यसैले सत्यम् शिवम् सुन्दरम्
भगवान् शिव नै श्री पशुपतिनाथ हुन् । भगवान् पशुपतिनाथ योगीहरूको इष्टदेव र गृहस्थको आराध्यदेव हुन् । पशुपतिनाथ र महाशिवरात्रि अनन्य सम्बन्ध छ । नेपालमा सवै शिवालयहरूमा महाशिवरात्रि मनाइन्छ ।
महाशिवरात्रिलाई व्रतराज भनिन्छ । भगवान् शिवले नै शिवरात्रिको महिमाबारे ब्रह्मा, विष्णु तथा पार्वतीले सोधेपछि भगवानले भन्नुभएको छ । मेरो धरै व्रतहरू छन् जसले भोग र मोक्ष प्रदान गर्छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण शिवरात्रि हो ।
प्रत्येक चन्द्रमास अनुसारको प्रत्येक मासको कृष्णपक्षको चतुर्दशीलाई शिवरात्रि भनिन्छ । तर, फागुन महिनाको शिवरात्रिलाई महाशिवरात्रि भनिन्छ । शिवको कोही उत्पादक छैन । उनका कोही पनि पालन र संहारक पनि छैन । संसारको दुःख नष्ट गर्ने एवं परम आनन्द दिने शिव हुन् । मूक्ति चार प्रकारको मानिन्छ । सारूप्य, सोलोक्य, सानिध्य एवं चौथो सायूज्य हो । शिवरात्रिको व्रतबाट ती सबै प्रकारका मुक्ति सहजै पाइन्छ भन्ने शैव दर्शनका अनुयायीहरूको मान्यता छ ।
शिव याने कि, पशुपतिनाथ निर्गुण परमात्माबाट जो सगुणरूप प्रकट भयो उसको नाम नै शिव हो । शिवबाट पुरूष सहित प्रकृति उत्पन्न भयो । पुरूष र प्रकृतिले मूल स्थान भित्रको जलमा तपस्या गरे ।
त्यही जलमा योगमायासहित श्री हरिले शयन गरेका छन् । श्रीहरीको नाभी कमलबाट ब्रह्माको उत्पत्ति भयो । ब्रह्मा तपस्या गरेर जसको साक्षात्कार गरे उनलाई विष्णु भनियो । ब्रह्मा र विष्णुमध्ये को ठूलो ? भन्ने विवादलाई शान्त गर्नका लागि निर्गुण शिवले जो रूप लिए त्यो प्राकट्य दिनलाई महाशिवरात्रिको रूपमा लिने गरेको कतिपय धार्मिक जनको मत छ । त्यो दिन महाज्योर्तिलिङ्गको रूपमा प्रकट भई महादेवको रूप धारण गरेको दिन हो ।
देवाधिदेव भगवान् श्री पशुपतिनाथको महाशिवरात्रिमा व्रत बस्ने सबैभन्दा उत्तम दिन हो । शिवरात्रिको महिमा र शिवको अञ्जानमा आराधना गर्दा पनि ‘गुरुदु्रह’ नामक व्याधाले पुण्य पायो । सांसारिक दुःखको नास गर्ने एवं परम आनन्द दिने चार मुक्तिमध्ये सायुज्य मुक्ति शिवरात्रिको व्रतबाट हुन्छ । ब्रह्माादि त्रिगुण अधिश्वर हुन् भने शिव त्रिगुणबाट माथि छन् । उनी निर्विकार परमब्रह्मा, प्रकृतिबाट पर छन् ।
शिवको महारात्रिको पर्व आध्यात्मिक उत्सवको रूपमा वैदिक सनातनीहरू मनाउँछन् । महाशिवरात्रिको रात्रि समयमा ग्रहको उत्तरी गोलार्ध यस प्रकारले बस्छ कि मानिसको भित्री तहमा नै प्राकृतिक रूपमा नै ऊर्जालाई माथि लैजान सकिन्छ । सांसारिक मायामोहमा रमेका मानिसहरू शिवरात्रिलाई शत्रुलाई पराजित गर्ने दिनको रूपमा पनि लिने गर्छन् भने साधकहरूको लागि कैलाश पर्वतको साथ एकात्मक हुन्छन् । भगवान् श्री पशुपतिनाथ आदि गुरु हुन् । साधकहरूको लागि महाशिवरात्रि स्थिरताको रात्रिको रूपमा लिने गर्छन् ।
महाशिवरात्रिको समय रात्रिकालीन सबैभन्दा अन्धकार हुन्छ । त्यो अन्धकारबाट मुक्तिको लागि या जीवन र जगतको अन्धकारबाट मुक्तिका लागि शिवरात्रि ऊर्जाले भरिएको प्रकाशतर्फ लैजाने रात्रि हो । शिव स्वयं नै प्रकाश हुन् । विशाल रिक्तता र शून्य नै शिव याने भगवान् पशुपतिनाथ हुन् । व्यक्तिले त्यो शिवरात्रिको अन्धकारमा आफ्नो सीमिततालाई विसर्जन गरी सकारात्मक सिर्जनाको असिम श्रोतलाई अनुभव गर्ने दिने हो । महाशिवरात्रि देवाधिदेव भगवान् पशुपतिनाथ विराजित पाशुपत क्षेत्रमा शिवरात्रि महान् उत्सवको रूपमा मनाइन्छ ।
रात्रि प्रधान पर्वहरूमा कालरात्रि मोहरात्रि सुख रात्रि र शिवरात्रि हो । साज सज्जा र भौतिक सुविधा मानवीय सिर्जनाबाट हुने गरेता पनि महाशिवरात्रिमा पशुपतिनाथ दर्शनको लागि लाखौँ भक्तहरू आ–आफ्ना कामना पूर्तिका लागि आउँछन् । हरेक शिवलिङ्गमा महाशिवरात्रिमा पूजन गरिन्छ । सूर्यास्तपछिको चर्तुदशी र भोलिपल्ट सूर्योदयसम्म चार प्रहरमा भगवान् श्री पशुपतिनाथको पूजा आराधना गरिन्छ ।
भगवान् पशुपतिनाथको मूर्तिलाई पशुपतिका पूजारी त्रिलिङ्गी द्रविड ब्राह्मणहरू (भट्ट) बाट पूजा आराधना हुन्छ । लगभग १२ घण्टा भगवान् पशुपतिनाथको लगातार पूजा हुन्छ । साँझको ६ बजे शुरू भई रात्रि ९ बजेसम्म प्रथम प्रहर, ९ बजेदेखि १२ बजेसम्म द्वितीय प्रहर, १२ बजेदेखि ३ बजेसम्म तृतीय प्रहर, बिहान ३ बजेदेखि ६ बजेसम्म चर्तुथ प्रहरको दूध, दही, मह, घ्यू र चिनी (सक्खर) ले अभिषेक गरी विधि विधानपूर्वक पूजा हुन्छ । भगवान्लाई बालभोगदेखि सबै भोजन प्रत्येक प्रहरमा गराइन्छ ।
प्रथम प्रहरको पूजा नेपाल राष्ट्र र विश्व कल्याणको लागि राजतन्त्र हुँदा राजाबाट र अहिले गणतन्त्रकालमा राष्ट्राध्यक्षबाट संकल्प गराएर पूजा शुरू गरिन्छ । भनाइ छ, महाशिवरात्रिमा चम्पाको फूल चढाउनु हुँदैन । भारतका महाकुम्भमा जूना अखडा, निरञ्जनी अखडालगायत नांगा साधुहरू नाङ्गै भई लाखौँको संख्यामा स्नान गर्छन् । विश्वमै अनौठो प्रचलन नेपालमा छ । भगवान् पशुपतिनाथको प्राङ्गणमै नांगाबाबाहरू फागुनमासको कृष्ण एकादशीका दिन नाङ्गै भएर पस्छन् । सरकारी तवरबाटै गुठी संस्थामार्फत् धुनी र खानाको व्यवस्था हुन् परम्परा छ । औँशीको दिन बिदाइ गरिन्छ ।
नांगा बाबाहरूसहित अन्य जोगी संन्यासीहरूलाई । तपस्यामा तल्लीन भगवान्को आराधनामा मा दिगम्बर भई गर्नुपर्नेमा सो गरे गरेन त्यो नागाबाबाहरू जान्ने कुरा हो । तर, यो परम्परा धेरै अघिदेखि हो । जन्मिँदा नाङ्गो, मर्दा नाङ्गो बनाई जलाउने, केही छैन संसारमा लिएर आएको नाङ्गै आएको हो भन्ने धार्मिक मान्यतालाई नागाहरूले जोगाएका छन् । पहिले–पहिले पुरुष नागाबाबाहरू मात्र होइन महिला नागिनीहरू पनि आउँथे भनेर त्यहाँका बुढाखाडा अझै पनि भन्छन् ।
राणाकालीन अवस्थामा पशुपतिनाथको दर्शनका लागि आउनु पर्दा भारतीय साधुसन्त र तीर्थयात्रीले राहदानी लिएर मात्र आउन पाउँथे । वि.संं २००७ को परिवर्तनपछि सो राहदानी व्यवस्था हराउँदै गयो । पाशुपत क्षेत्रका सबै शिवमन्दिरहरूमा दैनिक पूजा भएता पनि शिवरात्रिका दिन विशेष पूजा हुन्छ । दानवीरहरू मन वचन कर्मले कुनै फलको आस नगरी निःशुल्क भोजन लगायतको व्यवस्था गर्छन् । पशुपतिनाथको महाशिवरात्रिको चारै प्रहरको पूजा र सधैँ हुने नित्य पूजाको व्यवस्था राज्यबाट नै हुन्छ । भगवान् श्री पशुपतिनाथ आकाशमै सर्वत्र व्यापक छन् । त्यसैले त उनी हुन् सत्यम् शिवम् सुन्दरम् ।
यसरी मनाऔँ शिवलाई (भिडियो)
यो पनि…
पशुपतिनाथ योगिका योगी महायोगी
महाशिवरात्रिको आध्यात्मिक महत्त्व