राजदूत हुन किन मरिहत्ते गर्छन् उपल्लो पदमा पुगेकाहरू नै ?
– डा. युवराज खतिवडा अमेरिकाका लागि नेपालका राजदूत हुन् । उनी योजना आयोगको उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर र नेपाल सरकारको अर्थमन्त्री भइसकेपछि हाल राजदूत भएका हुन् ।
– त्यसैगरी पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे पनि हालै राजदूत भएका छन् । पाण्डे चीनका लागि नेपाली राजदूत भएका हुन् ।
– मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री भइसकेपछि राजदूत बनेका थिए । उनी अमेरिकाका लागि नेपाली राजदूत बनेका थिए ।
विगत र वर्तमानका माथिका यी तीन उदाहरणले राजदूतमा भयंकर आकर्षण छ, भन्ने जनाउँछ नै ।
कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग किमी) होस् अथवा विश्वको सबैभन्दा ठूलो राष्ट्र रसिया (रसियन फेडेरेसन) होस् । राजदूत पदमा सर्वाधिकार सम्पन्न भन्ने विशेषण जोडिएको हुन्छ । त्यो भनेको कुनै पनि राष्ट्रले अर्को मित्र राष्ट्रसँग आधिकारिक काम कार्वाही गर्दा विशेष अधिकारप्राप्त व्यक्ति भन्ने जनाउँदछ । पुरानो समयमा राष्ट्रहरूले राजदूतलाई यो भन्दा पनि बढी अधिकार दिएर पठाउने चलन थियो ।
राजदूतले कुनै देशसँग मैत्री सन्धि गर्ने वा युद्ध घोषणा गर्ने अधिकार समेत पाएका हुन्थे । अर्कोतर्फ राजदूतलाई कुनै राज्यले कुनैै राज्यमा आफनो देशको हित प्रवर्द्धन गर्नको लागि झुठको सहारासम्म लिन सक्थे । राजदूत वा कुटनीतिज्ञले कुनै व्यक्तिलाई राम्रो कुराकानी गरेर फकाई फूल्याइ हाँसी हाँसी नरकमा जान पनि तयार बनाउन सक्थे भन्ने भनाई थियो ।

यी त पुरानो कुरा हुन् । अबको विश्वमा धेरै परिवर्तनहरू भइसकेका छन् । सञ्चारको अद्भूत प्रगतिले गर्दा विश्वमा कल्पना नै गर्न नसकिने गरी परिवर्तनहरू भएका छन् । अतः अन्तर्राष्ट्रिय कुटनीतिमा राजदूत पदको गरिमा तथा महत्व झनै बढेको पाईन्छ । सन् १९६१ को भियना अभिसन्धिअनुसार कुटनीतिज्ञ संरक्षित व्यक्ति पनि हुन् ।
अब पुरानो कुरालाई नै फेरि एकपल्ट संस्मरण गर्ने हो भने रामायण कालमा राजा रावणले सीतालाई हरण गरेपछि रामको दूत भई हनुमान रावणको दरवारमा पुगेका थिए । त्यहाँ रावण र हनुमानको चर्काचर्की परेपछि रावणले हनुमानलाई मृत्युदण्ड दिन आदेश दिएका रहेछन् । तर विभीषणले हनुमानलाई रामको दूत बनेर आएकोले बध गर्न नहुने सल्लाह दिएका थिए । यो कुरा हालको विश्व कुटनीतिमा पनि लागू हुन्छ ।
कुनैपनि देशमा रहेको विदेशी राजदूतावास अक्षुण रहन्छ । देशको सरकारले राजदूतावासमा काम गर्ने राजदूतलगायत अन्य कुटनीतिज्ञहरूलाई अनिवार्य रूपमा संरक्षण दिन आवश्यक पर्दछ । साथै उनीहरूको जीविकोपार्जनको लागि विभिन्न सुविधाहरू पनि दिइन्छ ।
त्यसको अलावा राजदूत पद भनेको आर्थिक तथा अन्य विभिन्न सुविधाहरू पाउने आकर्षक पद हो । यसको साथै राजदूत पद आफैंमा गरिमामय पनि छ । संसारका विभिन्न तह तप्काका व्यक्तिहरूसँग चिनजान गर्न पाउने अर्को विशेषता रहन्छ । यी कारणहरूले गर्दा राजदूत पदमा नियुक्ति पाउन पढेलेखेका व्यक्तिहरूमा स्वभावतः ईच्छा हुन्छ । तर राजदूत पदमा नियुक्ति पाउन त्यति सजिलो भने छैन । खासगरी धेरैजसो देशहरूमा राजदूतहरू कुटनीतिक सेवामा अब्बल भएका व्यक्तिहरू नियुक्ति हुने गर्दछन् । हुन त राजदूतको नियुक्तिमा विभिन्न देशहरूले आ–आफना तरिका अपनाएका हुन्छन् ।

यसो हेर्दा सबै देशमा नियुक्तिको प्रक्रियामा एकरुपता नभएतापनि मुख्यतया दुई प्रकारले राजदूतहरू निुयुक्त भएका देखिन्छन् । अमेरिकामा राजदूतहरू प्रायः कुटनीतिक सेवाका अधिकृतहरू नियुक्त गरिन्छन् । तर राष्ट्रपतिले आफना विश्वासपात्र अन्य व्यक्ति, सिनेटर, चन्दादाता तथा ठूला व्यापारिक कम्पनीका प्रसिडेन्टहरूलाई पनि नियुक्त गरेका उदाहरणहरू पनि पाईन्छन् ।
राजदूतको नियुक्तिमा अहिलेसम्म सबैभन्दा उच्च स्तरको नियुक्ति अमेरिकाले भूतपूर्व उपराष्ट्रपति तथा राष्ट्रपति पदमा चुनाव लडेर हारेका वाल्टर मुन्डेललाई जापानका लागि राजदूत नियुक्त गरेको थियो । त्यस्तै भूतपूर्व प्रधानमन्त्री, मन्त्रीलगायत अन्य उच्च पदमा काम गरिसकेका व्यक्तिहरूलाई पनि देशको आवश्यकताअनुसार राजदूत पदमा नियुक्त गरिएका उदाहरणहरू पाईन्छन् ।
अब नेपालकै कुरा लिऊँ, राजदूत पद एउटा विशेष आकर्षणको पद रही आएको छ । नेपालमा राजदूत नियुक्तिमा एउटा मापदण्ड अपनाईएको पाईन्छ । कूटनीतिक सेवाका सहसचिवस्तरमा पुगिसकेका कर्मचारीहरूलाई वरिष्ठताको आधारमा नियुक्ति गरिन्छ । त्यसका साथै अन्य सेवा वा समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई राजदूत पदमा नियुक्ति गरिएको उदाहरण छ । कूल खाली पदहरूमध्ये कूटनीतिक सेवाबाट ५० प्रतिशत र अन्य सेवाका व्यक्तिहरूलाई ५० प्रतिशत मिलान गरी नियुक्ति गर्ने चलन छ । राजदूत भई विदेशमा काम गर्दा नेपालमा भन्दा तलब भत्ताको सुविधा पनि ठूलो हुने तथा अन्य कतिपय भौतिक सुविधाहरू पनि प्राप्त हुने हुँदा नेपाली समाजमा राजदूत पद सदा केन्द्रविन्दुमा आकर्षक भई रही आएको छ ।

अब प्रश्न उठ्छ हाम्रो देशबाट राजदूत नियुक्ति भई गएका व्यक्तिहरूले आफ्नो देशको हित प्रवद्र्धन गर्न के कस्ता काम कारवाही गरे त ? साथै त्यो पदमा को कस्ता व्यक्तिहरू पनि नियुक्ति भएका छन् ?
हाम्रो नीति नियममा कुनै पनि राजदूत एक अवधि अर्थात् ४ वर्षको लागि नियुक्त हुन्छन् । यति लामो अवधिमा आफनो देश र जनताको लागि केही पनि राम्रो काम नगर्ने राजदूतलाई अकर्मण्य मान्नुपर्दछ । नेपालका राजदूतहरूले के कस्ता काम गरे भन्ने मूल्याङ्कन गर्ने परिपाटी बसेको देखिदैन । यो जनताको लागि दुर्भाग्य हो ।
अर्कोतर्फ, यहाँ राजदूत हुन योग्य व्यक्तिको कमी छैन । तर, नेतृत्वले योग्य सम्झेकाहरू कामको हिसावमा अयोग्य भएका उदाहरण धेरै छन् । राजदूत पदमा कुटनीतिक सेवा बाहिरका व्यक्तिहरू धेरै जसो व्यक्तिगत चिनजानबाटै नियुक्त भएका देखिन्छन् । जबकि साधारणतया राजदूत नियुक्तिको लागि कम्तिमा २५ वर्षको अनुभव आवश्यक हुन्छ ।