प्रेममा अडिएको जीवन
यदि तपाईं ‘मैले के दिएँ’ भनेर हिसाब राख्नुहुन्न, तर ‘मैले के पाएँ’ भनेर सधैँ सम्झिनुहुन्छ भने, तपाईं स्वाभाविक रूपमा कृतज्ञताले भरिपूर्ण हुनुहुनेछ । “मैले यति गरेको छु” भन्ने बकवास छोड्नुहोस् ! यदि तपाईंले कसैबाट केही पनि अपेक्षा राख्नुभएन भने, तपाईंले सहज रूपमा जीवन बिताउनु हुनेछ ।
यदि तपाईं अरूबाट केही आशा गर्नुहुन्छ, वा तपाईं अरूले मलाई माया गर्छन् कि गर्दैनन् भनेर आफैँलाई सोध्नुहुन्छ भने, तब यी सबै समस्याहरू उत्पन्न हुन्छन् । जब तपाईं कसैबाट केही पनि अपेक्षा राख्नुहुन्न, यदि तिनले माया गरे भने, त्यो तिनको लागि राम्रो हो । यदि गरेनन् भने, समस्या कहाँ छ ?
सम्बन्ध एक प्रकारको आदानप्रदान हो । यसलाई राम्रोसँग चलाउन विशेष कुशलता चाहिन्छ । अन्यथा, यो कुरूप बन्न सक्छ । तपाईंले ख्याल गर्नुभएको होला कि कुनैदिन एक व्यक्तिसँगको क्षण कति रमाइलो हुन सक्छ, अनि अर्को दिन त्यही व्यक्तिसँगको क्षण कति नरमाइलो हुन सक्दछ ।
दुर्भाग्यवश, अधिकांश मानिसहरू सम्बन्ध एक प्रकारको आदानप्रदान हो भन्ने कुरा स्वीकार गर्न चाहँदैनन् । सम्बन्धले राम्रोसँग काम गर्नको लागि केही आधारभूत नियम र सर्तहरू हुने गर्छन् । यदि तपाईं यी नियम र सर्तहरूको दायरामा रहनुभयो भनेमात्र, तपाईंले सफलतापूर्वक सम्बन्ध निर्वाह गर्नुहुनेछ । तर, यदि तपाईंले “हाम्रो प्रेम सर्तरहित छ” भन्ने काल्पनिक विचार बोक्नुभएको छ भने, जुनसुकै क्षण त्यो तहसनहस हुन सक्छ ।
म सम्बन्धहरूलाईं तुच्छ देखाउने कोशिस गरिरहेको छैन, तर यसका सीमाहरू मनन गर्नुमा केही गलत छैन । यसका सीमाहरू छन्, तर त्यसको अर्थ यसमा सुन्दरता छैन भन्ने होइन । फूल निकै सुन्दर हुन्छ, तर यदि मैले त्यसलाई कुल्चेँ भने, यो दुई दिनमा मल बन्छ । म एक पलमै फूल नष्ट गर्न सक्छु, तर के त्यसले फूलको सुन्दरता र महत्व कम हुन्छ ? हुँदैन । त्यसैगरी, तपाईंको प्रेम नाजुक छ । यसको बारेमा अनेक थरीका काल्पनिक कुराहरू नपत्याउनुहोस् । साथसाथै, म त्योसँग जोडिएको सुन्दरतालाई अस्वीकार गरिरहेको छैन ।
तर, यदि तपाईंले जीवनको त्यति कमजोर आयामलाई आफ्नो जीवनको आधार बनाउनुभयो भने, स्वाभाविक रूपमा तपाईं जतिबेला पनि चिन्ताले ग्रस्त बन्नुहुनेछ, किनकि तपाईं नाजुक फूलमाथि बसिरहनु भएको छ । मानौँ, फूल असाध्यै सुन्दर भएकोले तपाईंले जमिनमा आफ्नो घर बनाउनुको सट्टा फूलमाथि घर बनाउनुभयो भने, तपाईं सधैँ डरमा बाँच्नुहुनेछ ।
यदि तपाईंले जमिनमा आफ्नो जग बसाल्नुभयो अनि त्यसपछि फूललाई हेर्नुभयो, सुघ्नुभयो र स्पर्श गर्नुभयो भने, यो अद्भुत हुनेछ । तर, यदि तपाईंले फूलमा आफ्नो घर बनाउनुभयो भने, तपाईं निरन्तर डरमा रहनुहुनेछ । मैले यस प्रसङ्गमा मात्र भनिरहेको हुँ । प्रेम जे हो, त्यसलाई हामी अस्वीकार गर्न खोजिरहेका छैनौँ ।
सम्बन्ध एक प्रकारको आदानप्रदान हो । यसलाई राम्रोसँग चलाउन विशेष कुशलता चाहिन्छ । अन्यथा, यो कुरूप बन्न सक्छ । तपाईंले ख्याल गर्नुभएको होला कि कुनैदिन एक व्यक्तिसँगको क्षण कति रमाइलो हुन सक्छ, अनि अर्को दिन त्यही व्यक्तिसँगको क्षण कति नरमाइलो हुन सक्दछ ।
भलै, म यो सबैजनामा लागू हुन्छ भन्दिनँ, तर थुप्रै मानिसहरूमा त्यसो हुने गर्दछ । थुप्रै मानिसहरूका निम्ति प्रेम एउटा अर्को आवश्यकता मात्र बन्दछ, जुनबिना उनीहरू बाँच्न सक्दैनन् । शरीरको आफ्ना आवश्यकताहरू भए जस्तै, भावनाको पनि आफ्नै आवश्यकताहरू हुन्छन् । “म तिमी बिना बाँच्न सक्दिनँ” भन्नु एक हदसम्म “म बैसाखी बिना हिँड्न सक्दिनँ” भन्नु सरह हो ।
यदि तपाईंको बैसाखीमा हीरा जडित भएको भए, तपाईं सजिलै त्योसँग प्रेममा पर्न सक्नुहुने थियो । अनि, यदि तपाईंले त्यो बैसाखी दश वर्षसम्म प्रयोग गर्नुभयो र मैले तपाईंलाई “अब तपाईं कुनै सहारा बिना हिँड्न सक्नुहुन्छ” भनिदिएँ भने, तपाईंको जवाफ हुने थियो, “होइन, म कसरी आफ्नो बैसाखी छोड्न सक्छु र ?” यसमा जीवनको सार्थकता छैन । त्यसैगरी, प्रेमको नाममा तपाईं आफूभित्र असाध्यै असहाय र अपूर्ण बन्नुभएको छ ।
के यसको अर्थ यसमा कुनै सुन्दरता छैन अनि यसको अर्को आयाम छैन भन्नु हो ? होइन, रहेको हुन्छ । यस्ता थुप्रै व्यक्तिहरू थिए, जो यसरी बाँचे कि उनीहरू कहिल्यै एक अर्काबिना बाँच्न सक्दैनथे । यदि वास्तवमै त्यस्तो हुने हो भने, ती दुवै एक जस्तै भएका हुन्छन्— तब त्यो अद्भुत हुनेछ ।
भारतको राजस्थानमा एकजना राजासँग यस्तो घटना घटेको थियो । उनकी एउटी जवान पत्नी थिइन्, जो उनलाई असाध्यै माया गर्थिन् अनि उनीप्रति पूर्ण रूपमा समर्पित थिइन् । तर, त्यसबेला राजाहरूका अनेक रखौटीहरू हुन्थे । त्यसैले, जसरी रानी उनमा गहिरोमा रूपमा लिन थिइन्, यो राजालाई मूर्खतापूर्ण लाग्थ्यो । उनी रानीले आफूलाई ध्यान दिएको रुचाउँथे अनि प्रसन्न हुन्थे । यद्यपि, कहिलेकाहीँ यो अलि बढी नै हुने गर्थ्यो । तब राजा उनलाई अलि झकझकाउँथे अनि अरूहरूसँग रमाउँथे । तर, रानी पूर्णतया उनमा समर्पित रहन्थिन् ।
राजा र रानीसँग दुईवटा मैनाहरू थिए । एकदिन एउटा चरो मऱ्यो र अर्को चरो केही नखाई यतिकै बसिरह्यो । राजाले उसलाई केही खुवाउने अनेक प्रयासहरू गरे, तर उसले केही पनि खाएन अनि अर्को दुई दिनमै मऱ्यो ।
यो घटनाले राजालाई भित्रैसम्म छोयो । “अरे, यो के भयो ? हरेक जीवनले आफ्नो जीवनलाई बढी महत्त्व दिनु स्वाभाविक कुरा हो । तर, त्यो चरो यत्तिकै बसेर मऱ्यो ।”
जब उनले यो कुरा रानीलाई सुनाए, उनले भनिन्, “जब एकले अर्कोलाई साँच्चिकै माया गर्दछ, तब आफ्नो प्राण त्यागेर अर्कोसँगै जानु निकै स्वाभाविक हो- किनकि उनीहरूको लागि अब जीवनले कुनै अर्थ राख्दैन ।”
राजाले ठट्टा गर्दै सोधे, “के यो तिम्रो हकमा पनि सत्य हो ? के तिमी मलाई त्यति धेरै माया गर्छ्यौ ?”
रानीले भनिन्, “हो, यो मेरो हकमा पनि सत्य हो ।” यो सुनेर राजा एकदमै प्रसन्न भए ।
एकदिन, राजा आफ्ना साथीहरूसँग शिकार गर्न गए । चराहरू मरेका र आफ्नी पत्नीले यो उनको हकमा पनि सत्य रहेको भन्ने कुराहरू उनको दिमागमा खेलिरहेको थियो । उनी साँच्चिकै जाँच गर्न चाहन्थे । त्यसैले, उनले आफ्नो लुगा खोलेर त्यसमा रगत दले अनि एकजना भारद्वारसँग खबर पठाए, “राजालाई बाघले आक्रमण गरेर माऱ्यो ।” रानीले आँखाबाट आँसु नबाइकन निकै गरिमापूर्ण तरिकाले उनका लुगाहरू लिइन् । उनले चिता बनाउने प्रबन्ध गरिन्, त्यसमाथि कपडा राखिन् अनि चितामा पल्टिएर शरीर छोडिन् ।
मानिसहरूले पत्याउनै सकेनन् । रानी यत्तिकै पल्टिएर आफ्नो प्राण त्यागिन् । अब गर्न सकिने केही पनि थिएन, किनकि उनी मरिसकेकी थिइन्, त्यसैले उनको दाहसंस्कार गरियो । जब यो खबर राजा समक्ष पुग्यो, उनी विक्षिप्त भए । उनी रानीसँग यत्तिकै ठट्टा गर्न मात्र चाहन्थे, तर रानी साँच्चिकै मरिन्- आत्महत्या गरेर होइन, उनी यत्तिकै गइन् ।
यस्ता असङ्ख्य जोडीहरू छन्, जहाँ एकजनाको मृत्यु भयो भने, अर्को व्यक्ति स्वस्थ भए तापनि केही महिना भित्रै प्राण त्याग्छन्, किनकि दुवैका ऊर्जाहरू निश्चित तरिकाले बाँधिएको हुन्छ । यदि तपाईं अर्को व्यक्तिसँग त्यस स्तरमा बाँधिनुभयो भने, दुवै जीवनहरू एक जसरी रहने छन्- यसरी रहनु निकै अद्भुत कुरा हो । यो परम सम्भावना होइन, तैपनि यो जीवन बाँच्ने सुन्दर तरिका हो ।