English

एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्रीको दौडधुप : बालुवाटार टू बालकोट



एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलहरूबीच मतभेद जारी छ । बिहीबार निर्णायक भनिएको बैठकमा दलहरू निष्कर्षमा पुग्न सकेनन् । बैठक शुक्रबार पनि बोलाइएको छ । एमसीसीकै कारण सत्ता गठबन्धनको भविष्य अन्योलमा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने अडानमा छन् । त्यसैका लागि उनको दौडधुप बढेको छ । सत्ता गठबन्धनमा सहमति नजुटे प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहयोग लिने योजनाअनुसार प्रधानमन्त्री अगाडि बढेका छन् । प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा छन् ।

बिहीबार के-के भयो ?

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

गठबन्धन बैठक बेलुकी पाँच बजेका लागि तय गरिएपछि प्रचण्ड र माधव नेपालबीच छलफल भयो । छलफलको विषय एमसीसी नै थियो । नेपालसँगको भेटपछि प्रचण्डले पाँच बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निक्र्योल हुने बताएका थिए । तर बैठक विनानिष्कर्ष सकियो । गठबन्धन जोगाउन पक्षमा आफूहरू रहेको प्रचण्डले सञ्चारकर्मीलाई बताएका थिए ।

गठबन्धनको बैठकबाट बाहिरिए माधव नेपाल र झलनाथ खनाल

सत्तारुढ गठबन्धनको बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल बाहिरिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी पाँच बजेपछि बैठक सुरु भएको थियो । नेपाल र खनालले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया भने दिएनन् ।

बैठकमा कांग्रेसको तर्फबाट प्रधामन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण प्रसाद सिटौला सहभागी थिए ।

यस्तै माओवादीबाट प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, झलनाथ खनाल सहभागी थिए । जसपाबाट डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी थिए ।

एमसीसीका विषयमा गम्भीर छलफल

सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको भनाइमा एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयो । उनी भन्छन्, ‘आज गम्भीर विषयमा गम्भीर छलफल भयो । भोलि बिहान १० बजे पुनः बैठक बस्ने छ ।,’

उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्‍याउने भन्नेबारे छलफल भएको बताए । उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल हुने बताएका छन् ।

प्रधानमन्त्री देउवा ओली निवासमा

प्रधानमन्त्री देउवा श्रीमती आरजू देउवा राणासहित साँझ प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे । सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका थिए । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेका हुन् ।

८ दलीय मोर्चा एमसीसीविरुद्ध

एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो ।

मोर्चाले फागुन ६ गते देशभर संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ । यसका साथै सोही दिन १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आन्दोलनमा छन् ।

यस्तै चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगगतन्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी एमसीसीविरुद्ध संयुक्त आन्दोलनमा छन् ।

यो पनि
एमसीसीमा सत्ता गठबन्धनका पाँच दल पाँचतिर, कसको पोजिसन के ?



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन