अनि सधैं पानी आइरह्यो
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-९ अर्घामा रहेको काफलपानी पँधेराबाट यस क्षेत्रका करिब ५० परिवारले पिउनेपानी प्रयोग गर्छन। करिब तीन वर्षअघि हिउँदा यो पँधेरो सुक्यो। पिउनेपानीको स्रोत नै बन्दभएपछि स्थानीयहरू लामो दूरीमा रहेको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए। युवाहरू कम भएको गाउँमा पानी टाढाबाट बोक्न परेपछि स्थानीयलाई निकै सास्ती भयो।
तर, गतवर्ष ठूलो खडेरी लाग्दापनि पानी नसुकेपछि स्थानीय दंग छन्। स्थानीय युवा व्यवसायी कृष्णप्रसाद भुसाल र पत्रकारसमेत रहेका व्यवसायी हरिप्रसाद भुसालको नेतृत्वमा सुरु भएको ‘दश घर एक पोखरी’ अभियानले दुई वर्षअघि पोखरी खनेपछि र काफलपानी पँधेराको पानी नसुकेपछि स्थानीय दंग बनेका छन्। ‘दुई/तीन वर्षअघि सामान्य खडेरीमा पनि सुक्न थालेको पँधेरो यो पोखरी खनिएपछि गतवर्ष ठूलो खडेरीमा पनि सुकेन,’ स्थानीय जीवबहादुर दमाइले भने।
नेटाकापोखरा मात्र होइन दुई वर्षअघि सुरु भएको ‘दश घर एक पोखरी’ अभियानले अर्घाखाँची जिल्लाका तीन दर्जन बढी स्थानमा साना ठूला पोखरीहरू निर्माण गरेको थियो। आफूहरूले खनेका पोखरीका कारण धेरै ठाउँमा हिउँदमा पानी नसुकेको अभियन्ता कृष्णप्रसाद भुसालको भनाइ छ। त्यतिबेला विभिन्न व्यक्तिहरूको करिब १ लाख सहयोगमा विभिन्न ठाउँमा पोखरी निर्माण गरिएको थियो। बढ्दो जलवायु परिवर्तन रोक्नको लागि सानो सहयोग भन्नका लागि आफूहरूले अभियान सुरु गरेको भुसालले बताए।
पिउनेपानीको स्रोत नै बन्दभएपछि स्थानीयहरू लामो दूरीमा रहेको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए। युवाहरू कम भएको गाउँमा पानी टाढाबाट बोक्न परेपछि स्थानीयलाई निकै सास्ती भयो।
दुई वर्षअघि खनेका पोखरीले खडेरीमासमेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्तारूले गएको एकादशीमा देउसी खेल्ने निर्णय गरे। भुसाल दाजुभाईको प्रस्तावमा सहमत जनाउँदै लायन्स क्लव अफ अर्घाखाँचीले समेत भैलोलाई साथ दिने निर्णय गर्यो अनि लायन्स क्लव अफ अर्घाखाँचीसँगको समन्वयमा दश घर एक पोखरी अभियानले करिब १ लाख रूपैयाँ जम्मा गर्न सफल भयो। अहिले यही पैसाबाट पोखरीहरू निर्माण भैरहेका छन्।
देउसीबाट संकलन भएको पैसा मध्येबाट करिब ५० हजारको लागतमा चारओटा ठूला र एकओटा साना पोखरी निर्माण गरिएको छ भने अन्य स्थानको खोजी भैरहेको अभियन्ता हरिप्रसाद भुसालले बताए। ‘अग्लो ठाउँमा रहेका र स्थानीय सरकारको ध्यान नपुगेका लोपुन्मुख पोखरी हामीले खनिरहेका छौं’ भुसालले भने, ‘हामीले खनेका पोखरीका कारण हिउँदमा मुलहरू नसुकुन भन्ने हाम्रो एकमात्र चाहना हो।’
विकासको क्रममा बाटो, खेल मैदान, अनि संरचनाहरू निर्माण हुँदा धेरै ठाउँमा पोखरी पुरिएको र पोखरी पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्षसहित भुसाल बन्धुहरूले ‘दशघर एक पोखरी’ अभियानको कल्पना गरेका थिए। ‘सुरुसुरुमा त सरकारी पैसा खाने यिनीहरूको मेसो हो भन्ने बुझाइ थियो। पैसा नखाइ यिनीहरू किन फिरिमा कुद्थे पनि भन्ने गरेका थिए।’ नेपाल हर्ट फउन्डेसनका अध्यक्ष समेत रहेका अभियन्ता कृष्ण भुसालले भने ‘पछिल्लो समय स्थानीयहरूले पनि कुरा बुझ्नुभएको छ, उत्साहजनक साथ पाएका छौं।’
‘दश घर एक पोखरी’ अभियानले दुई वर्षअघि पोखरी खनेपछि काफलपानी पँधेराको पानी नसुकेपछि स्थानीय दंग बनेका छन्।
स्थानीय जनताबाट सद्भाव र सहयोग प्राप्त भएपनि सरकारी तहबाट कुनै सहयोग नपाएको भुसालले बताए। ‘ठ्याक्कै हामीलाई नै सहयोग आओस् भन्ने हाम्रो आशय र चाहना हैन, कमसेकम स्थानीय सरकारबाट वडावडामा अभियानकै रूपमा पोखरीहरू निर्माण गरिए हाम्रो सपना पुरा हुन्थ्यो। यसरी स्थानीय सरकार अगाडि बढे हामीले सहयोग गर्ने थियौं,’ भुसालले भने।
‘दश घर एक पोखरी’ अभियानको विषयमा आफूले पनि सुनेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार विकले बताए। ‘उहाँहरूसँग सहकार्यको अवस्था त बनिसकेको छैन तर रिचार्ज पोखरी निर्माणमा हामीले सुरुदेखि नै काम गरिरहेका छौं,’ विकले भने। आफूहरू निर्वाचित भएको पहिलो वर्ष नै हरेक वडाहरूमा रिचार्ज पोखरी निर्माणको लागि एक-एक लाख विनियोजन गरी काम सम्पन्न गरिएको विकको भनाइ छ।’