लघु कथा : ‘रश्मी मिसको बैना’
‘गायत्रीलाई पेट दुख्यो रे सर ।’
शिवराज सर कक्षा कोठामा पस्दा पस्दै एक विद्यार्थीले अर्को विद्यार्थीको समस्या सुनाइन् । शिवराज सर ले यस्सो गायत्री बसेको टेबल तिर हेर्नु भयो । गायत्री टेबलमा घोप्टिएर ऐया आत्था गरिरहेकी छिन् । शिवराज सरले शंकाको दृष्टीले हेर्नुभयो । साँच्चै पेट दुखेको होला कि, गृहकार्य नसकिएको कारणको बहाना बाजी ?
गायत्री औसत विद्यार्थी । गृहकार्य स्कूलमै गर्ने । सोध्यो भने घरमा त पढ्ने लेख्ने समय नै छैन भन्थिन् । स्कूलमा बसेर जति गृहकार्य गर्यो उति । त्यसैले गायत्रीका गृहकार्य छुटिरहन्थ्यो । केही दिनदेखि गृहकार्य बुझाउन छुटिरहेको थियो ।
शिवराज सरले पेट दुखेको भनेर पत्याउनु नै भएन । विद्यार्थीहरू एक न एक बहाना गर्न माहिर छन् । त्यसैले होला शिवराज सर ले भन्नु भो – म गृहकार्य सबै हेर्न चाहन्छु । पेट दुख्यो भन्दैमा गृहकार्य गर्नु पर्ने काममा छुट हुँदैन । गायत्री ले बोलिनन् । दुबै हात पेटमा राखेर आँखाबाट आँसु झारिरहिन् । शिवराज सरले केटाहरु भइदिएको भए, कहाँ दुख्यो खै भनि सक्नुहुन्थ्यो । केटी विद्यार्थी भएकाले त्यसो भन्न त सक्नु भएन । त्यसैले शिवराज सरले गायत्रीलाई हेडमिस रश्मीको कोठामा लग्नुभयो ।
रश्मी मिसले शिवराज सरलाई बाहिर पठाउनु भयो र गायत्रीको नजिक गएर सोध्नु भयो– के भो नानी ? पिरियड भयो? कतिदिन भयो ? गायत्रीले जवाफ दिइनन् । ऐया ऐया… कराइरहिन । त्यति बेला पियनले चिया लिएर आए । रश्मी मिसले गायत्रीको लागि पनि चिया मगाउनु भयो ।
कर गरेर चिया खुवाएपछि गायत्रीले अलि अनुहार उज्यालो पारिन् । त्यो देखेर पेटमा ग्यास बढेको ठानेर गायत्रीको लागि तातो झोल भएको थुक्पा मगाउनु भयो । हेड मिस रश्मीको आत्मीय व्यवहार देखेर गायत्रीले भनिन् – मिस घरमा खाने अन्न नभएको तीन दिन भयो । अलि–अलि पीठोको खोले बनाएर खाएको । मलाई खान नपुगेरै पेट दुखेको हो !
हेडमिस ले सोचेको भन्दा अलग समस्या थियो त्यो । यो गाउँका मान्छे तीन दिनसम्म खान नपाउने हुन सक्छन् भनेर कसरी सोच्नु ? अनि सोध्नु भयो
‘घरमा को–को हुनुहुन्छ ?’
‘आमा र म’
‘आमा के गर्नु हुन्छ’
‘अरुको काम गर्नु हुन्छ’
‘आफ्नो जमिन छैन ?’
‘छैन । थियो काकाहरूले आफ्नो बनाए ।’
हेड मिसले गायत्री को आमालाई बोलाउन लगाउनु भयो र भनुभयो– मेरो घरमा काम छ अलि–अलि गर्नु हुन्छ ?
आमाले भनिन् – ‘गर्छु ।’
अहिले तत्काल गर्नु पर्ने छैन परेको बेलामा बोलाउँछु । अहिले लाई यो बैना भो ! हातमा दुई हजार रुपियाँ राखिदिएर भन्नुभयो ।
यो पनि पढ्नुहोस्
एकल आमा–२
प्लीज पारमिता