थानकोटमा एक अर्ब लगानीमा अस्पताल बन्ने
चन्द्रागिरि नगरपालिका-४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक (केएफडब्लु) एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।
सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ ।
नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पुर्याएका छन् । नगरप्रमुख गिरीले भने, ‘डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ । निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।’
अस्पतालले काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्याउने छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्याउने अपेक्षा गरिएको छ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ ।