English

गुँदाला भोजोला तालमा पर्यटकको आकर्षण बढ्दै



मेची राजमार्गको राँके बजारबाट पश्चिम लागेपछि समथर डाँडामाथिको यात्रा शुरु हुन्छ । पाँचथर र इलामका फराकिला र सुन्दर फाँट हेर्दै जति–जति हिँड्यो उत्ति–उत्ति आनन्द आउँछ । राँके कटेपछि आउने सबै डाँडा र थुम्काहरूको आ–आफ्नै मौलिकतासुन्दरता छ । देउराली, पुरानो पञ्चमी, घुर्विसे पञ्चमी, सप्तमी, रवि, चिसापानी पञ्चमी, कन्याटारजस्ता बजारहरू डाँडाको तलमाथि हुँदै फैलिएका छन् । यी सबै ठाउँ जोड्ने सडकचाहिँ बहुचर्चित राँके–रवि–भेडेटार सडक हो ।

यी सबै ठाउँका आ–आफ्नै परिचय छन्, जसको व्याख्या यहाँ पुगेर आनन्द लिएपछि मात्रै गर्न सकिन्छ । तर, राँकेबाट रवि हुँदै पहाडको काखमा बसेको कन्याटार पुगेपछि नजिकैको लेखगाउँ पुग्न सबैले सुझाउँछन् ।

पाँचथरसहित तेह्रथुम र धनकुटाका केही भूभाग देखिने यहाँबाट मनोरम दृश्य हेर्दै झट्ट डाँडो छिचोल्दा आनन्द दोब्बर हुन्छ, यात्रा सार्थक बनेको अनुभूति जो कोहीले गर्दछन् ।

डुङ्गा सञ्चालन तथा तालको संरक्षणमा सक्रिय स्थानीयवासी सरोज राईका अनुसार यहाँ पाँचथरसहित इलाम, झापा, सुनसरी, धनकुटालगायत स्थानबाट पर्यटकहरू आउने गर्दछन् ।

बुट्यानहरूले ढाकेको हरियो जङ्गल, बाटोसम्म लत्रिएका लहलह अर्गेली, बुकी फूल र काँसले ढाकेको पाखाको बीचमा फैलिएको गुँदाला भोजोला ताल नजरमा पर्दा तपाईंको मन फुरुङ्ग हुन्छ, थकान हराउँछ र रमाइलो गर्ने जोस चल्छ ।

नजिकै समथर ठाउँमा काठ र टिनले बनेका रङ्गीविरङ्गी स–साना घरहरू, बोलचाल र शिष्टताको मौलिकताले आत्मीयता प्रदर्शनसमेत गर्छ ।

मेची राजमार्ग छोडेपछि पूरै कच्ची सडकको यात्रा, धुलो र हिलोको अवरोध, अप्ठ्यारो र असजिलोले दिएको पीडा भुलाउन गुँदाला भोजोला ताल हरदम तम्तयार छ । बिहानीको शिरशिरे हावा होस् अथवा गोधुलीको मन्द बतास नै, हावाको वेगसँगै नाचिरहेको तालको पानी एक टकले हेरिरहन, डिलमा बसेर सुसेली हाल्न वा प्यारा मान्छेहरू सम्झन तपाईं लालायित बन्नुहुन्छ नै । नभए छेउ–छेउमा रहेका चौतारीमा बसेर फूलहरूको वासनासँगै प्रकृतिले दिएको आनन्दको छटामा एकछिन त अवश्य हराउनुहुन्छ ।

यत्तिले पनि नपुगे डुङ्गामा चढेर पोखरीका छेउकुना गर्दै चिसो–चिसो हावासँगै आनन्द लिने अवसर पनि तपाईंसँगै हुनेछ ।

पर्यटकको तृष्णा मेट्न तम्तयार बनेको छ, मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँमा स्थित गुँदाला भोजोला ताल । राँके–रवि–भेडेटार सडकसँगै डाँडामा टिलपिल–टिलपिल पानी लिएर प्रकृतिको सुगन्ध बाँड्न गुँदाला–भोजोला ताल हरदम तयार छ ।

विगतमा सानो पोखरी रहेको यस स्थानमा स्थानीयवासीको अग्रसरतामा केही वर्षअघि ताल निर्माण भएको हो । हरियो जङ्गल, नीलो आकाश र हिमालको छाँया पर्ने ताल निकै आकर्षक हुने हुनाले गर्मी सिजन शुरु भएसँगै अहिले यहाँ आन्तरिक पर्यटकहरूको भिड लाग्न थालेको छ ।

नयाँ वर्षको समय र अन्य सिजनको समयमा यहाँ प्रशस्तै पर्यटक आउँछन्, स्टल राखेर व्यापार चलाउने गरेका छौँ ।

केही समययता उक्त तालमा रमाइलो गर्नका लागि डुङ्गासमेत प्रयोगमा ल्याइएको छ । विगतमा सानो ताल रहे पनि स्थानीयवासीले निकासतर्फ पक्की संरचना बनाई तालको विस्तार गरेका छन् ।

डुङ्गा सञ्चालन तथा तालको संरक्षणमा सक्रिय स्थानीयवासी सरोज राईका अनुसार यहाँ पाँचथरसहित इलाम, झापा, सुनसरी, धनकुटालगायत स्थानबाट पर्यटकहरू आउने गर्दछन् । गर्मी मौसममा दैनिक ५० जनाभन्दा बढी पर्यटक यहाँ आइपुग्ने गरेको राईले बताए ।

गुँद र बोजो नामका वनस्पति रहेको ठाउँमा ताल निर्माण गरिएकाले यसको नाम गुँदाला भोजोला ताल राखिएको राईको भनाइ छ । विगतमा सानो पोखरी रहे पनि निकासतर्फ संरचना निर्माण गरी ताल निर्माण गरिएको हो ।

ताल आकर्षक बन्नुका साथै पर्यटकसमेत भित्रिन थालेपछि गत वर्षबाट डुङ्गा प्रयोगमा ल्याइएको हो । पर्यटकको उपस्थिति बाक्लिएपछि डुङ्गाबाट समेत राम्रै आम्दानी हुने गरेको छ । सिजनमा तालसँगै रहेको लेखगाउँमा पसल तथा स–साना होटलहरू राम्रोसँग चल्ने गरेका छन् ।

स्थानीयवासीवासीले ताल निर्माण र संरक्षणमा अग्रसरता लिएपछि सङ्घीय सरकार, प्रदेश सरकार र मिक्लाजुङ गाउँपालिकाले समेत यहाँ लगानी गरेका छन् । ताल निर्माण भएसँगै सामाजिक सञ्जालमार्फत व्यापक प्रचार भएको स्थानीयवासी रबिन राईको भनाइ छ ।

‘नयाँ वर्षको समय र अन्य सिजनको समयमा यहाँ प्रशस्तै पर्यटक आउँछन्’, राईले भने, ‘स्टल राखेर व्यापार चलाउने गरेका छौँ ।’ विगतमा गुमनाम रहेको आफ्नो गाउँमा पर्यटकहरूको आकर्षण बढेपछि खुसी लागेको उनको भनाइ छ ।

याे पनि…
धार्मिक पर्यटनका लागि सुन्दर मटिहानी
हिमाली काख ताङतिङमा पर्यटककाे आकर्षण



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन