English

स्वस्थानी व्रतको समापन, यस्तो छ धार्मिक विश्वास



पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा शुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्न कालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गरेका हुन् ।

त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ महात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य भएको छ ।

विधिपूर्वक एकमहिने व्रतको समापनका दिन माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई ‘व्रतको कामना पूर्ण होस्’ भनी स्वस्थानी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बसेर देवीको महात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ ‘आफू बसेको स्थानको देवी’ भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने व्रतकथामा उल्लेख छ ।

रोगव्याधी लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग–नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्वले जानकारी दिए ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईले बताए ।

उपत्यकाको पूर्वी भेगस्थित शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ । विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण १२५ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ ।

महिला १०६ र पुरुष १९ गरी १ सय २५ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीनेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

यो पनि
आजदेखि स्वस्थानी व्रत एवं माघस्नान सुरु
शालीनदीमा माधवनारायण व्रत समापन गरिँदै



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन