English

गैंडा मरेको मर्‍यै, सरकारको छैन ध्यान [तथ्यांकसहित]



चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष २०७८/७९ को हालसम्म ३० वटा दुर्लभ एकसिंगे गैंडा मरेका छन् । यस आवको आठ महिना पनि पुग्न नपाउँदै चोरी सिकारीले मारिएका दुईसहित ३० वटा गैंडा मरेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा ती गैंडा मरेका हुन् । गत आव २०७७/७८ मा ३३ वटा गैंडा मरेका थिए । त्यसअघि आव २०७६/७७ मा २६ गैंडा मरेका थिए । यस आवको माघ र फागुनमा मात्रै ११ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनकाअनुसार खोलाले बगाएर र दलदलमा भासिएर आठ, आपसमा जुधेर आठ, प्राकृतिक कारणले ६, बाघको आक्रमणबाट पाँच, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीले एउटा गैंडा मरेका हुन् ।

साउन ११ गते लिङ्ग पहिचान हुन नसकेको एउटा गैंडा माडीको घाँघर क्षेत्रमा मृत अवस्थामा फेला परेको थियो । गैंडाको खाग काटिएको थियो । उक्त गैंडा चोरी सिकारीले मारेको तिवारी बताउँछन् ।

त्यसैगरी असोज ११ गते धोबाहा क्षेत्रमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला पर्‍यो । त्यसको पनि खाग चोरी गरिएको थियो । दुई वटा गैंडाको चोरी सिकारीमा संलग्न पाँच प्रतिवादीमध्ये दुई जनालाई पक्राउ गरिएको र अझै तीन जना फरार रहेको उनले बताए ।

माघ र फागुनबाट बाघको आक्रमणबाट चार गैंडाको मृत्यु भएको हो । बाघमारा पोस्टको काभ्रे ताल र खेरियामुहान क्षेत्रमा लिङ्ग पहिचान नभएका दुई गैंडा बाघको आक्रमणबाट मरे । सौराहा र सिसुवार मध्यवर्ती क्षेत्रमा करिब चार/चार महिनाका दुई पोथी गैंडा मरेका हुन् ।

त्यसअघि मंसिर ४ गते घटगाई क्षेत्रमा बाघको आक्रमणबाट डेढ वर्षको भाले गैंडा मरेको थियो । आपसमा जुधेर आठ गैंडाको मृत्यु भएको अनुमान गरिएको तिवारी बताउँछन् ।

सौराहा क्षेत्रको ठूलो घोल क्षेत्रमा साउन ७ गते आपसमा जुधेर करिब २२ वर्षको भाले गैंडा मर्‍यो । कात्तिक ६ गते नवलपुरको भुताहा मध्यवर्ती वनमा र कात्तिक ११ गते सौराहा क्षेत्रको २ नं मचाननेर एक–एक गैंडाको मृत्यु भएको थियो । त्यसपछि मंसिर ५ गते सौराहा क्षेत्रकै डुंगाघाटमा आपसमा जुधेर करिब २२ वर्षको पोथी गैंडा मर्‍यो ।

काभ्रे ताल क्षेत्रमा माघ १ गते भालेको आक्रमणबाट दुई वर्षको पोथी गैंडा मरेको थियो । माघ १२ गते सुरुङ खोला क्षेत्रमा एउटा भाले र फागुन ४ गते सिसुवार मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैंडा आपसमा जुधेर मरेको उनले बताए ।

चैतमा सार्वजनिक विवरणअनुसार नेपालमा ७५२ वटा गैडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैंडा छन् । गैंडाको संख्या बढ्दै जाँदा एक ठाउँमा जम्मा भएर आपसमा जुधेर गैंडा मर्ने गरेका निकुञ्ज बताउँछ ।

फागुन १४ गते कुजौली पोस्ट नजिकै शुक्ला घोल क्षेत्रमा करिब २० वर्षको एउटा भाले गैंडा जुधेर मरेको थियो । पछिल्लो पटक फागुन १९ गते नवलपुरको कृष्णसार मध्यवर्ती वन क्षेत्रमा करिब २८ वर्षको पोथी गैंडा प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए ।

चालु आवमा प्राकृतिक कारणले मात्रै १४ वटा गैंडा मरेको उनी बताउँछन् । ‘सिमसार क्षेत्र र दलदलमा भाँसिएर मर्ने गैंडाको संख्या पनि बढी छ’, उनी भन्छन्, ‘बाढीले बगाएर पनि बच्चा गैंडा मर्ने गर्छन् । चालु आवमा बाढीले बगाएर र बुढो भएर चार गैंडा मरेका छन् ।’

मानवीय लापरबाहीका कारण माघ ९ गते खाडलमा परेर करिब १२ वर्षको भाले गैंडा मरेको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गतको वनदेवी वरण्डाभार मध्यवर्ती वन क्षेत्रको टिकौली जंगलनजिक सडक नालीको खाल्डोमा परेर गैंडा मरेको हो ।

उक्त गैंडा मरेको विषयमा छानबिन गर्नका लागि वन मन्त्रालयले समिति नै बनाएको थियो । समितिले गैंडा मर्नुमा निकुञ्ज प्रशासन, सडक डिभिजन र निर्माण व्यवसायी सबैको गल्ती रहेको औँल्याएको छ । घटनाको छुट्टै अनुसन्धानका लागि निकुञ्जले राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

गैंडाको संरक्षणको लागि वासस्थान व्यवस्थापन नै प्रमुख चुनौतीका रूपमा रहेको तिवारी बताउँछन् । ‘गैंडा बाहिर गाउँवस्तीमा निस्कँदा गैंडा र मानवबीच द्वन्द्व सिर्जना हुने अवस्था छ । त्यसकारण गैंडालाई वन जंगलमै कसरी सीमित गर्ने भनेर अलिकति ध्यान दिन आवश्यक देखिन्छ’, उनले भने ।

गत वर्ष चैतमा सार्वजनिक विवरणअनुसार नेपालमा ७५२ वटा गैडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैंडा छन् । गैंडाको संख्या बढ्दै जाँदा एक ठाउँमा जम्मा भएर आपसमा जुधेर गैंडा मर्ने गरेका निकुञ्ज बताउँछ ।

यो पनि…
वर्षेनी गैँडा मरेको मर्यै, सम्बन्धित निकाय भने मौन
विद्युत् विस्तारमा २५ हजार रूख काटिँदै, स्थानीयलाई चिन्ता



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ