English

एमसीसी : देउवालाई ओलीकै विश्वास



अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतालाई संसदबाट पास गराउन बल गरिरहेका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो केही दिनयता सक्रियता बढाएका छन् ।

आफू सक्रिय भइरहेका छन् भने आफ्नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सक्रिय बनाएका छन् । पौडेलले एमसीसीको विपक्षमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटिसकेका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षसँगको छलफलसँगै देउवाले मंगलबार बेलुकी प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एमसीसीकै विषयमा कुराकानी गरेका छन् । अध्यक्ष ओलीले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसीसीलगायतका विषयमा छलफल हुन सकिने जवाफ दिए । एमसीसी संसद्मा टेबुल भएपछि ओलीसँग देउवाको यो दोस्रो भेट हो ।

एमसीसी पास गर्न देउवाले कतै ओलीको साथ लिने त होइन भन्ने माओवादी र एकीकृत समाजवादीको आशंकाबीच देउवाले दूतमार्फत वा आफैं पुगेर प्रयास जारी राखेका छन् ।

आइतबार ओली निवास बालकोट पुगेका देउवाले एमसीसी र सरकारको बारेमा चासो राखेका थिए । बालकोटनिकट स्रोतका अनुसार देउवाले ओलीसँग कतै चुनावी तालमेल माओवादी वा नेकपा एससँग हुने त होइन भन्दै आशंका गरेका थिए । ओलीले यो चुनावमा कोहीसँग गठबन्धन नहुने आश्वस्त पार्दै सरकार नढल्नेमा देउवालाई विश्वस्त तुल्याए ।

‘प्रधानमन्त्रीको सरकार गिर्छ कि भन्ने आशंका रहेछ’ बालकोटनिकट स्रोतले भन्यो, ‘अध्यक्षज्यूले गठबन्धन नहुने र सरकार नढल्ने कुरामा आश्वस्त पार्नु भयो ।’ देउवासँगको भेटमा ओलीले सरकारलाई दुई तिहाइनजिक पुर्‍याउने जिम्मा आफूहरूको भएकोमा आश्वस्त हुन आग्रह गरेको थियो ।

एमसीसी पास गर्न देउवाले कतै ओलीको साथ लिने त होइन भन्ने माओवादी र एकीकृत समाजवादीको आशंका छन् ।

एमाले, लोसपा र जसपाको एउटा पक्षलाई लिएर सरकारलाई दुई तिहाइनजिक पुर्‍याउने ओलीको भनाइ थियो । एमसीसीका विषयमा ओलीले प्रष्ट जवाफ नदिए पनि विवेक पूर्‍याएर निर्णय गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

एमसीसीको विपक्षमा मतदान गरे सत्ता गठबन्धन भत्किन्छ : गगन थापा

कांग्रेसका महामन्त्री गगन थापाले सत्ता साझेदार दलहरूले एमसीसीको विपक्षमा मतदान गरे गठबन्धन भत्किने चेतावनी दिएका छन् । मंगलबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

थापाले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य समाप्त हुने बताए । थापाले भने, ‘सत्ता गठबन्धनमा सहभागी भएर त्यही सरकारले अघि सारेको प्रस्तावविरुद्ध मतदान गरिसकेपछि हामी विपक्षमा मतदान गर्छौं, तर बाँकी कुरामा सँगै जान्छौ भन्नु नैतिक हो ?’ एमसीसीलाई यसअघिका सबै कम्युनिस्ट सरकारले समर्थन गरेकोले अहिले विपक्षमा उभिनु जायज नहुने थापाको भनाइ छ ।

एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकालाई एमसीसी फिर्ता लिन आग्रह गरेका छन् ।
जनस्तरमा विरोध भइरहँदासमेत सरकारलेएमसीसी टेबुल गरेको भन्दै गौतमले जनताप्रति सरकार इमान्दार नभएको देखिएको उल्लेख गरेका छन् ।

मंगलरबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिए नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् । ‘मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु‚’ गौतमले भनेका छन्, ‘यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रकाबीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने सहयोग मिल्नेछ ।’

यो पनि
मसीसीको विरोधमा हिंसात्मक गतिविधि नगर्नू : गृह



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित