यसकारण गरिन्छ शिवलिङ्ग र योनीको पूजा
लीनं अर्थं गमयति इति लिङ्ग । जो लीन भएको छ, जुन नदेखिएको, अव्यक्त अर्थात् प्रकट नभएको वस्तुलाई प्रकट गराउने र देखाउने आधारलाई लिङ्ग भनिन्छ । लिङ्ग भनेको ज्योति हो । यसलाई पश्चिमेलीहरूले अनर्थ र अपव्याख्या गरेपछि मात्रै लिङ्गको अर्थ नराम्रो बनेको हो । तर लिंग भनेको एउटा अंग नभएर ज्योति हो । शिव आदि र अन्त्यका देवता हुन् । त्यसैले उनको न कुनै स्वरूप छ, न त आकार । वहाँ निराकार हुनुहुन्छ । आदि र अन्त नहुनाले वहाँलाई निराकार रूप मानिन्छ । त्यस्तै साकार रूपमा वहाँलाई भगवान शंकर मानेर पूजा गरिन्छ ।
भगवान शिव नै निराकार लिङ्गको रूपमा पुजिन्छन् । लिङ्गको रूपमा सम्पूर्ण व्रह्माण्डको पूजा हुन्छ । किनभने यसैलाई सम्पूर्ण जगतको मूल कारण मानिन्छ । त्यसैले शिवलाई लिङ्ग र मूर्ति दुवैको रूपमा पूजा गरिन्छ । शिवको अर्थ हो परम कल्याणकारी र लिङ्गको अर्थ हो, श्रृजन । शिवको वास्तविक स्वरूपबाट अवगत भएर जागृत शिवलिङ्गको अर्थ प्रमाण भन्ने हुन्छ ।
वेद र वेदान्तमा लिङ्गशब्दको उल्लेख सूक्ष्म शरीर भनेर प्रयोग गरिएको छ । यो सूक्ष्म शरीर १७ तत्वले बनेको हुन्छ । मन, बुद्धि, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र पाँच वायु । वायु पुराणअनुसार प्रलयकालमा समस्त सृष्टि जसमा लीन हुन्छ र पुनः सृष्टिकालमा जसबाट प्रकट हुन्छ, त्यसलाई नै लिंग भनिन्छ । यस प्रकारले विश्वको सबै उर्जा नै लिङ्गको प्रतीक हो ।
समुन्द्र मन्थनका बेला सबै देवता अमृत पाउनका लागि लालयित थिए । तर भगवान शिवको भागमा डरलाग्दो विष प-यो । उनले सारा संसारलाई समाप्त पार्न सक्ने विषलाई सहजै आफ्नो कण्ठमा सेवन गरे । त्यसैले उनलाई नीलकण्ठ पनि भनिन्छ । उक्त विष ग्रहण गरेपछि उनको शरीरमा जलन हुन थाल्यो र त्यसैलाई शान्त पार्नको लागि शिवलिंगमा जल चढाउन थालियो । त्यही परम्परा आजसम्म पनि चलिरहेको छ । शिवतत्व जहिल्यै व्याप्त छँदैछ । त्यो बेला पनि थियो र यो बेला पनि छँदैछ । पहिलो पटक शिवतत्व प्रकट हुँदा शिवलिङ्गको रूपमा प्रकट भएकोले, त्यही पहिलो चिनारीका रूपमा शिवलिंग भनियो ।
योनी शब्दको अर्थ कुनै स्त्रीजातिको प्रजनन इन्द्रिय भन्न खोजिएको होइन । यो अहिलेको प्रसिद्ध योनी विशेष अर्थलाई मूल अर्थ मान्न सकिँदैन । त्यहाँ भन्न खोजिएको योनीको अर्थ उत्पत्तिको कारण भन्ने हो । त्यहाँ पुलिंगको प्रयोग गरिएको छ । त्यहाँ योनी भनेर स्त्रीलिंग विशेष भनिएको छैन । किनभने त्यहाँ स्त्रीलिंगको प्रयोग गरिएको भए तस्याः भन्ने शब्द आउँथ्यो । त्यसको तात्पर्य उत्पत्तिको मुल स्थान के हो ? यो सम्पूर्ण जगतको उत्पत्ति कहाँबाट भयो ? भन्ने खोज्ने क्रममा दुई कुराहरू फेला परे । एउटा हो प्रकृति र अर्को हो पुरुष ।
यो पनि…
महाशिवरात्रिको तयारी पूरा, सवारीसाधनको रुट फेरियो
पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला