इतिहास बोकेको पोरखेगढी, पर्यटनका लागि उचित गन्तव्य
बाजुराको ठूलो वन क्षेत्र, विशाल घाँसे मैदान, अग्ला हिमचुचुरा र पर्याप्त प्राकृतिक स्रोतसाधनले भरिएको पोरखे र कालाजग्रा क्षेत्र यतिबेला प्रकृतिकी रानी जस्तै सिँंगारिएर बसेका छन् । विशाल वन क्षेत्र र हिउँका फाँटहरूले सजिएको कालाजग्रा र पोरखेगढी क्षेत्र बडीमालिका र बुढीनन्दा नगरपालिकाको सीमा क्षेत्रसँगै जोडिएका छन् । पोरखे लेक जडीबुटीले मात्र सम्पन्न नभई पर्यटकीय तथा ऐतिहासिक स्थलले पनि समृद्ध छ ।
गुफाभित्र अनौठा तालदेखि बाइसे–चौबिसे राज्यमा निर्माण गरिएको दरबारको अवशेष र कालाजग्रा देवीको बासस्थानसमेत पोरखे क्षेत्रमै पर्छ । सुदूरपश्चिम क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बडीमालिकासँग जोडिएको पोरखे र कालाजग्रा क्षेत्र जति रमणीय र सुन्दर छन्, त्यसभन्दा बढी स्रोतसाधन र सम्भावनाले समृद्ध र बलिया छन् । चारैतिर फैलिएको घनघोर जङ्गलका बीचमा रहेको ठूलो चट्टानको गुफाभित्रको ताल यसको अर्को आकर्षण हो ।
धार्मिक आस्था र पशुपालनका लागि कालाजग्रा पुग्ने जतिको पहिलो रोजाइ गुफाताल नै हुने गरेको छ । हिउँदका चार महिना हिउँको घुम्टो ओढ्ने पोरखे क्षेत्र मार्तडीबाट अढाइ घण्टा र कोल्टी विमानस्थलबाट त्यत्तिकै समयमा कच्ची बाटोमा जिपको यात्रापछि पुग्ने गरिन्छ । यतिबेला, हिउँको तन्नामा सजिएका विशाल फाँटहरूको पोरखे अहिले जो कोहीलाई स्वागतका लागि पर्खेको छ ।
रमाइलोका लागि पैदल हिँडेर धार्मिक तथा ऐतिहासिक महत्वको पोरखे पुग्नेहरूको कमी छैन ।
हिउँले सजिएर मुस्कुराइरहेको पोरखे हेर्न र घुम्नुको आनन्द बेग्लै हुन्छ । सेताम्य हिउँको पाटन र कालाजग्रा गुफा तालसहितको पोरखे गढीको प्रवद्र्धनमा शुरुमा पदयात्रासहितको आन्तरिक पर्यटनले भविष्यका लागि सकारात्मक सन्देश जाने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकाया बताउँछन् ।
कालाजग्राको गुफा ताल नीलो आकाशजस्तै अनौठो र अच्चमलाग्दो देखिन्छ । यसको लम्बाइ, चौडाइ र गहिराइबारे कुनै खोज, अनुसन्धान नगरिएको तर निकै आकर्षक देखिएको बडीमालिका–७ का वडाध्यक्ष धर्मराज पाध्याय बताउँछन् ।
सयभन्दा बढी जातका जडीबुटी तथा विभिन्न रङ्गचङ्गी फूलहरूको रमणीयस्थल पोरखे क्षेत्रको संरक्षण र प्रवद्र्धनमा स्थानीय तहको चासो छैन तर, बडीमालिका र बूढीनन्दा नगरपालिकाकै विवाद छ । सो क्षेत्र दुवै पालिकाले आ–आफ्नो भएको दाबी गर्न छाडेका छैनन् ।
पहाडमाथिको मन्दिरबाट अछाम, कालीकोटका हिउँले सेताम्य पहाड, बझाङको सैपाल हिमाल, मुगुको राराताल, बडीमालिका, बूढीनन्दालगायत ठाउँका मनमोहक रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।
पोरखेगढी दरबार
ऐतिहासिक महत्वको पोरखेगढी (सैन्य तालिम दिने र मित्र राज्यको भेटघाटस्थल) दरबार पोरखे क्षेत्रको अर्को आकर्षण हो । कोल्टी क्षेत्रका चार स्थानीय तहबाट सदरमुकाम मार्तडी आवत–जावतको प्रमुख पैदल तथा सडक मार्गमा पर्ने क्षेत्रमा पर्ने पोरखेगढी दरबार अहिले भग्नावस्थामा छ ।
वरिपरि करिब सात किलोमिटर घना वन क्षेत्र र चारैतिर उच्च हिमालका बीच समथर स्थानमा रहेको दरबारको संरक्षण र प्रवद्र्धनमा ध्यान नदिँदा अवशेषका रूपमा मात्र देखिएको छ । तत्कालीन चौबिसे राज्यअन्तर्गत जुम्ला राज्यमा पर्ने दरबार पारखीको आँखा बाहिर परेको छ । बलियो जुम्लाका राजाको बलिया राज्यसँग सम्बन्ध विस्तार गर्ने र कमजोरलाई आफ्नो कब्जामा लिने रणनीति थियो । त्यही मनसायले जुगाडी राजासँग सम्बन्ध विस्तार गर्न मार्तडीबाट तीन घण्टाको पैदल दूरीमा पर्ने प्राकृतिक सुन्दरताको बीच दरबार निर्माण गरिएको हो ।
तत्कालीन जुगाडी राजाको सम्बन्ध त्यसबेला बझाङ्गी राजासँग थियो । दुवै शक्तिशाली थिए । कालीकोट, बार्जु, अछाम र मुगाली राज्यलाई कब्जामा लिने रणनीतिअनुरूप सो स्थानमा दरबार निर्माण गरिएको स्थानीय जानकार तुलाराम जैसी बताउँछन् ।
हाल ढुङ्गा र जगको अवशेष पाइने सो दरबारमा सैन्य तालिम दिने गरिन्थ्यो भने जुम्ला र जुगाडाबाट राजाहरू आएर भेटघाट गर्थे । हिउँदका चार महिना हिउँले ढाकिने अवधिभर दरबारभित्र सैन्य तालिम दिने, सैन्य सामान ढुवानी गर्ने र अन्य समय लडाइँका लागि तयारी गर्ने गरिएको जुगाडी राजाका सन्तति बताउँछन् ।
उच्च स्थानमा पर्ने पोरखेमा बार्जुकोट, कालीकोट, मुगाली कोट र बझाङ्गी राजाको आवत–जावत हुने भएकाले दरबार निर्माण गरिएको इतिहासका जानकार नेकपा (एमाले) बाजुराका उपसचिव जनक कुमार बोहराले बताए । स्थानीय राजनीतिक अगुवा पूर्णबहादुर रावत भने दरबार एकै दिन निर्माण गर्न नसकिएकाले अधूरै रहेको बताउँछन् ।
पोरखेगढीको ऐतिहासिक, सांस्कृतिक महत्वबारे अध्ययन नभएको र तत्कालीन राजाका सन्तान पनि यसबारे जानकार नभएको बताइन्छ । हाल राष्ट्रिय वन क्षेत्रमा पर्ने पोरखे वन क्षेत्रमा चणिदह, बार्या ताल, पोरखे ताल, कालाजग्रा गुफा ताल गरी छ । सानाठूला सुन्दर ताल छन् । घना जङ्गलभित्र, लोपोन्मुख पशुपंक्षीको वासस्थान छ । जिल्लामा अध्ययन, अनुसन्धान नहुँदा दर्जनौँ कोट ओझेलमा छन् ।
पर्यटकीय गन्तव्य बनाउन पहल
पोरखे क्षेत्रका पर्यटकीय तथा धार्मिक गन्तव्यलाई वडाले संरक्षणका लागि पहल गरेको छ । बडीमालिका–७ का वडाध्यक्ष पाध्यायका अनुसार वन क्षेत्र संरक्षणदेखि संरचना निर्माण भइरहेको छ । कालाजग्रा माताको मन्दिर तथा आवतजावतका लागि अप्ठ्यारा अवस्थामा रहेको बाटालाई मर्मत गरिनुका साथै सिँढी निर्माण गरिएको छ । गुफातालदेखि मन्दिरसम्म जाने बाटामा सिँढी निर्माण गर्ने योजना निर्माण गरिएको छ । ढम्कनेमा मनोरञ्जन उद्यानसमेत निर्माण शुरु गरिएको छ ।
स्थानीयवासीले कालाजग्रा क्षेत्रको संरक्षण तथा पर्यटकीय गतिविधि सञ्चालन गरेका छन् । स्थानीयस्तरबाट आलु महोत्सवदेखि साहित्यिक यात्रा र पैदल यात्रा जस्ता कार्यक्रम पनि गरिएको छ ।
कालाजग्रा र पोरखे क्षेत्रको प्रवद्र्धनका लागि पोस्टर, पम्पलेट र पात्रो बनाउने तथा बिक्री गर्ने काम गरिएको छ । हुनुपर्ने जति प्रचारप्रसार र सहज आवत–जावतका लागि मार्ग नहुँदा गन्तव्य ओझेलमा परेको वडा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता धनलाल पाध्यायले बताए ।
पदमार्ग निर्माण गर्न सके खप्तड हुँदै मुगुको रारा र बडिमालिका, बूढीनन्दा पुग्ने सबै पर्यटक कालाजग्रा जाने सम्भावना छ । खप्तड, रारा पैदल मार्गका बीच बाटामा पर्ने पोरखे क्षेत्र पर्यटकका लागि गन्तव्य बन्ने सम्भावना छ ।
बास बस्नका लागि ठूला चौर र जङ्गल क्षेत्र भएको र हिउँदमा हिउँसँग रमाउन पाइने भएकाले थप सजिलो हुने विश्वास स्थानीयवासीको छ । नगर क्षेत्रबाट पनि पहल भइरहेको बडीमालिकाका नगरप्रमुख पदम बडुवालले बताए ।
उनका अनुसार पोरखे र कालाजग्रा जस्तै नगरपालिका क्षेत्रभित्र रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान नगरपालिकाले गर्दै आएको छ । यहाँका पोरखे, कालाजग्रा, दहडाँडा, डडुल्लेलगायत पर्यटकीय क्षेत्रको पहिचान गरी प्रवद्र्धन गर्न नगरपालिका कार्ययोजना बनाएर अघि बढेको नगर उपप्रमुख कविता विष्टले बताइन् ।
हिउँकै आँगनमा साहित्यिक माहोल
तीन वर्ष पहिले प्रणय दिवसका अवसरमा पोरखेगढीमा गजल वाचन कार्यक्रम आयोजना गरिएको थियो । हिउँका आँगनमा प्रकृतिसँग जोरी खोज्दै गजल वाचन गरिएको सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताए ।
प्रतिष्ठानले जिल्लामा साहित्यिक गतिविधि बढाई कला, साहित्यको संरक्षण र प्रवद्र्धन गर्न प्रत्येक वर्ष प्रणय दिवसको दिन कार्यक्रम आयोजना गर्ने गरेको छ ।
यो पनि…
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल
बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’