English

डिजिटल लतबाट बालबालिकालाई कसरी जोगाउने ?

सन्तानको जीवनशैली डिजिटलमय बन्दै जाँदा त्यसबाट उत्पन्न नकारात्मक प्रभावबाट चिन्तित छन् अभिभावक


एकपटक धनगढीस्थित चटकपुर पुगौँ, जहाँ बस्छिन्, निर्मलादेवी भट्ट । निरन्तर मोबाइल चलाउने छोरा सुशीलको बानी देखेर निर्मला चिन्तित छिन् । सुशीलले दिनमा करिब ६ घण्टा मोबाइलमा ‘फ्री–फायर’ नामक अनलाइन गेम खेलेर बिताउँछन् । उनको सोही बानी छुटाउन निर्मलाले हरेक प्रयास गरिन्, तर सबै कोशिस विफल भए । सुशीलको ध्यान नियमित खानपान, पठनपाठन, शारीरिक खेलकुदभन्दा अनलाइन गेममा बढी छ । जसले उनको समय र पैसा दुवै खेर गइरहेको छ ।

सुशीलले कोरोनाको लहर शुरु हुनुभन्दा पहिले मोबाइल चलाउँदैथे । सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक कोरोना भाइरस पुष्टि भयो । त्यसको केही समयपश्चात् कोरोना कहर विश्वभर फैलियो । कोरोना भाइरस तीव्र गतिमा फैलिए पनि प्रायः सबै राष्ट्रले लकडाउन घोषणा गरे ।

नेपालमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि देशव्यापी लकडाउन घोषणा भयो । उक्त लकडाउन करिब पाँच महिना लागू भयो । देशव्यापी लकडाउन भएपछि सार्वजनिक स्थल, शिक्षण संस्थाहरू पूर्ण रूपमा बन्द भए । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाहरू घरमै सीमित भए । सोही समयमा सुशीलले पनि मोबाइलमा गेम चलाउन शुरु गरे । जुन हाल ‘अनलाइन गेम’ उनको दैनिकी बनेको छ । ‘मोबाइल एकपटक पनि छोड्दैन । केही काम गर्न लगाए पनि झकिर्ने, रिसाउने गर्छ’, निर्मला निराश सुनिइन्, ‘पहिले यस्तो थिएन । कोभिड–१९ संक्रमणको बेला स्कुल बन्द भए । पढाइ नहुँदा खाली समयमा मोबाइल चलाउँथ्यो । बच्चा नै छ, कोरोना नियन्त्रण हुँदै जाँदा सबै ठीक होला भन्ने सोचेकी थिएँ । तर, छोराले मोबाइल झन् बढी चलाउन थाल्यो ।’

डा. शैलेस प्रधान
नेत्ररोग विशेषज्ञ

मोबाइल र कम्प्युटरबाट आउने हानिकारक किरणहरूले आँखामा समस्या पैदा गर्छ । बच्चाको निरन्तर मोबाइल चलाउने बानीलाई नियन्त्रण गर्न सकिएन भने कालान्तरमा आँखासम्बन्धी अन्य समस्या निम्तिन सक्छन् ।

सुशीललाई चाँडै बाल मनोविद्कहाँ लैजाने तयारी गर्दै छिन् निर्मला । अरू उपाय पनि त छैन उनीसँग । यो थियो निर्मलाले भोग्नुपरेको नियति । निर्मलाको जस्तै समस्या छ, डम्मरी उपाध्यायको पनि । उनी पनि धनगढी, चटकपुरकी बासिन्दा हुन् । उनका चार वर्षीय छोरा नकुलले मोबाइलको प्रयोग बिना खाना खानै मान्दैनन् । नकुलले सामाजिक सञ्जाल ‘युट्युब’ मार्फत कार्टुन हेर्छन् ।

एकछिन मोबाइल चलाउन नदिँदा रुने, मिलाएर राखेका सामान फाल्ने, माटोमा लडबडिने, झगडा गर्न तम्सिने जस्ता क्रियाकलाप गर्छन् । नेपालमा लकडाउन शुरु हुनुभन्दा पहिले नकुल नर्सरी कक्षामा भर्ना भएका थिए । तर, कोरोनाका कारण स्कुल नियमित सञ्चालन नहुँदा उनी मोबाइल र टेलिभिजन स्क्रिन हेर्न थाले । ‘पढाइमा पटक्कै ध्यान छैन । पढ्न बसाउँदा निदाएको नाटक गर्ने, रुने, कराउने गर्छ’, छोराको भविष्यलाई लिएर चिन्तित देखिएकी डम्मरी भन्दै थिइन, ‘नियमित स्कुल जान पाएको भए सायद यस्तो हुँदैनथ्यो । घरमा म पनि व्यस्त भए, ध्यान दिन सकिँन । ऊ घरबाहिर जाँदा केही दुर्घटना हुन्छ कि ! भन्ने पिरले मोबाइल हेर्न दिन्थेँ । तर, अहिले त सम्हाल्नै मुस्किल भएको छ ।’
घरको जिम्मेवारी सम्हाल्ने क्रममा बच्चालाई उचित समय दिन नसकेकोमा हाल आएर उनलाई पछुतो लागिरहेको छ ।

यस्तै, विगत तीन वर्षदेखि काठमाडौंस्थित शंखमूलमा भाडामा बस्दै आएकी पुष्पा जोशी पनि छोरीको नियमित ल्यापटप हेर्ने बानीले आजित भइसकेकी छन् । उनकी तीन वर्षीया छोरी आरतीले युट्युबमा ‘लाली गाई’ नामक भिडियो अत्यधिक हेर्छिन् । पढ्न बसाउँदा आरतीले आनाकानी गर्ने, रुने, झुट बोल्छिन् । ‘स्कुल गएको समयबाहेक अरूबेला ल्यापटपमै बस्छे’, मुर्मुरिएको भावमा पुप्षा पिरलो पोख्दै थिइन्, ‘स्कुुल गएको समय त ढुक्क हुन्छु । तर, घर आउनेबित्तिकै ल्यापटप खोज्छे । ल्यापटप नदिऊँ भने रोएर अरूलाई पनि डिस्टर्ब गर्छे, दिऊँ भने बानी बिग्रीसक्यो । घरतिर भएको भए बाहिर खेल्न सहज हुन्थ्यो । यहाँ एउटै कोठाभित्र ल्यापटप हेरेरै बस्छ ।’

खेल्ने पर्याप्त ठाउँ नहुँदा पनि छोरीले मोबाइल, ल्यापटप चलाउन जिद्दी गरेको पुष्पाको बुझाइ छ । कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरले बालबालिकाको नियमित पठनपाठनमा असर प¥यो । यो बेला बालबालिकाको ध्यान पढ्नभन्दा मोबाइल, ल्यापटप, टेलिभिजन स्क्रिनतिर बढी गयो । निरन्तर मोबाइल, ल्यापटप तथा अन्य ग्याजेटको प्रयोग गर्दा बालबालिका असामाजिक हुन सक्ने, परिवारका सदस्यसँग रिसाउने, झगडा गर्ने, जिद्दी तथा अटेरीपन जस्ता व्यवहार देखाउन थालेको अभिभावकको गुनासो छ ।

अनि बालबालिकाको व्यवहार फेरियो

मोबाइल, टेलिभिजन मानिसको सुविधाका लागि बनाइएका हुन् । तर, यसको हदभन्दा धेरै प्रयोगले हामीलाई नै नोक्सान गर्न सक्छन् ।
कोरोना कहरपश्चात् मन्टेश्वरी लेभलका कुल बालबालिकामध्ये २० प्रतिशतमा डिजिटल (भर्चुअल) अटिज्मको समस्या देखिएको क्यारिवियन माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष दाहाल सुनाउँछन् । उनका अनुसार विशेषगरी मन्टेश्वरी लेभलका बालबालिकामा डिजिटल अटिज्मको समस्या अत्यधिक देखिएको छ ।

अभिभावकहरू जागिरे हुन्छन् । बच्चालाई पर्याप्त समय दिन पाउँदैनन् । यससँगै लकडाउनमा घरमै बस्दा अभिभावकको बेवास्ताका कारण बालबालिकामा मोबाइल, ल्यापटप, आइफोन, आइप्याड जस्ता ग्याजेटको लत बस्यो ।

सन्तोष दाहाल
प्रधानाध्यापक
क्यारिवियन माध्यमिक विद्यालय

‘विशेषगरी, शहरी क्षेत्रका बालबालिकामा कोभिड पछाडि ८ वर्ष मुनिका बालबालिकामा डिजिटल अटिज्म र ९ वर्ष माथिका बालबालिकामा गेमिङ डिसअर्डरको समस्या देखिएको छ’, दाहाल समस्याको जरो खोज्दै थिए, ‘अभिभावकहरू जागिरे हुन्छन् । बच्चालाई पर्याप्त समय दिन पाउँदैनन् । यससँगै लकडाउनमा घरमै बस्दा अभिभावकको बेवास्ताका कारण बालबालिकामा मोबाइल, ल्यापटप, आइफोन, आइप्याड जस्ता ग्याजेटको लत बस्यो ।’

यिनै कारणले बालबालिकामा सामाजिक नहुने, नबोल्ने, मान्छे देख्नेबित्तिकै तर्सिने, डराउने, दोहोरो संवाद नरुचाउने, कक्षाकोठामा एकोहोरिएर बस्ने, मेहनत नगर्नेजस्ता व्यवहारिक समस्याहरू देखिएको दाहालको ठम्याइ छ ।

बालबालिकाले सामाजिक सञ्जालमा हेरेको भिडियो तथा अन्य सामग्री फररर भन्ने तर दोहोरो कुराकानी गर्न डराउने गरेको ललितपुर प्याब्सन अध्यक्ष निरोज महर्जन सुनाउँछन् । ‘साना बालबालिकालाई मोबाइल धेरै चलाउन दिँदा भावी दिनमा समस्या निम्तिन सक्छ’, अध्यक्ष महर्जन उपाय खोज्दै थिए,‘त्यसैले अभिभावकहरूले आफ्ना नानीबाबुलाई मोबाइल, ल्यापटप, टेलिभिजनबाट टाढै राख्नु बेस हुन्छ ।’
शिक्षक र अभिभावकले समन्वय गरेर बालबालिकाको उज्जवल भविष्यतिर ध्यान दिनुपर्ने उनको तर्क छ ।

यसकारण लत छुटाउनै पर्छ

डिजिटल स्क्रिनमा अत्यधिक समय बिताउँदा कसैलाई पनि फाइदा हुँदैन । अझ बालबालिकालाई मोबाइल, कम्प्युटर, ल्यापटपजस्ता डिजिटल साधनको स्क्रिन अगाडि राख्नु अति घातक हुने बताउँछन् मनोचिकित्सक डा. अरुणराज कुँवर ।

‘सामान्यतया बच्चा हुर्किंदै गर्दा अन्य मान्छेसँग घुलमिल हुने, खेल्ने, हाँस्ने, बोल्नेलगायतका काम गर्छन् । तर, सानै उमेरको बच्चालाई धेरै मात्रामा मोबाइल, कम्प्युटर, टेलिभिजन देखाउँदा त्यस्ता ग्याजेटसँग मात्र घुलमिल हुन्छन्’, मनोचिकित्सक कुँवर बताउँदै थिए,‘आजभोलिका बालबालिकाले हाँस्ने, बोल्ने, खेल्ने जस्ता सामाजिक क्रियाकलापहरू गर्दैनन् । झट्ट हेर्दा संकेत अटिज्म जस्तो देखिन्छ ।’

डा. अरुणराज कुँवर
मनोचिकित्सक

टु मच डिजिटल एक्सपोजर’ ले गर्दा बालबालिकाहरू अरूसँग घुलमिल नहुने तथा दोहोरो संवाद गर्न रुचाउँदैनन् । जसलाई डिजिटल वा भर्चुअल अटिज्म भनिन्छ । सानै उमेरमा मोबाइल देखाउने बानीले बच्चालाई धेरै असर गर्छ ।

डा. कुँवरका अनुसार ‘टु मच डिजिटल एक्सपोजर’ ले गर्दा बालबालिकाहरू अरूसँग घुलमिल नहुने तथा दोहोरो संवाद गर्न रुचाउँदैनन् । जसलाई डिजिटल वा भर्चुअल अटिज्म भनिन्छ । सानै उमेरमा मोबाइल देखाउने बानीले बच्चालाई धेरै असर गर्छ । अभिभावकहरूले तीन/चार वर्षभन्दा कम उमेरका बालबालिकालाई मोबाइल स्क्रिन देखाउनु हुँदैन । यसैगरी, समयै बालबालिकाको मोबाइल लत छुटाउन सकिएन भने भविष्यमा उनीहरूलाई समाजमा स्थापित हुन असहज हुने मनोचिकित्सक कुँवरको भनाइ छ ।

नत्र आँखामा पर्न सक्छ असर

बालबालिकाहरूले लगातार मोबाइल, ल्यापटप, टेलिभिजनको स्क्रिनमा हेर्दा उनीहरूको आँखामा असर पर्ने नेत्ररोग विशेषज्ञ डा. शैलेश प्रधानले जानकारी दिए । डा.प्रधानले सुझाएअनुसार लगातार कम्प्युटर वा मोबाइलको स्क्रिन हेर्दा आँखा सुक्खा र रातो, हुने समस्या बढ्छ । ‘मोबाइल र कम्प्युटरबाट आउने हानिकारक किरणहरूले आँखामा समस्या पैदा गर्छ’, डा. प्रधान सावधान गराउँदै थिए । ‘बच्चाको निरन्तर मोबाइल चलाउने बानीलाई नियन्त्रण गर्न सकिएन भने कालान्तरमा आँखासम्बन्धी अन्य समस्या निम्तिन सक्छन् ।’
त्यसैले, बालबालिकालाई मोबाइल स्क्रिनबाट टाढा राख्न र भिटामिन ‘ए’ युक्त खानेकुरा खुवाउन अभिभावकलाई डा. प्रधान सुझाव दिन्छन् ।

अध्ययनबाहिर भर्चुअल अटिजम

कोरोना कहरपछि सुन्नमा आएको भर्चुअल अटिजमबारे विदेशमा अध्ययन भए पनि नेपालमा विस्तृत रूपमा अध्ययन, अनुसन्धान नगरिएको अटिजम केयर नेपाल सोसाइटीका प्रशासकीय निर्देशक सुरेन्द्र बज्राचार्य बताउँछन् । ‘भर्चुअल अटिजम रोमानियाको एक वैज्ञानिकले पत्ता लगाएको जानकारी पाएको छु’, बज्राचार्य बताउँदै थिए, ‘भर्चुअल अटिजम आफैमा फराकिलो विषय हो । यसको अध्ययनका लागि ठूलो लगानी, जनशक्ति चाहिन्छ । हामीहरू अन्य प्रोजेक्टमा व्यस्त भएकाले तत्काल यसको अध्ययन गर्ने विचार बनाएका छैनौं । लकडाउनमा अभिभावक पनि धेरै डिजिटल स्क्रिनमा बस्ने भएकाले सोही देखेर बच्चामा पनि असर देखिएको हो ।’ तर, मोबाइल, टेलिभिजनको स्क्रिन हेर्दैमा अटिजम नै भएको भन्न नमिल्ने उनले स्पष्ट पारे ।

डा. उत्कर्ष कार्की
बालमनोचिकित्सक

बालबालिकाले अत्यधिक टेलिभिजन, मोबाइल हेर्छन् । जसकारण उनीहरूको आँखा, मेरुदण्ड, निन्द्रामा समस्या उत्पन्न हुन्छ । त्यसैले, स्क्रिनमा अत्यधिक समय बिताउनुभन्दा शारीरिक तथा सिर्जनात्मक कार्यमा बालबालिकालाई व्यस्त राख्नुपर्छ ।

बज्राचार्यका अनुसार अटिजम भएका व्यक्तिले हरेक दिन एउटै जस्तै काम गर्न रुचाउने, परिवर्तन मन नपराउने, बिना कारण रुने, कराउने, चिन्तित हुने, घाउ, चोट तथा दुखाइप्रति वास्ता नगर्ने, कुनै पनि चिज/वस्तु घुमाइरहने, असान्दर्भिक तरिकाले हाँस्ने, आफूलाई चाहिएका सामान औँलाले नदेखाउने, बोलाउँदा नबोल्ने, नसुनेजस्तो गर्ने गर्छन् ।

अटिजम केयर नेपाल सोसाइटीले विगत १० वर्षदेखि अटिजम भएका बालबालिकाको हितमा काम गरिरहेको छ । हाल यस संस्थामा डे केयरमा करिब २० जना बालबालिका रहेका छन् । एउटा कक्षामा पाँच जना बालबालिका राखेर एक जना शिक्षक, असिस्टेन्ट र केयर टेकरको उपस्थितिमा उनीहरूकोे रेखदेख गरिने बज्राचार्यले जानकारी दिए ।

यसरी छुटाउन सकिन्छ लत

निरन्तर मोबाइल चलाउँदा मानसिक मात्र नभई शारीरिक विकासमा पनि असर पर्ने विशेषज्ञहरूको भनाइ छ । प्रधानाध्यापक दाहालका अनुसार अभिभावकले विशेषगरी बालबालिकाको मोबाइल धेरै चलाउने बानीलाई नियन्त्रण गर्नुपर्छ । बच्चालाई कोठाभित्र सीमित नराखी सामाजिक कार्यमा पनि सहभागी गराउनुपर्छ । अभिभावकले व्यस्तताका वावजुद पनि दिनमा कम्तिमा एकदेखि दुई घण्टा बच्चालाई समय दिनुपर्छ । बालबालिकासँग कुरा गर्ने, लघुकथा सुनाउने, घुम्न जाने गर्नुपर्छ ।

ससँगै कपडा लगाउने, सरसफाइ गर्ने, खाना खाने सीप तथा दोहोरो कुराकानी गर्ने बानीको विकास गराउने प्रयास गर्नुपर्छ । अभिभावक र शिक्षकको सहकार्यले बालबालिकामा देखिएको भर्चुअल अटिजमको समस्या निर्मूलीकरण गर्न सहज हुने उनको तर्क छ ।

यसैगरी, दुईवर्ष मुनिका बालबालिकालाई टेलिभिजन, मोबाइल देखाउन नमिल्ने बालमनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन् । ‘विश्व स्वास्थ्य संगठनले बनाएको गाइड लाइनअनुसार दुई वर्ष माथिका बालबालिकालाई दिनमा कम्तिमा एक घण्टा टेलिभिजन हेर्न दिन सकिन्छ,’ डा. कार्कीको कथन छ, ‘तर पछिल्लो समय बालबालिकाले अत्यधिक टेलिभिजन, मोबाइल हेर्छन् । जसकारण उनीहरूको आँखा, मेरुदण्ड, निन्द्रामा समस्या उत्पन्न हुन्छ । त्यसैले, स्क्रिनमा अत्यधिक समय बिताउनुभन्दा शारीरिक तथा सिर्जनात्मक कार्यमा बालबालिकालाई व्यस्त राख्नुपर्छ ।’

यससँगै डा. कार्की अभिभावकले बच्चालाई प्रश्न सोध्ने, जिज्ञासा व्यक्त गर्ने, कथा सुनाउने, पजल खेल खेलाउने लगायतका क्रियाकलाप गर्नुपर्ने बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले देखाएको बाटो

सन् २०१९ अप्रिल २४ मा विश्व स्वास्थ्य संगठनले पाँच वर्ष मुनिका बालबालिकाको सुत्ने, खाने, खेल्ने व्यवहार र समय निर्दिष्ट गर्दै गाइडलाइन जारी गरेको छ । गाइडलाइनमा एक वर्षमुनिका बालबालिकालाई मोबाइल, टेलिभिजन, ट्याब, कम्प्युटरजस्ता ‘इलेक्ट्रोनिक्स डिभाइस’ को अगाडि राख्न नहुने उल्लेख गरिएको छ ।

अमेरिकाका बालरोग विशेषज्ञहरूले ‘स्क्रिन टाइम गाइडलाइन्स २०१६’ जारी गरेका छन् । निर्देशिकाअनुसार १८ महिनाभन्दा कम उमेरका बालबालिकालाई मोबाइल, टेलिभिजनको स्क्रिनबाट टाढा राख्नुपर्ने र २ देखि ५ वर्षका बालबालिकाको ‘स्क्रिन टाइम’ १ घण्टामा सीमित गर्नुपर्ने भनिएको छ ।

आफ्ना बालबालिकालाई डिजिटल लतमा पर्नबाट जोगाउने मामिलामा के हाम्रा अभिभावक गम्भीर छन त ? जवाफ उति सकारात्मक पाइँदैन । त्यसैले, पहिलो दायित्व अभिभावककै हो, आफ्नो बालबालिकाको सुन्दर भविष्यका लागि बलियो जग निर्माण गरिदिनुपर्छ ।

यो पनि…
किशोरावस्थामै आमा, पाठेघर खस्ने समस्याबाट पीडित
गिजासम्बन्धी समस्याको कारण र बच्ने उपाय



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।