चिठ्ठीपत्रविहीन हुलाकघर
झण्डै दुई दशकअघिसम्म पाल्पाका गाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो । गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिठी आयो भन्ने खुल्दुलीले मानिसहरू झुम्मन्थे । यो पछिल्ला पुस्ताका लागि भने एकादेशको कथा जस्तै बनेको छ ।
टाढाको नयाँ खबर, सन्देश लिएर आउने हुलाकी तत्कालीन समयको आशाको केन्द्र थिए । समुद्रपारि पुगेको छोरो होस् या घरदेखि टाढा गएका आफन्त, सबैको खबर उनै हुलाकी दाइले झोलामा बोकेर ल्याउँथे । कहिले हुलाकी आउलान् र, समुद्रपारि रहेको छोराको खबर पाइएला भन्ने बाटो हेर्दै बसेको क्षण अहिले ताजै रहेको रामपुरकी लक्ष्मी तिवारी बताउँछिन् । उनी भन्छिन् ‘गाउँमा हुलाकी दाइ टाढैबाट आएको देख्दा पनि मन फुरुङ्ग हुन्थ्यो, पक्कै पनि मेरै छोराको खबर बोकेर आए भनेर खुशीले मन गद्गद हुन्थ्यो, चिठी हात परेपछि हतार हतार खोलेर गाउँमा पढेलेखेका छिमेकीलाई पढ्न पठाइन्थ्यो, छोराको सन्चो बिसन्चो खबर पाउँदा मन आनन्द हुन्थ्यो, काम गर्न जाँगर आउँथ्यो ।’
अहिले जमाना फेरिँदै जादा देशप्रदेशमा रहेका छोराछोरी, आफन्त, मावली, साथीभाइको खबर सुन्न हुलाकी दाइ आउने बाटो पर्खेर बस्नुपर्ने परिस्थिति फेरिएको छ । मोबाइलमा आफूलाई मन लागेको समय भर्चुअल माध्यमबाट आमनेसाने कुरा गर्न पाउँदा आश्चर्य लाग्ने गरेको उनी बताउँछिन् । ‘कति छिटो समय परिवर्तन भयो, घरघरमा इन्टरनेट आए, मोबाइल, कम्प्युटर, ल्यापटप प्रयोगकर्ता बढ्दै गए, हामीजस्ता निरक्षर उमेर ढल्केका पनि आधुनिक प्रविधितिर आकर्षित हुन थाल्यौँ, धेरै सुख सुविधाका दिन आएछन्’, उनले भनिन् ।
मोबाइलमा फेसबुक खोलेर घरदेखि टाढा रहेकासँग भिडियो कल गरेर कुराकानी गर्दा उनीहरूसँगै बसेर गफ गरेजस्तो अनुभूति हुने गरेको शान्तिदेवी रेग्मी बताउँछिन् । ‘आफन्तसंँग गफ गर्न मन लागेपछि नातिनातीनाले फेसबुक खोलेर कुराकानी गर्ने वातावरण मिलाइदिन्छन्, घरमै बसीबसी फोटो हेर्दै कुराकानी गर्न पाउँदा जमानाले छिट्टै फड्को मारेछ भन्ने लाग्छ, फेसबुक म्यासेन्जरमा घण्टौँसम्म कुरा गरे पनि पैसा सकिने रहेनछ, पहिलाको हाम्रा दुःखका कहानी सुनाउँदा अबका सन्तति दङ्ग पर्छन्’ , उनले भनिन् ।
क्षणभरमै खबर आदानप्रदान गर्न मिल्ने इमेल, इन्टरनेटको प्रयोग र विस्तारसँगै अब चिठी लेख्नलाई कापी र कलम खोजिराख्नुपर्दैन । नयाँ प्रविधिले भौगोलिक दूरी मेटिदिएको छ । स्काइप, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जाल र मोबाइलबाट छिनछिनमा भर्चुअल भेटघाट, कुराकानी भइरहेको हुन्छ । यिनै प्रविधिले हुलाकको महत्त्व विस्थापन गर्दैछ र हुलाक सेवा प्रयोग कम हुँदै गएको छ । हुलाकलाई समयानुकूल बनाउन सरोकार निकाय उदासीन बन्दा अहिले यसको काम सरकारी कागजात ओसारपसार गर्ने र केही कुरियर सेवा दिनमा सीमित छ ।
आफन्तसंँग गफ गर्न मन लागेपछि नातिनातीनाले फेसबुक खोलेर कुराकानी गर्ने वातावरण मिलाइदिन्छन्, घरमै बसीबसी फोटो हेर्दै कुराकानी गर्न पाउँदा जमानाले छिट्टै फड्को मारेछ भन्ने लाग्छ, फेसबुक म्यासेन्जरमा घण्टौँसम्म कुरा गरे पनि पैसा सकिने रहेनछ, पहिलाको हाम्रा दुःखका कहानी सुनाउँदा अबका सन्तति दङ्ग पर्छन्
सहरदेखि गाउँका कुनाकाप्चासम्म पुगेको टेलिफोन, मोबाइल, इन्टरनेट जस्ता आधुनिक नयाँ सञ्चार प्रविधिका कारण हुलाक सेवा विस्तारै इतिहास बन्दै जाने खतरा सिर्जना भएको छ । हुलाक कार्यालयमा सञ्चालित आधुनिक सेवाको स्वरुप टेलिसेन्टरमा सर्वसाधारणलाई फोन, इमेल, इन्टरनेट, फोटोकपी, फ्याक्सजस्ता सुविधा पाइए पनि हातहातमा मोबाइल र इन्टरनेटको सहज पहुँचले ती टेलिसेन्टरसम्म धाउन छाडिसकेका छन् ।
प्राचीन समयमा एक स्थानका मानिसले अर्को स्थानका मानिससमक्ष चिट्ठीपत्रद्वारा खबर आदानप्रदान गराउने माध्यमका रुपमा हुलाकको जन्म भएको इतिहास पाइन्छ । यसपूर्व घोडा, परेवा, बाजलगायत पशुपक्षीद्वारा सन्देशमूलक चिट्ठीपत्र इच्छाइएका व्यक्तिसमक्ष पु¥याइने गरिन्थ्यो । आदिमकालीन सभ्यता, लिपि आदि हेर्दा प्राचीनकालमा एक स्थानबाट अर्को स्थानसम्म चिट्ठीपत्र, वस्तु र नगद पु¥याउने माध्यमका रूपमा हुलाकलाई प्रयोगमा ल्याइएको देखिन्छ ।
दूरदराजसम्म पहुँच रहेको र नागरिकको सबैभन्दा लोकप्रिय सञ्चारको पुरानो माध्यम हुलाक कार्यालयका कर्मचारीलाई कार्यालयमा चिट्ठीपत्रको कामले भ्याईनभ्याई हुन्थ्यो । अहिले भनेसूचना प्रविधिको पहुँच गाउँगाउँमा पुगेपछि व्यक्तिगत प्रयोेजनका चिट्ठीपत्र आदानप्रदान हटेको छ । हिजोआज भने कार्यालयबाट धेरै टिकट बिक्री हुने गरेको कर्मचारी बताउँछन् ।
स्थानीय तहमा सरकारी कार्यालयको सेवा विस्तार हँुदै जाँदा टिकटको कारोबार बढेको इलाका हुलाक कार्यालय रामपुरमा कार्यरत हल्करा चित्रकला श्रेष्ठले बताले बताइन् । यहाँको कार्यालयमा दिनमा बढीमा चार हजार ४०० सम्मको टिकट बिक्री भएको तथ्याङ्क छ । ‘व्यक्तिगत प्रयोजनका चिट्ठीपत्र अहिले कार्यालयमा आउँदैन, गाउँमा सरकारी कार्यालय विस्तार हुने क्रम बढेपछि टिकटको कारोबार धेरै हुन थालेको छ, दैनिकजसो कम्तीमा १५० सम्म टिकट जाने गरेको छ’, उनले भनिन् ।
रामपुरको हुलाक कार्यालयमा १३ वर्षदेखि निरन्तर काम गर्दै आएकी श्रेष्ठले हिजोआज पत्रपत्रिका आउने क्रम घटेको र कार्यालय प्रयोजनका कागजपत्र नियमित रुपमा आउने गरेको जानकारी दिइन् । यहाँको कार्यालयमा दैनिक तीन देखि २० जनासम्म सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ । कार्यालयमा सेवाग्राहीको उपस्थिति कम हुँदै जाँदा कर्मचारीलाई पनि काममा व्यस्तता छैन । अहिले हुलाकघर चिठ्ठीपत्रविहीन जस्तै छ ।
कार्यालयको डाँक बोक्ने सवारी साधन भएमा तत्काल चिट्ठीपत्र, पत्रपत्रिका, कागजात पु¥याउन सकिन्थ्यो, सार्वजनिक गाडीमा पठाउँदा समयमा नै कागजपत्र नपुग्ने समस्या छ ।
रामपुरमा तीन वर्षअघि पाँच आना एक दामको क्षेत्रफलमा चार कोठासहितको दुईतले भवन निर्माण गरी हुलाक सेवा प्रवाह भइरहेको छ । नयाँ भवन बनेपछि प्रशासनिक कामकाज गर्न सहज बनेको छ । इमेल, इन्टरनेटको सुविधा गाउँगाउँमा पुग्न थालेपछि देशविदेशमा रहेका आफन्त, साथीभाइलाई खबर सन्देश पठाउन चिट्ठीपत्र खसाल्न कार्यालयमा आउने सेवाग्राही घटेको कार्यालय प्रमुख ज्ञानेन्द्र ढकाल बताउँछन् ।
एक डाकमा एक सयभन्दा बढी पत्रपत्रिका आउने गरे पनि कोभिड –१९ को प्रभावले अहिले कम आउने गरेको हुलाकी उमा रेग्मी बताउँछिन् । उनका अनुसार जिल्ला हुलाक कार्यालय पाल्पाबाट रामपुरसम्म पत्रपत्रिका आइपुग्न दश दिनसम्म लाग्ने गरेको छ । कोभिड सङ्क्रमणअघिसम्म दैनिकजसो डाँक आइपुग्ने गरेको उनी बताउँछिन् । कार्यालयमा एक कार्यालय प्रमुख खरिदार, एक हल्करा र दुई हुलाकी कार्यरत छन् । स्थायी दरबन्दीमा भने कार्यालय प्रमुख र एक हुलाकी छन् ।
सञ्चारका माध्यमद्वारा आपसी सद्भाव एवम् भाइचारा वृद्धि, आर्थिक एवम् सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ हामीकहाँ विसं १९३५ देखि हुलाक सेवाको स्थापना र सञ्चालन गरिएको हो । विश्वभरि नै हुलाक परम्परागत सेवा मात्र प्रवाह गर्ने संस्थाका रूपमा मानिन थालेको देखिन्छ । पछिल्ला दिनमा यसलाई आधुनिक र व्यवासायिक बनाउन नसकिएकै कारण वितरित सेवाप्रति विश्वसनीयतामा कमी आएको अनुभूति हुन्छ ।
पाल्पामा जिल्ला हुलाक कार्यालयसहित विभिन्न पालिकामा १३ इलाका हुलाक कार्यालय र ५२ अतिरिक्त हुलाक कार्यालय सञ्चालित छन् । रामपुर, निस्दीको सहलकोट, रम्भाको हुँगी, ताहुँ, बगनासकालीमा आर्यभन्ज्याङ्ग, माथागढीको झडेवा, तानसेनमा मदनपोखरा र अर्गली इलाका हुलाक कार्यालयबाट सेवा दिइएको छ । रिब्दिकोट गाउँपालिकामा खस्यौली र पालुङ्गमैनादी, रैनादेवी छहरा गाउँपालिकामा छहरा र बल्डेङ्गढी तथा पूर्वखोलामा जल्पा इलाका हुलाक कार्यालय छन् । इलाका हुलाक कार्यालय दैनिक बिहान १० देखि साँझ ५ बजेसम्म खुला रहनेछ ।
अतिरिक्त हुलाक कार्यालयले डाँक आदानप्रदान गर्ने भएकाले दैनिक दुई घण्टा कार्यालय खुला रहन्छ । चिट्ठीपत्र वितरण गर्ने तथा कार्यालयमा चिट्ठीपत्र दर्ता गर्न ल्याएमा पायक पर्ने इलाका हुलाक कार्यालय अर्थात् जिल्ला हुलाक कार्यालयसमक्ष पु¥याउने कार्य अतिरिक्त हुलाक कार्यालयबाट भइरहेको छ । जिल्ला हुलाक कार्यालय (इलाका र अतिरिक्त हुलाक कार्यालयसहित) अन्र्तगत ८५ स्थायी कर्मचारीको पाल्पामा दरबन्दी रहे पनि हाल ४० जना मात्रै स्थायी दरबन्दीमा कार्यरत छन् । रिक्त दरबन्दी पदपूर्ति हुन नसक्दा सेवा प्रवाहमा कार्यालयलाई समस्या परेको छ ।
जिल्ला हुलाक कार्यालयबाट चिट्ठीपत्र आदानप्रदान, दुई किलोभन्दा बढी सामान भए पनि लैजाने पुलिन्दा सेवा, हुलाक बचत बैंक (बैंकले जस्तै सेवा दिने, नागरिकको बचत सङ्कलन) सेवा दिइएको छ । स्थानीय पत्रपत्रिका निःशुल्क चलानी र नवीकरण गर्ने, पत्रकारको प्रेसकार्ड अनलाइन फाराम भरेर पठाएपछि जिल्ला हुलाक कार्यालयमार्फत वितरण गर्ने तथा लोककल्याणकारी विज्ञापन छापामाध्यम र एफएम रेडियोले भुक्तानी पाउने सुविधा छ ।
वर्तमान संवैधानिक व्यवस्थानुसार सङ्घअन्तर्गतको साङ्गठनिक संरचनामा रहेको हुलाक सेवा सञ्चालनका लागि आवश्यक पर्ने कानुनको तर्जुमा, भौतिक पूर्वाधार, मानव संसाधन र व्यवस्थापन मुख्य चुनौती छन् ।
व्यक्तिगत चिट्ठीपत्रको काम नभए पनि कार्यालयमा अन्य कामकाज यथावत् नै चलिरहेको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टङ्क भण्डारी बताउँछन् । उनका अनुसार कार्यालयको सवारी साधन नहुँदा सम्बन्धित व्यक्ति, निकायसम्म समयमा नै डाँक पु¥याउन कठिनाइ परेको छ । उनी भन्छन्, ‘कार्यालयको डाँक बोक्ने सवारी साधन भएमा तत्काल चिट्ठीपत्र, पत्रपत्रिका, कागजात पु¥याउन सकिन्थ्यो, सार्वजनिक गाडीमा पठाउँदा समयमा नै कागजपत्र नपुग्ने समस्या छ ।’
पश्चिम नेपाल बस व्यवसायीसँग कागजपत्र ओसारपसार गर्ने सहकार्य भए पनि पाल्पाकै कतिपय स्थानमा सडक समस्याका कारण दश दिनसम्मको समय सम्बन्धित व्यक्ति, निकायसँग पुग्न लाग्ने गरेको भण्डारीले बताएँ। कतिपय सन्दर्भमा म्याद नाघिसकेपछि मात्रै सम्बन्धित निकाय, व्यक्तिसम्म कागजपत्र पुग्ने गरेको पाइन्छ । हुलाक कार्यालयबाट तत्काल कागजपत्र सम्बन्धित व्यक्ति, कार्यालयमा पु¥याउने साधनको व्यवस्था नहुँदा पनि नागरिकले अहिले यसको सेवाप्रति त्यति धेरै चासो देखाउँदैनन् ।
डाँक बोक्ने सवारी साधनको सुविधा सरकारले उपलब्ध गराउनुपर्ने कर्मचारीको माग छ । सरकारी तवरको ठूलो संरचना रहेको हुलाक कार्यालयले समयमा नै सेवा दिनुपर्ने भए पनि आफ्नै साधन नहुँदा समयमा नै सम्बन्धित निकाय व्यक्तिसमक्ष कागजपत्र पुग्न सकिरहेको छैन । यसको दीर्घकालीन सुधारका लागि विश्वका अन्य मुलुकले नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याए झैँ नेपाल सरकारको स्पष्ट सोच, दृष्टिकोण, नीति योजना र कार्यक्रममा हुलाक प्राथमिकतामा कहिल्यै पर्न नसक्नु र यो चिट्ठीपत्र ओसारपसार गर्ने माध्यम मात्रै हो भन्ने परम्परागत सोचाइमा परिवर्तन आउन नसक्नु नै मुख्य समस्या हो ।
वर्तमान संवैधानिक व्यवस्थानुसार सङ्घअन्तर्गतको साङ्गठनिक संरचनामा रहेको हुलाक सेवा सञ्चालनका लागि आवश्यक पर्ने कानुनको तर्जुमा, भौतिक पूर्वाधार, मानव संसाधन र व्यवस्थापन मुख्य चुनौती छन् । यसको समुचित व्यवस्थापनका लागि हुलाक सेवा विभाग अनवरत रुपमा लागिपरेको छ । नेपाल सरकार नियमावली, २०७४ बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने हुलाक सेवाको संरक्षण, संवद्र्धन तथा नियमनसमेत गर्नका लागि हुलाकसम्बन्धी नीति, कानून, मापदण्ड, सञ्चालन र नियमन, हुलाक टिकट प्रकाशन, भण्डारण तथा अभिलेख व्यवस्थापन, धनादेश सेवा, हुलाक बचत बैंक र अन्तरराष्ट्रिय डाँक लेखा व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था छ ।
यो पनि…
‘सुख होइन सन्तुष्टि खोज्न गाउँ फर्कियौँ !’
ग्रामीण उत्पादनमा सरकारको ध्यान नपुग्दा लोप हुँदै ऊनका कपडा