पशुपतिमा शिवरात्रिको रौनक (फोटो/भिडियो पनि)
आज महाशिवरात्रि । देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो छ । पशुपतिनाथ मन्दिर परिसरमा पनि भक्तजनको घुँइचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी महाशिवरात्रि पर्व मनाइन्छ ।

पशुपतिनाथ मन्दिरमा हरेक वर्ष महाशिवरात्रिको अवसरमा विशेष मेला लाग्ने गर्छ । विगतझैँ यस वर्ष पनि महाशिवरात्रि मेलाको लागि पशुपति क्षेत्रलाई विशेष रूपले सजाइएको छ ।
सोमबार रातिदेखि नै भक्तजनहरूको भिड रहेको पशुपतिनाथ मन्दिरमा आज बिहान ३ बजेदेखि नै दर्शनको लागि पशुपतिको चारै ढोका खोलिएको छ ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रूपमा मनाउने हिन्दूहरूको परम्परा छ । यस रातलाई उनीहरू मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रूपमा लिने गर्दछन् ।

महाशिवरात्रिको अवसरमा एकैदिन १० लाख दर्शनार्थीहरूले पशुपति दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको थियो । ५ बजेसम्म करिब ८ लाख भक्तजनले मन्दिर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । ‘अघिल्लो वर्ष कोरोना माहामारीले गर्दा सोचेजति भक्तजनको घुइँचो थिएन, तर यो वर्ष भने हामीले अनुमान गरेभन्दा धेरै भक्तजन आउने सम्भावना छ ।’

पशुपति क्षेत्रमा निःशुल्करूपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धूलो, स्वास्थ्य शिविरलगायत सेवा प्रदान गरिएको छ ।









भिडियो :
फोटो/भिडियो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल
यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
पशुपतिमा बाबा : कोही मास्टर्स गरेका, कोही वियोगमा परेका