मौरीजस्तै कर्मशीलको कथा
सोमबहादुर पुलामी शिक्षक बन्न चाहन्थे । तर, उनी मौरीपालक किसान बने । उनलाई मौरीको गुलियो रस (मह) ले यसरी भुलाइ दियो कि आफ्नो लक्ष नै बिर्सिए । यसप्रति उनलाई कुनै गुनासो छैन । महले उनको जिन्दगी मह जस्तै गुलियो पारिदिएको छ ।
सोमबहादुर आफू मात्रै होइ मौरी पाल्न चाहना राख्ने किसानलाई पनि सघाइरहेका छन् । मौरीको घार र मह बेच्दै आएका उनी आम्दानीबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘मौरीपालनले मौरीजस्तै कर्मशील बन्न प्रेरित गरेको छ ।’
शुक्लागण्डकी नगरपालिका-२ एक्लेखेतका ३५ वर्षीय पुलामीलाई गुलियो मह भएको मौरीको चाका खुब मन पर्छ । छरछिमेकमा मह काट्दा उनी चाका चाख्न पाउने लोभमा पछि लाग्थे । छिमेकीले कहिलेकाहीँ दिन्थे । छोराले मह असाध्यै रुचाउने भएपछि बुबा मनबहादुरले २०५८ सालमा घरमा एउटा मौरीको घार ल्याइदिए । त्यसपछि उनमा मौरीको महमा अझै चाख बढ्यो । कक्षा आठमा बढ्ने उनको ध्यान पढाइसँगै मौरीमा हुन्थ्यो ।
‘त्यही एउटा मौरीको घारमा खेल्दाखेल्दै तीन वटा घार बनाएँ । के मिलेन सबै मासियो । फेरि अर्को घार ल्यायौँ । ज्ञान थिएन उतिखेर । आफैँले मौरीसँग खेल्दाखेल्दै सिकियो । त्यसपछि एउटाबाट दुई घार भयो । दुईबाट चार हुँदै अहिले सय घार छन्,’ पुलामीले भने ।
२०६५ सालसम्म आइपुग्दा उनीसँग ३० वटा मौरीको घार भए । त्यतिबेलासम्म उनी मौरीको मह मात्र काट्थे र धेरथोर आम्दानी लिन सफल थिए । गुलियो मौरीको महले गुलियो आम्दानी दिन थालेपछि उनले शिक्षक बन्ने सपनालाई थाती राख्दै थिए । बनाइसकेको शिक्षण अध्यापन अनुमति पत्रलाई सिरानीमा थन्क्याए ।
‘मसँग ३० घार मौरी भएको थियो । २०६५ सालमा मौरीसहितको घार माग्नु भो एक जना सरले । उहाँलाई केही घार दिए । हातमा राम्रै पैसा पर्यो । किसानको हातमा पैसा परेपछि हौसला थपिने रहेछ । मौरी पालनमा झन् चाख बढ्यो । अब निरन्तरता दिनुपर्छ भनेर झनै लागें । महसँगै मौरीसहितको घार बेच्न थाले,’ उनले सुनाए ।
पुलामीको मौरी पालन उद्योगमा एक सय घार मौरी छन् अहिले । पुलामी मौरीपालन तथा घार उद्योग सञ्चालन गरेका छन् उनले श्रीमती शितलको नाममा । उनले पछिल्ला वर्षहरूमा मह कमै काढ्छन् । मौरीसहितको घार बढी बिक्री हुने उनको भनाइ छ । मौरीपालनमा आकर्षण बढी भएकाले मौरीको चाकासहित घार बिक्री बढेको उनले बताए ।
तनहुँका सोमबहादुर पुलामी शिक्षक बन्न चाहन्थे । तर, उनी मौरीपालक किसान बने । उनलाई मौरीको गुलियो रस (मह) ले यसरी भुलाइ दियो कि आफ्नो लक्ष नै बिर्सिए । यसप्रति उनलाई कुनै गुनासो छैन । महले उनको जिन्दगी मह जस्तै गुलियो पारिदिएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि मौरीसहितको घारको माग बढेको पुलामी बताउँछन् । ‘सरकारी बजेटमा किसानलाई घार बाँड्नलाई धेरै माग आउने गर्छ,’ उनी अगाडि थप्दै भन्छन्, ‘कहिलेकाही घार बिकेन भने पनि सिजनको बेला मह काढेर बिक्री गर्छु । महको पनि घारको जस्तै बजार राम्रै छ । आम्दानी राम्रै हुन्छ ।’
वर्षमा १५० भन्दा बढी गोलासहितको घार बिक्री गर्दै आइरहेको उनले जानकारी दिए । उनका अनुसार सानो घारको चाकासहित सात हजार पाँच सय रूपैयाँ मूल्यमा बिक्री हुन्छ । ठूलो घारको नौ हजार पाँच सय रूपैयाँमा बिक्री हुन्छ । मह र घार बिक्रीबाट १५ लाख रुपैयाँसम्म आम्दानी हुने पुलामीले जानकारी दिए ।
पुलामीले तयार पारेको मौरीसहितको घार तनहुँसँगै कास्की, पर्वत, लमजुङ, मनाङका गाउँ-गाउँमा छ । जहाँ-जहाँ उनको मौरीको घार देखिन्छ उनलाई खुसी र सन्तुष्टि मिल्छ रे । तर, कहिलेकाँही मौरीसम्बन्धी ज्ञान नभएकाले लगेर निराश बनाइदिने उनी बताउँछन् । ‘कसैले रहरले लान्छन् । कोहीले व्यवसायिक बन्नलाई घार लैजान्छन् । मौरी पाल्न तालिम लिनुपर्छ । तालिम नभएकाले लैजँदा अपजस बढी पाइन्छ ।’ उनले भने ।
मौरीको घारको माग बढेपछि उनले एक्लेखेतमा २०७१ सालदेखि फर्निचर उद्योग सञ्चालनमा ल्याएका छन् । ‘ठूलोबाले बनाइदिनुहुन्थो सुरुमा घारहरू । त्यसपछि म सिक्दै गए । बाहिरबाट ल्याउँदा महंगो पर्ने भएकाले घार बनाउन थाले । पछि फर्निचर उद्योग चलाउने सोच आयो । मौरीको घार निर्माणसहित काठसँग सम्बन्धित सबै काम उद्योगमा हुन्छ । गाउँतिरबाट काठको काम धेरै आउने भएकाले फर्निचरबाट कमाई राम्रै छ ।’ उनले भने । फर्निचरमा चार जनाले रोजगारी पनि पाएका छन् ।
मौरी पालन अरू पेशाको तुलनामा निकै सहज रहेको उनको २० वर्षे अनुभवले बताउँछ । ‘अरू पेशामा जस्तो मौरीपालनमा घामपानी भन्न नपाइने हुँदैन । दिनको एक घण्टा मात्र समय दिए पुग्छ । आक्रमण गर्ने जीवजन्तुबाट जोगाउन सक्यौँ र झरी परेको बेला अहाराको व्यवस्थापन गर्न सकियो भने राम्रै गर्न सकिन्छ,’ पुलामी आफ्नो अनुभव सुनाउँछन् । तालिम र आधारभुत ज्ञानविना हचुवाको भरमा मौरीपालनमा नलाग्न उनको सुझाव छ ।
यो पनि
चित्र कोरेर गुजारा