English

जिम्मेवारी र दायित्व बोधसहितको पत्रकारिता, हाम्रो प्राथमिकता



आजबाट हामी पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेका छौँ । राइज मिडिया नेटवर्क र यसले गत वर्ष महाशिवरात्रिकै दिनदेखि सञ्चालनमा ल्याएको डिजिटल पत्रिका मेरोलाइफस्टाइलले आजदेखि पहिलो खुड्किलो पार गरेको छ ।

राजनीतिलाई केन्द्रमा राख्ने नेपाली पत्रकारिताभन्दा अलिक फरक शैलीमा प्रस्तुत हुने चाहनासहित हामीले आजकै दिन डिजिटल प्लेटफर्ममार्फत पत्रकारिता प्रारम्भ गरेका थियौँ । जीवनशैलीमा दैनिक प्रभाव पार्ने र आम नेपालीको चासो रहेका मुद्दाहरूमा केन्द्रित रहेर हामीले पत्रकारिताको अभ्यास गर्दै आयौँ, यो एक वर्षमा ।

पत्रकारितामा एक वर्षको यात्रा लामो होइन । आजको नेपाल पनि एकै दिन बनेको होइन । कठोर संघर्ष, दूरगामी सोच र निरन्तर परिश्रमले नै हाम्रो देश आजको स्थितिमा आइपुगेको हो ।

यति छोटो समयका बीचमा पनि हामीले पाठकको रुचि र चासोका सम्बन्धमा केही सिक्ने मौका पायौँ । पक्कै पनि काम गर्दै सिक्दै जाने क्रममा केही कमी कमजोरी भएको हुनसक्छ । तर, त्यसैलाई साक्षात्कार गर्दै हामी आजको दिनसम्म आइपुगेका हौँ ।

पाठकका रुचि र चासोमा विविधता छ । हाम्रा लागि यो निकै चुनौतीपूर्ण पनि छ । तर, हामी आजका दिन प्रण गर्न चाहन्छौँ, सबै चुनौतीलाई कुशलतापूर्वक छिचोल्दै हामी अगाडि बढ्नेछौँ ।

पत्रकारिताको आवरणमा देखिँदै आएको गैरजिम्मेवार प्रवृत्ति, गलत नियतका साथ हुने चलखेल तथा पत्रकारिताको धर्म र मर्मविपरीत अभ्यासमा हामीलाई विश्वास छैन । हामीले गर्ने पत्रकारिता भयरहित पत्रकारिता हो । हामीले गर्ने पत्रकारिता समाज र राष्ट्रप्रतिको जिम्मेवारी सहितको पत्रकारिता हो । यसमा हामीले कहीँ कतै सम्झौता गर्दैनौँ, गरेका छैनौँ । चुकेका छैनौँ, चुक्दैनौँ ।

अबको मूलधार पत्रकारिता जेलिएको राजनीतिमा मात्र केन्द्रित हुने होइन, विकास र सम्भावनाको खोजीमा पनि आफूलाई समर्पित गर्नुपर्छ भन्ने हाम्रो मूल मर्म हो । आम जनताको जीवनशैली सुधारको वकालत गर्दै गर्दा यससँग सम्बन्धित अधिकारका आधारभूत पक्ष तथा अवरोधका विरुद्ध खबरदारी गर्ने पत्रकारिताको आधारभूत मान्यताबाट समेत हामी किञ्चित विचलित हुने छैनौँ ।

हाम्रो यही विश्वासलाई मूर्तरूप दिन पाठक, दर्शकका साथै आलोचक, समीक्षक र शुभेच्छुकहरूले उपयुक्त भूमिका निर्वाह गरिदिनुभयो भने हामी गन्तव्यमा पुग्न सक्नेछौँ । यहाँहरूबाट प्राप्त हुने सल्लाह, सुझाव हाम्रा लागि अमूल्य मार्गनिर्देशन हुनेछ ।

दोस्रो वर्षको यात्रामा लाग्दै गर्दा राइज मिडिया नेटवर्कको डिजिटल पत्रिका मेरोलाइफस्टाइल डटकमलाई थप परिस्कृत र परिमार्जन गर्दै जानेछौँ । हामीलाई हेक्का छ, आम जनताको रुचि, चाहना र चासो नै हाम्रा लागि प्राथमिकताको केन्द्रमा हुनेछ ।

यसै वर्षदेखि हामीले प्रत्येक महाशिवरात्रिको पावन दिनलाई हाम्रो जन्मदिनका रूपमा लिनेछौँ । जसरी, महाशिवरात्रिले अन्धकारबाट उज्यालोतिरको बाटोको संकेत गर्छ, त्यसरी नै हाम्रा आगामी कदम पनि मानिसको जीवनशैलीमा गुणस्तरीय सुधारमा केन्द्रित हुने अपेक्षा गरेका छौँ ।

अन्त्यमा, हाम्रा सम्पूर्ण सहकर्मी, पाठकवर्ग तथा सबै सहयोगी तथा शुभेच्छुकहरूलाई पहिलो वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ