English

एमसीसी : सडक र संसद्का यी दश घटना



यतिखेर देशको राजनीति अमेरिकी सहयोग परियोजना (एमसीसी) ले तातेको छ । सरकारले आज बुधबार संघीय संसदमा टेबुल गर्ने भनिएको एमसीसी प्रस्ताव टेबुल हुन सकेन । पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमै एमसीसी प्रस्ताव टेबुल नभएको हो ।

शीर्षस्त राजनीतिक दलहरूबीच एमसीसीकै विषयमा छलफल भइरहँदा केही साना दल भने सडकमा उत्रिए । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, राप्रपा, नेकपा माओवादी (क्रान्तिकारी) नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीलगायत दलले राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरे ।

प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहानसमेत भयो । प्रतिनिधिसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले सदाझैं अवरोध गर्‍यो । अर्को बैठक सभामुख अग्नि सापकोटाले शुक्रबार बोलाएका छन् । एमसीसीविरुद्धका केही घटना हेरौं ।

घटना १ : राँके जुलुस

महोत्तरीमा माओवादी केन्द्रनिकट भातृ संगठनले एमसीसीविरुद्ध बुधबार बेलुकी प्रदर्शन गरेका छन् । केही दलहरू एमसीसी पास गराउने षड्यन्त्रमा लागि रहेको भन्दै जिल्लाको बर्दिबास सहरमा वाइसिएलले राँके जुलुस निकालेको हो ।

वाइसिएल नेपालका प्रदेश इन्चार्ज शङ्कर महतोले एमसीसी पास गराउन सरकार लागि परेको बताउँदै त्यसविरुद्ध थप आन्दोलित बन्ने चेतावनी दिएका छन् ।

राँके जुलुसलाई नियन्त्रण गर्ने क्रममा केहीबेर प्रहरी र वाइसिएल कार्यकर्ताबीच झडपसमेत भएको थियो । एमसीसीको आँखा नेपालका प्राकृतिक सम्पदामा परेको बताउँदै इन्चार्ज महतोले ज्यान गए पनि यसको प्रतिवाद गर्ने बताएका छन् ।

घटना २ : एमसीसीविरुद्ध एकैठाउँमा दुई वटा विरोध कार्यक्रम

एमसीसीविरुद्ध खोटाङमा फरक-फरक दुई वटा विरोध कार्यक्रम भए । दिक्तेलमा नागरिक समाजकातर्फबाट हस्ताक्षर संकलन तथा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनले विरोध जुलुस प्रदर्शन गरे । एमसीसी सम्झौता फिर्ताका लागि दबाब स्वरूप नागरिक समाजकातर्फबाट दिक्तेलबजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई पठाइएको छ ।

दिक्तेलबजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले नेपाल सरकार समक्ष पुग्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । दिक्तेलबजारमा नो एमसीसी, गो व्याक एमसीसी, रेजेक्ट एमसीसी, एमसीसी फिर्ता गरलगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गरिएको थियो ।

घटना ३ : राप्रपाका दर्जन बढी कार्यकर्ता पक्राउ

एमसीसीको विरोध गर्दै राप्रपाका विभिन्न २१ भातृ संगठनहरूले काठमाडौंमा गरेको प्रदर्शनमा दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेको जनाएको छ । राप्रपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको मागसहित प्रहरी प्रशासनले गरेको दमनको निन्दा एवम् भत्सर्ना गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेता, कार्यकर्तामाथिको दमन संविधान प्रदत्त अधिकारको खिलाफमा छ । प्रशासनबाट भएको अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास र पानीको फोहराको प्रयोगबाट धेरै नेता, कार्यकर्ता घाइते भएका छन् ।’

प्रदर्शनका क्रममा राप्रपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, कोषाध्यक्ष मदन शाही, पब्लिक युथ कलेजका इकाइ अध्यक्ष सुसन पुलामी मगरसहित दर्जनौं कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना ४ : कैलाली, कञ्चनपुरमा बन्दको प्रभाव

एमसीसीको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव कैलाली, कञ्चनपुरमा सामान्य रह्यो । एमसीसीको विरोधमा ६ दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेको थियो । प्रहरीका अनुसार कैलाली र कञ्चनपुरका बजार क्षेत्र फाटफुट बन्द भयो ।

बजार क्षेत्रमा विद्युतीय रिक्सा र मोटरसाइकल चलेका थिए भने ठूला सवारीसाधन बन्द रहेका थिए । बजार क्षेत्रबाहेकका स्थानमा भने ठूला सवारीकासाधान पनि चलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक रबिन विष्टले बताए । उनका अनुसार कैलालीमा बन्दकर्ताले शान्तिपूर्ण रूपमा प्रदर्शन गरे पनि कुनै अप्रिय घटना भने भएको छैन ।

घटना ५ : पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको थियो । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएको थियो ।

यद्यपि, प्रहरी र सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्‍यो । ठाउँ-ठाउँमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यतिखेर देशको राजनीति अमेरिकी सहयोग परियोजना (एमसीसी) ले तातेको छ । सरकारले आज बुधबार संघीय संसदमा टेबुल गर्ने भनिएको एमसीसी प्रस्ताव टेबुल हुन सकेन । पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमै एमसीसी प्रस्ताव टेबुल नभएको हो ।

घटना ६ : अखिल अध्यक्ष पराजुली पक्राउ, वाइसिएल संयोजक देवकोटा घाइते

एमसीसीको विरोधमा प्रदर्शन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अखिलका अध्यक्ष सुदेश पराजुली पक्राउ परेका छन् । उनी नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । प्रदर्शनकै क्रममा माओवादीनिकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा भने घाइते भएका छन् ।

घटना ७ : ६ फागुनमा एमसीसी प्रस्ताव टेबुल हुने कानुनमन्त्री दाबी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले शुक्रबार संसद्मा एमसीसी टेबुल गरिने बताएका छन् । त्यसका लागि गठबन्धनका दलहरूबीच सहमति जुटाइने बताए । उनले एमसीसीबारे सल्लाह र सहमति गठबन्धनकै दलहरूबीच आवश्यक देखिएका कारण आजको बैठकमा प्रस्ताव टेबुल नगरिएको दाबी गरे ।

घटना ८ : भीम रावलको चुनौती

एमाले सांसद भीम रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहित विपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताए । भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘एमसीसीका सम्झौता, यससँग सम्बन्धि अन्य सम्झौताका बुँदा बुँदामा बहस गर्न आउन चुनौती दिन्छु ।’

घटना ९ : एमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिए । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका थिए ।

घटना १० : कांग्रेसको ह्वीप

नेपाली कांग्रेसले आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्‍यो । एमसीसी सम्झौता अनुमोदनकै लागि कांग्रेसले आफ्ना सांसदमा ह्वीप जारी गरेको हो । कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्नुपर्ने र यसमा लागि सबै राजनीतिक दल सहभागी हुन पनि आग्रह गरेको थियो ।

यो पनि
संसदमा एमसीसी टेबुल नगर्ने सहमति, देउवाले डाके गठबन्धन बैठक



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन