनि जनजनले खेल्ने ‘होरी’ भने कञ्चनवनबाटै प्रारम्भ हुने परम्परा छ ।

कञ्चनवनमा अवधविहारी र किशोरीजीको डोला पुगेर बिसाइएपछि सर्वसाधारणले दर्शन र पूजाआराधना गरेर अबिर चढाउँछन् । यो विधि सम्पन्न भएसँगै होरी उत्सव मेलामा पुगेका सर्वसाधारणले यात्रीलाई आदरपूर्वक अबिर लगाइदिने क्रम शुरु हुन्छ ।

एकअर्कालाई अबिर लगाएर कल्याण र आनन्दको कामना गरिने यो पर्व उल्लाससाथ मनाइन्छ । कञ्चनवनको होरी उत्सव मनाउन भङ्गाहा नगरपालिकाले आज सार्वजनिक बिदाको घोषणा गरेको छ ।

कञ्चनवनमा आज ‘होरी उत्सव’ मनाउन मिथिला क्षेत्रका ख्यातिप्राप्त सङ्गीत कला प्रतिष्ठानले होरी गायन कार्यक्रम आयोजन गरेका छन् । फागुन औंसीका दिन धनुषाको ठेराकचुरीबाट शुुरु हुने परिक्रमा फागुन पूर्णिमाका दिन जनकपुर पुगेर अन्तगृह परिक्रमापछि समापन हुन्छ । यस यात्राको आठौँ दिन कञ्चनवनको विश्राम ‘होरी उत्सव’ कै परम्पराले खास बन्दै आएको पाका मैथिल बताउँछन् ।

यो पनि…
खुसी साटासाट गरी मनाइँदै होली
मिथिला पर्व र परम्परा लोप हुँदै गएकामा बुढापाका चिन्तित



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन