चित्र कोरेर गुजारा
पूर्वखोला गाउँपालिका-५ वीरकोटका हिरा श्रेष्ठको दिनचर्या अहिले चित्र कोर्दैमा बित्ने गरेको छ । उनलाई यतिबेला विभिन्न थरीका चित्र बनाउन भ्याइनभ्याइ छ । हाल पाल्पा रामपुर नगरपालिकाका विभिन्न संघसंस्था, होटल, रेष्टुरेन्ट र विद्यालयका लागि चित्र कोर्दैमा दिन बितेको श्रेष्ठलाई पत्तै हुँदैन । यस कार्यबाट मासिक रु ४० हजारसम्म उनी कमाइ गर्छन् ।
श्रेष्ठले भने, ‘आफूमा सीप र जाँगर भएपछि जीवन धान्न गाह्रो हुँदो रहेनछ, अहिले भित्ते चित्र कोर्ने काममा व्यस्त छु, काम गर्दै जाँदा सीपमा निखारता आउने र कमाइ पनि राम्रै हुने रहेछ ।’
सानैदेखि नै चित्र कोर्ने कार्यमा रुचि जगाउने ३६ वर्षीय श्रेष्ठ अहिले दाम कमाउने मात्र नभई समाजमा राम्रो पहिचान बनाउन सफल भएका छन् । विसं २०५७ देखि यस कार्यमा लागेका उनले दुई वर्षदेखि रामपुरलाई कार्यथलो बनाउनाका साथै जिल्लाका विभिन्न ठाउँमा पुगेर चित्र बनाउने गरेका छन् ।
भित्तेलेखन, साइनबोर्ड, कम्पनीको बोर्ड, घरका भित्ता सजावटलगायत सबै सीप श्रेष्ठमा छ । कक्षा १२ सम्म अध्ययन गरेका उनले परिवारको आर्थिक अवस्था नाजुक भएका कारण थप अध्ययनलाई भने अगाडि बढाउन सकेनन् ।
चित्र कोर्ने सीप भएका तर अवसर नपाएर धेरैले यस कार्यलाई अर्थोेपार्जनका रूपमा विकास गर्न सकिरहेका छैनन् । श्रेष्ठको जस्तै सीप र मेहनत अवलम्बन गर्ने हो भने निर्वाह गर्न कुनै कठिनाइ हुँदैन ।
आफूसँग भएको सीपलाई विकास गर्दै जाँदा अहिले यस कार्यमा श्रेष्ठ दख्खल बनेका छन् । धेरै ग्राहकबाट माग आएपछि बुटवलमा एक वर्ष बसेर थप सीप सिकेका उनको चित्र कला लोभलाग्दो हुन थालेको छ । ‘ठूलाठूला होटल रेष्टुरेन्ट, सङ्घसंस्थाबाट माग धेरै आउन थालेपछि एक वर्ष बुटवलमा बसेर थप सीप सिकेपछि व्यावसायिकरूपमा काम गर्न थालेको छु, यो व्यवसायबाट अहिले म सन्तुष्ट छु’, श्रेष्ठले भने ।
यही व्यवसायले श्रीमती, दुई छोराछोरीका साथै बुबा-आमाको पालनपोषण, छोराछोरीको पढाई खर्च र घरखर्च पनि राम्रोसँग चलेको उनले बताए । श्रेष्ठमा बढी प्राकृतिक वस्तुको चित्र कोर्ने रुचि भए पनि ग्राहकले जुन प्रकारको चित्र खोज्यो जस्ताको तस्तै तयार पार्न सिपालु छन् ।
सानैमा विद्यालयमा चित्रकलाको कार्यक्रममा सधैं उत्कृष्ट हुने उनमा भविष्यमा चित्रकार बन्ने सपना पनि सानैदेखि पलाएको थियो । परिवारको हौसला, अग्रज चित्रकार, आफन्त, साथीभाइको प्रेरणा र आफ्नै मेहनतले श्रेष्ठका सीपमा निखारता आउन थालेको छ ।
यही व्यवसायले श्रीमती, दुई छोराछोरीका साथै बुबा-आमाको पालनपोषण, छोराछोरीको पढाई खर्च र घरखर्च पनि राम्रोसँग चलेको उनले बताए । श्रेष्ठमा बढी प्राकृतिक वस्तुको चित्र कोर्ने रुचि भए पनि ग्राहकले जुन प्रकारको चित्र खोज्यो जस्ताको तस्तै तयार पार्न सिपालु छन् ।
अहिले समाजमा चित्र कोर्ने कार्यलाई व्यावसायिक बनाउने खासै भेटिदैनन् । यसमा दख्खल भएका व्यक्तिलाई राज्यले संरक्षण गर्नुपर्नेमा रामपुरस्थित गङ्गा माविका सहायक प्रधानाध्यापक कृष्ण घिमिरेले जोड दिए ।
‘उहाँमा जुनसुकै प्रकारका वस्तु तथा व्यक्तिको चित्र बनाउन पठायो, ठ्याक्कै मिल्दो चित्र बनाउने राम्रो प्रतिभा देखें, यसमा तल्लीन भएर लाग्ने हो भने भविष्य उज्ज्वल छ,’ उनले भने । कागजमा बनाएको चित्रको माग कमै आउँछ । अहिलेका सन्दर्भमा भित्तेलेखन नै बढी आउने गरेको चित्रकार श्रेष्ठले बताए ।
पछिल्लो समय ठूलाठूला घर भवन, संघसंस्था, होटल रेष्टुरेन्ट धमाधम बन्न थालेपछि आफ्नो कला र सीप प्रदर्शन गर्ने राम्रो अवसर मिलेको उनको भनाइ थियो। चित्र कोर्ने सीप भएका तर अवसर नपाएर धेरैले यस कार्यलाई अर्थोेपार्जनका रूपमा विकास गर्न सकिरहेका छैनन् । श्रेष्ठको जस्तै सीप र मेहनत अवलम्बन गर्ने हो भने निर्वाह गर्न कुनै कठिनाइ हुँदैन ।