युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’
रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ ले पर्वत जिल्लामा कृषि पर्यटनको विकास गर्न थालेको छ ।
जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रलाई कृषि पर्यटनका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ । उक्त क्षेत्रबाट वैदेशिक रोजगारीका सिलसिलामा हङकङ, बेलायतलगायतका क्षेत्रका गएका स्थानीय प्रवासीले अभियान सञ्चालन गरेका हुन् ।
शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र पर्यटनलगायतका विषयलाई अवधारणाका रूपमा अघि सारेर अभियान सञ्चालन गरेको चार भञ्ज्याङ तमु समाजले परियोजना नै निर्माण गरेर कार्यान्वयनमा ल्याएको हो ।
गाउँ बस्ती सहरीकरणको खोजीमा खाली हुँदै गएपछि गाउँवासीलाई गाउँमै रमाउने बनाउने मुख्य उद्देश्यका नयाँ अवधारणा अघि सारिएको तमु समाज बेलायतका अध्यक्ष मदन गुरुङले जानकारी दिए ।
उनले यसअघि विद्यालयका जीर्ण भवन निर्माण गर्ने र अत्याधुनिक प्राविधिक शिक्षा सञ्चालनका लागि समेत सहयोग गरिसकेको स्मरण गराउँदै पर्वत मै पहिलोपटक परियोजनाअन्तर्गत टेलिमेडिसिन सेवा सञ्चालन गरेको बताए । समाजको पहलमा निर्माण भएको टेलिमेडिसिनमा अहिले दैनिक ५० देखि १०० सम्म बिरामीले सेवा लिइरहेका छन् ।
समाजका पूर्वअध्यक्ष चन्द्र गुरुङले गाउँको विकासका लागि आफूहरू गाँस काटेर जम्मा गरेको रकम र विभिन्न प्रतियोगितामा सहभागी भएर प्राप्त पुरस्कार रकमलाई समेत परिचालन गरेर गाउँको विकासमा लगानी गरिएको बताए ।
फलेवास नगर प्रमुख पदमपाणि शर्माले चार समाज, फलेवास र महाशिलाका विभिन्न वडामा सञ्चालन गरेका कार्यक्रमले समुदायका विपन्न वर्गले प्रत्यक्ष सेवा पाएको बताए ।
फलेवासका वडा नं ८ र ९, महाशिला–६ र ५ मा स्थायी घर भई हाल विदेशमा रहेका गुरुङ समुदायले आफ्नो गाउँको विकास र समृद्धिका लागि तमु समाजमार्फत विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएका छन् ।
समाजले उपलब्ध गराउने सुविधा सबै जाति तथा विपन्न समुदायका लागि गर्दै आएको समाजका संस्थापक अध्यक्ष नारायणप्रसाद गुरुङले जानकारी दिए । हाल समाजले उच्च मूल्यमा बिक्री गर्न सकिने फलफूललगायत आधुनिक कृषि प्रविधिको विकास तथा पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारेको छ ।
अभियान सञ्चालनको पूर्वतयारीअनुरुप चार भञ्ज्याङ क्षेत्रका फलामखानी, जलजला, चिसापानी, थाम्मेथुम, देवीस्थानलगायतका ७०० मिटर उचाइबाट करिब दुई हजार मिटर उचाइसम्मको दूरीमा माटो परीक्षणसमेत गरिएको छ ।
योजनाविज्ञ डा.योगेन्द्र रिजालले यस क्षेत्रमा ओखरखेतीलाई मुख्य खेतीका रूपमा प्रवर्द्ध्न गर्ने गरी परीक्षण गरिएको र उक्त ओखरखेतीको सम्भाव्यता रहेको बताए ।
कार्यक्रममा कृषिविज्ञ नीलकण्ठ शर्माले विभिन्न क्षेत्रमा पुगेर तयार गरेको फलफूल खेती सम्भाव्यता प्रारम्भिक अध्ययन प्रतिवेदन पेश गरेका थिए ।
यो पनि…
खानेपानीले हाहाकार बनेको गाउँ हरियाली
मौसमी र बेमौसमी खेतीले थारू महिलामा खुसी भर्दै