English

शिव को हुन् ? उनका वस्त्रालंकारका अर्थ के–के हुन् ?



भगवान् शिव अध्यात्मका प्रतीक हुन् । साधारण मनुष्यलाई बुझाउनका लागि मात्रै शिवलाई मानवीकरण गरिएको हो । मानवीकरण नगरिएको भए धेरै पहिल्यै शिवतत्त्वका बारेमा विस्मरण भइसक्ने थियो । तर, जुन हाम्रो कल्पनामा आउँछ, ती शिव होइनन् । शिव त चारैतिर व्याप्त हुन्छन् ऊर्जाका रूपमा । शून्यताका रूपमा ।

कल्पना या विचार नचल्दा शिवतत्त्व शरीरमा प्रवेश हुन्छ । विचार या कल्पना नष्ट हुने चिज हुन् । तर, ती नहुँदा बाँकी रहने शून्यता कहिल्यै नष्ट हुँदैन । शिवको मूर्ति परिकल्पना हो, जुन यथार्थ छैन । शिवको मूर्ति एउटा प्रतीक हो जुन शिव तत्त्वसम्म पुग्ने आध्यात्मिक यात्रा मात्रै हो ।

‘शिव’ शब्दमा ‘शि’ को अर्थ ऊर्जाशक्ति हो, जुन ब्रह्माण्डको हरेक ठाउँमा हरेक समय उपलब्ध हुन्छ । ‘शि’ अक्षर आफैँमा एउटा मन्त्र हो । यस मन्त्रले शरीर र मनलाई ब्रह्माण्डमा व्याप्त शक्ति धारण गर्न तयार गराउँछ । ‘व’ अक्षरको अर्थ हो, कुशलता ।

यसरी ‘शिव’को पूरा अर्थ हुन्छ, ऊर्जाशक्तिलाई कुशलताका साथ धारण गर्नु । संस्कृत भाषाअनुसार शिवको अर्थ हो, कल्याणकारी या शुभकारी । यजुर्वेदमा शिवलाई शान्तिदाताको रूपमा व्याख्या गरिएको छ ।

शिव आकाशमा बसिरहेका छन् र हामीलाई हेरिरहेका छन् भन्ने कुरा गलत हो । अनि साधनाको मतलव कुनै चिजको कल्पना गर्नु पनि होइन । यसर्थमा शिव पूरै ब्रह्माण्डमा व्याप्त छन् । शिवतत्त्वबाटै संसार चलेको छ ।

वेदले भन्छ,– ‘संसारका हरेक चिज परिवर्तनशील छन् । परिवर्तन हुन्छ भन्नुको अर्थ हो, हरेक समय कुनै चिजको मृत्यु हुन्छ र नयाँ चिज जन्मिन्छ । परिवर्तन हुने क्रममा जुन तत्त्व जान्छ त्यो मृत्यु हो र जुन चिज तयार हुन्छ त्यो जीवन हो ।

यसरी हेर्दा हरेक चिजमा हरेक समय मृत्यु र जीवन सँगसँगै घटित भइरहेको हुन्छ । यही शिवको मानवीकरणभित्र ठूलो विज्ञान लुकेको छ । यही कारण हो शिवलाई संहारकर्ता भनिएको । संहार अर्थात् जीवनलाई शिवभित्र लीन गराउनु ।’
शिव को हुन् त ?

शिव एक तत्व हुन् जो कण–कणमा रहन्छन् । शिव जीवनदर्शन हुन्, विज्ञान हुन्, शिव पूरै परमात्मा हुन् र सम्पूर्ण मानव जगत् परमात्माको अंश पनि । यसरी शिवलाई जति बुझ्यो मानिसले उति आफूलाई बुझ्छ र आफ्नो पूरा जीवन मानव कल्याणमा लगाएर मोक्ष प्राप्त गर्छ । शिव नहुँदा दुःखी भई आफ्नो जीवन र सन्ततिको जीवनसमेत बर्बाद पार्छ ।

यसरी, शास्त्रहरूमा व्याख्या गरिएको शिवको स्वरूप विचित्रको छ । उनको पूरै स्वरूपले मानव हुनुको लक्ष्य पूरा गर्न सिकाउँछ ।

सत्य
शिव सत्य हुन् । शिवभित्र कुनै अवतार, रूप, आफन्त र पराइ, छलकपट, हिंसा छैन । उनमा झुट, धोका छैन । अरूको हजारौँ जन्म भइसक्दा पनि शिव एक छन् र एकै रहनेछन् । शिव सत्य र सधैं एकनासका रहने भएकाले उनलाई ‘भोले’ भनिन्छ । भोलेको अर्थ सत्य र निरन्तर हो, सत्यबाहेक अरूको उपस्थिति भोलेमा छैन । त्यो नै शिव हो, त्यो नै शंकर हो र त्यो नै देवाधिदेव महादेव हो ।

शक्ति
शिव शक्ति हुन् । जसलाई ऊर्जाका रूपमा पनि व्याख्या गर्न सकिन्छ । ऊर्जाको उत्पत्ति शिवबाट हुन्छ । हरेक प्राणीको जन्म ऊर्जाबाट हुन्छ र मृत्युपछिको मोक्ष पनि ऊर्जाबाटै हुन्छ । तसर्थ, जन्माउने र मोक्ष प्रदान गर्ने ऊर्जा शिव हो, भोले हो, पशुपति हो र हरेक महादेव मन्दिरका नामका पछाडि लागेका ‘श्वर’ हुन् ।

अबुझहरू चारखुट्टे जनावर र बुद्धि नभएकालाई पशु बुझ्छन् र त्यहीरूपमा व्यवहार गर्छन् । तर, पशुको अर्थ त्यो हैन । पशु भनेको त जसले सुख र दुःख भोग गर्छ त्यो नै पशु हो । ब्रह्मादेखि मानवसम्म र चराचर जगतमा भएका सबै पशु हुन् शिवबाहेक । हामी पनि सबै पशु हौं । सुख दुःखमा परेकाको उचित रेखदेख गर्ने शिव सबैको पति हुन्, पशुपति हुन् ।

सुन्दरता
सामान्यतया सुन्दरता नाप्ने यन्त्र भनेको रूप, श्रृंगार, राम्रा–राम्रा लुगा र बहुमूल्य गहना हुन् । मानिसहरू अरूको रूपको सुन्दरताको अनुशरण गर्दै आफू समाजमा सुन्दर भएको भ्रममा बाँचेका छन् । आधुनिक मानव जातिले बुझेको सुन्दरता यही नै हो ।

जहाँ शिवको नाम हुन्छ, त्यहाँ सुन्दरताको अर्थ अलग हुन्छ । कुनै राम्रो वस्त्रबिना, कुनै श्रृंगारबिना र कुनै गहनाबिना केही संसारमै सबैभन्दा सुन्दर छ भने त्यो नै शिव हो । खरानी घसेर अर्धनग्नरूपमा जसले सुन्दरता देख्छ त्यो नै शिव हो ।

तर, जहाँ शिवको नाम हुन्छ, त्यहाँ सुन्दरताको अर्थ अलग हुन्छ । कुनै राम्रो वस्त्रबिना, कुनै श्रृंगारबिना र कुनै गहनाबिना केही संसारमै सबैभन्दा सुन्दर छ भने त्यो नै शिव हो । खरानी घसेर अर्धनग्नरूपमा जसले सुन्दरता देख्छ त्यो नै शिव हो । यही शिवको सुन्दरताको वर्णन हरेक देवता राक्षस र मनुष्यले गर्छन् ।

साथै, यही सुन्दरताको उपासना गरी मोहित हुन्छन् । यसको अर्थ शिव तत्वले कहिल्यै बाहिरी रूपलाई छाडी मनको सुन्दरताको बलले संसार चल्यो । तसर्थ, श्रीकृष्ण तथा ऋषिहरूले कहिल्यै बाहिरी सुन्दरतामा ध्यान नदिई शिवका उपासक बने ।

निराकार
जसको कुनै आकार छैन, ती शिव हुन् । तसर्थ, शिवलाई निरञ्जन निराकार भनिन्छ । डमरु बोकेका त्रिशुल हातमा लिएका शंकर त शिव वा भोले बुझ्न नसक्नेहरूका लागि मात्रै हो । जसले बुझ्छ उसले शिवको निराकार रूपको मात्र उपासना गर्छ । अझ साकार र निराकारको बीचमा रुमलिएकाहरूका लागि लिंगका रूपमा निराकार शिव भेटिन्छन् ।

जहाँ आकार हुन्न, त्यहाँ रूप हुन्न र जहाँ रूप हुन्न त्यहाँ मायामोह आदि केही हुन्न । हुन्छ त केबल भक्ति । शिवको प्रकाश विन्दुले नै ऊर्जा, शक्ति, उज्यालो, सत्यता, सुन्दरता र भोलेपन सबैको प्रतिनिधित्व गर्छ ।

वैराग्य
‘वैराग्य’ शब्दको अर्थ अरूको वस्तुप्रतिको अनाशक्ति हो । आधुनिक जमानामा यसलाई नकारात्मकरूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ । अझ कहीँ कतै त घर व्यवहार छाड्नुलाई वैराग्य भन्ने गरेको पाइन्छ, जुन शतप्रतिशत गलत हो । शास्त्रका अनुसार वैराग्य अत्यन्त सकारात्मक शब्द हो । शिव वैराग्यको प्रतीक हुन् । प्रतिकूल परिस्थितिमा बसेर जसले अरूप्रति आशक्त नभई मानव कल्याण गर्छ, त्यो नै वैराग्य हो । यसर्थ, मनुष्यले जीवनमा धर्म, अर्थ, काम र मोक्षको मार्गमा हिँड्नुपर्छ ।

समय
शिव समय हुन्, जसको जन्म र मृत्यु हुँदैन । तसर्थ, जसले समय र संसार बुझ्छ उसले शिव बुझेको हुन्छ । जहाँ क्रम भंग, टुटफुट आउँछ त्यहाँ भोले हुँदैनन् । ‘भोले’ अविचलितताका प्रतीक हुन् । तसर्थ, भोलेका शिवलिंगहरू पत्थरका हुन्छन् । शिवभक्तहरू सधैँ आफ्नो भक्ति, प्रेम विश्वासमा अविचलित हुन्छन् । जो बिचौलिया हुन्छन् ती शिवभक्त हुन सक्दैनन् ।

यस्ता छन् शंकरका वस्त्र तथा अलङ्कारका अर्थ
शिव र शंकरमा अर्थ फरक छ । जब, सृष्टि निर्माण आवश्यक भयो, तब, शिवद्वारा ब्रह्मा, विष्णु र महेश्वर उत्पत्ति गरिए । ब्रह्माद्वारा सृष्टि, विष्णुद्वारा पालन र शंकर अर्थात् महेश्वरद्वारा संहार हुने भयो ।

जब मानिसको उत्पत्ति भयो, यिनले भगवानलाई चिन्नका लागि उनको महिमाको वर्णन गर्दै स्वरूप तथा आकारको निर्माण गरे, जसमा ब्रह्माको चार मुख, विष्णुको चार हात र शंकरको त्रिनेत्र स्वरूपको आकार निर्माण भयो । सबैका लागि प्रतीकको अर्थ जोड्दै वस्त्र अलंकार जडिए ।

जब मानिसको उत्पत्ति भयो, यिनले भगवानलाई चिन्नका लागि उनको महिमाको वर्णन गर्दै स्वरूप तथा आकारको निर्माण गरे, जसमा ब्रह्माको चार मुख, विष्णुको चार हात र शंकरको त्रिनेत्र स्वरूपको आकार निर्माण भयो । सबैका लागि प्रतीकको अर्थ जोड्दै वस्त्रालंकार जडिए । महेश्वरलाई ‘शिव’ भनेर चिनिन थालियो । तिनै शिवको वस्त्र तथा अलङ्कारहरूको अर्थ यस्ता छन् ।

जटा
शिवको कपाल जटा परेको छ । जटा अन्तरिक्षको प्रतीक मानिन्छ ।
चन्द्रमा
जटापछाडि रहेको चन्द्रमा मनको प्रतीक हो । शिवको मन चन्द्रमा झैँ सरल, निर्मल र उज्ज्वल छ । जसमा एकाग्र ध्यान गए मनुष्यको मन पनि तुरुन्तै शान्त बन्छ । अध्यात्ममा अगाडि बढेका साधकहरूको मस्तिष्क चन्द्रमाले दिनेजत्तिकै शीतल हुन्छ । कतिपय साधकहरूले आफूभित्रको छटपटाहट हटाउन चन्द्रमालाई त्राटक गर्ने (विधिवत् एकोहोरो हेर्ने) गर्छन् ।
त्रिनेत्र
शिवका तीन आँखा रहेका छन् । यही कारणले उनलाई त्रिलोचन पनि भनिन्छ । यी तीन आँखा सत्व, रज र तमका प्रतीक हुन् । भूत, वर्तमान र भविष्यका प्रतीक हुन् । जब शिवसाधकहरूको तेस्रो नेत्र खुल्छ उनीहरूले ब्रह्मज्ञान र संसारको दर्शन गर्न सक्छन् । अध्यात्मको विकास हुँदै जाँदा तेस्रो नेत्र पनि खुल्दै जान्छ । तेस्रो नेत्रले संसारमा दुई आँखाले देख्न नसकेका चिजहरू देख्न र अनुभव गर्न सक्छ । तेस्रो नेत्र विशाल ज्ञानको भण्डार हो ।
सर्पको हार
शंकरले सर्पको हार लगाउँछन् । यसको अर्थ हो हिंस्रक जीव उनको अधिनमा छन् । सर्प तमोगुणी जीव हो । यसलाई पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ । आफ्नो ह्रिंसक स्वभावलाई सधैँ आफ्नै वशमा राख्नुपर्छ । तमोगुणलाई वशमा राख्नाले अध्यात्मको मार्गमा अगाडि बढ्न सजिलो हुन्छ ।


त्रिशुल
शिवको हतियार त्रिशुल हो । सृष्टिसँगै सत्व, रज र तम गुण उत्पत्ति भए ती तिनै गुणलाई वशमा लिन महादेवले त्रिशुल धारण गरेका हुन् । त्रिशुलले भौतिक, दैविक र आध्यात्मिक तापलाई नष्ट गर्छ । मार्गमा आइपर्ने बाधाहरू हटाउँछ भन्ने विश्वास छ ।
डमरु
शिवको हातमा डमरु हुनुको पनि आफ्नै विशेषता छ । शिवले ताण्डव नृत्यमा बजाउने डमरुको नाद नै ब्रह्म रूप हो ।

मृदंग
शिवको कम्मरमा मृदंग हुनुको पनि आफ्नै विशेषता छ । संसारको शून्य ध्वनीमा मृदंगको नाद सुन्न सकिने साधकहरूको धारणा छ । शून्यावस्थामा रहेका साधकलाई अनुभव हुन्छ, त्यहाँ एक खालको ध्वनि उत्पन्न भइरहेको हुन्छ । सङ्गीत या आवाजको मूल त्यहीँबाट शुरु हुन्छ ।
मुण्डमाला
शिवले आफ्नो गलामा मुण्डमाला पनि धारण गरेका हुन्छन् । यसको अर्थ हो शिवले मृत्युलाई वशमा राखेका छन् । हरेक मान्छेले एउटा अवस्थामा पुगेपछि अथवा शिवको संसारमा पुगेपछि मृत्युलाई वशमा राख्न सक्छन् ।
बाघको छाला
शिव बाघको छाला कम्मरभन्दा मुनि लगाउँछन् । बाघलाई हिंसा र अहंकारको प्रतीक मानिन्छ । यसको अर्थ हो, शिवले हिंसा र अहंकारलाई दमन गरेका छन् । यसलाई पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ ।
भष्म
शिव भष्मधारण गर्छन् । शिवलिङ्गको अभिषेक पनि भष्मबाटै गरिन्छ । भष्मको लेपले यो संसार नश्वर छ भनेर बताउँछ । हरेक प्राणी र संसारको मृत्यु हुन्छ । छिनछिनमा फेरिइरहेको हुन्छ । संसार अनित्य या नश्वर छ भन्ने कुरा यसबाट थाहा हुन्छ ।
साँढे (नन्दि)
साँढे सधैँ शिवकै साथमा रहन्छ । साँढे शिवको द्वारपाल पनि हो । उनी यसरी चारवटा खुट्टा भएको जनावरमाथि सवारी गर्नुको कारण हो कर्म, धर्म, अर्थ, र मोक्ष उनको कृपाबाट मात्रै मिल्छ । त्यसैले शिव प्राप्त गर्न यी चार कुरा पार गर्नुपर्छ ।
बेलपत्र
बेलपत्र स्वर्ग, मृत्यु र पाताल लोकका प्रतीक हो । बेलपत्रले शिवका त्रिनेत्र जनाउँदछ । यसले पृथ्वीको हरियालीको संकेत पनि गरेको छ ।
रुद्राक्ष
रुद्राक्ष दुईवटा शब्द मिलेर बनेको हुन्छ, रुद्र र अक्ष । जसको शाब्दिक अर्थ रुद्रको अक्ष अर्थात् भगवान् शिवको आँखाबाट उत्पत्ति हुने आँशु हो ।

अध्यात्मसँग जोडेर हेरिने रुद्राक्षलाई भौतिक संसारमा हुने दुःख हटाउने र सकारात्मक ऊर्जा दिने फल मानिन्छ । रुद्राक्षको मालाले व्यक्तिको शारीरिक तथा मानसिक शक्ति बलियो हुनुका साथै घरपरिवारमा सुख शान्तिसमेत आउने विश्वास छ ।

ताण्डव
शिवको ताण्डव ऊर्जाको प्रतीक हो । ताण्डवबाटै अभिनय र नृत्यकलाको जन्म भयो । यसबाटै जोश र जाँगरको उत्पत्ति भएको हो ।

शिवलिङ्ग
‘लिङ्ग’ शब्दको संस्कृत अर्थ ‘चिह्न’ हो । यही अर्थमा शिवलिङ्गको प्रयोग हुन्छ । परमपुरुष तथा प्रकृति (योनी) को चिह्न नै शिवलिङ्ग हो ।शिवलिङ्गमा पूजा गर्नु प्रकृति र पुरूष दुवैको पूजा गर्नु हो ।
तपस्या
शिव र शङ्कर एकैजस्तो लागे पनि फरक हुन् । दुवैका प्रतिमा फरक–फरक आकृतिका हुने गर्छन् । शङ्करको प्रतिमामा उनी सधैँ तपस्वीको रूपमा देखिन्छन् । कतिपय ठाउँमा त उनले शिवलिङ्गको तपस्या गरिरहेका देखिन्छन् ।
अर्धनारीश्वर
संसार चल्नका लागि नारी र पुरुषको आवश्यकता पर्छ । दुईको आपसमा सधैँदेखि सम्बन्ध छ । नारी प्रकृति अर्थात् शक्ति हुन् भने नर पुरुष । प्रकृतिविना पुरुष बेकार हुन्छ र पुरुषविना प्रकृति बेकार हुन्छ । अर्धनारीश्वर यही परस्पर सम्बन्धको प्रतीक हो ।
नीलकण्ठ
अमृतको इच्छाले देवता र दानवहरूले समुद्रमन्थन गर्दा समुद्रबाट ‘कालकुट’ विष निस्कियो । त्यो विष अत्यन्तै कडा हुँदा फैलिएर संसार जल्न थाल्यो । संसारमा हाहाकार मच्चियो देवतालगायत प्राणीहरूको पीडालाई मुक्त गर्न शिवले त्यो विष पिइदिए । जब उनले कण्ठभन्दा तल नझारी राखे । तब विषको प्रभावले शिवको कण्ठ नीलो बन्यो । त्यसैबेलादेखि उनी नीलकण्ठका नामले प्रसिद्ध भए ।

महामृत्युञ्जय मन्त्र
शिवलाई मानेर आध्यात्मिक यात्रा गर्ने साधकहरूलाई मृत्युको भय रहँदैन । रोग र शोकको चिन्ता हुँदैन । यसको कारण हो मन्त्रमा रहेको शिवतत्त्वले मनलाई सामर्थ्यवान् बनाउँछ । यस मन्त्रको जपबाट भगवान् शिवको कृपा मिल्छ ।

शिवलाई मानेर आध्यात्मिक यात्रा गर्ने साधकहरूलाई मृत्युको भय रहँदैन । रोग र शोकको चिन्ता हुँदैन । यसको कारण हो मन्त्रमा रहेको शिवतत्त्वले मनलाई सामर्थ्यवान् बनाउँछ । यस मन्त्रको जपबाट भगवान् शिवको कृपा मिल्छ ।

‘ॐ त्र्यम्बकं यजामहे सुगन्धिम् पुष्टिवद्र्धनम् । उर्वारुकमिव बन्धना, मृत्योर्मुक्षीय मामृतात् ।।’
अर्थात् – ‘हे शिव तपाईं जसले त्रिनेत्रका माध्यमबाट हरेक श्वासमा जीवन शक्तिको सञ्चार गरी पूरै जगतको पालनपोषण गर्नुहुन्छ । हाम्रो प्रार्थना छ– ‘ मोक्ष प्राप्तिका लागि मृत्युको बन्धनबाट मुक्त गरिदिनुहोस् ।’

यो पनि…
पशुपतिमा यस्तो छ तयारी (भिडियो पनि)
महाशिवरात्रिको आध्यात्मिक महत्त्व



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन