English

संक्रमित घरमा, आइसोलेसन रित्तै



बिहीबार (१३ माघ) तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। ८७ जनाको परीक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको हो। योसँगै जिल्लामा कोरानाका सक्रिय संक्रमितको संख्या ७४४ पुगेको छ।

संक्रमित सबै होम आइसोलेसनमा छन्। जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका १२ ठाउँमा १७० बेड क्षमताको आइसोलेसन तयार छन्। तर,कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा पनि संस्थागत आइसोलेसन रित्तै छन्। आइसोलेसनमा बस्न संक्रमित चाहँदैनन्।

संक्रमितलाई जटिल समस्या नदेखिएकाले आइसोलेसनमा बस्नेको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रामबहादुर नेपाली बताउँछन्। ‘यसअगाडिको लहरमा जस्तो जटिल समस्या देखिएको छैन। सामान्य अवस्था भएकाले पनि संक्रमित होम आइसोलेसनमै बस्न इच्छुक छन्’, नेपालीले भने।

संक्रमितलाई टाउको दुख्ने, ज्वरो आउने, घाटी खसखस हुने, सुख्खा खोकी लाग्ने, रातको समयमा पसिना आउने, जिउ दुख्ने र स्वर दब्ने जस्ता लक्षण देखिएका उनले बताए। आइसोलेसनमा बस्नेको संख्या शून्य भए पनि सबै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको उनको दाबी छ।

उनले अगाडि थप्दै भने, ‘संक्रमण बढ्दै छ। आइसोलेसन आवश्यक हुन सक्छ। तसर्थ आइसोलेसनलाई तयारी अवस्थामा राख्न स्थानीय तह र अस्पताललाई निर्देशन दिएका छौं।’

स्वास्थ्य सतर्कता अपनाएमा जटिल समस्या नभएकालाई संस्थागत आइसोलेसनको तुलनामा होम आइसोलेसन उपयुक्त हुने म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे बताउँछन्।

उनी भन्छन्, ‘घरमा खानपिन र बसाइँको व्यवस्थापन राम्रो हुन्छ। परिवारको निगरानी पनि हुन्छ। तर, होमआइसोलेसनमा बस्नेले सतर्कता अपनाउनु पर्दछ ।’ होम आइसोलेसनमा बसेकाले लापरबाही गरेको खण्डमा टोल छिमेकमा संक्रमण फैलने जोखिम बढी हुने घिमिरेको भनाइ छ।

जिल्लाका १० स्थानीय तहले पहिलो लहरमै आइसोलेसन तयार पारेका थिए। स्थानीय तहको आइसोलेसन प्रयोगमा भने उतिसारो आउन सकेका छैनन्। पहिलो र दोस्रो लहरमा जिल्लाका अधिकांश संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा र दमौली अस्पतालको आइसोलेसनमा बसेर निको भएका थिए।

हाल जिपीमा पाँच बेड आइसियु र तीन बेड भेन्टिलेटरसहित ३० बेडको आइसोलेसन छ। यहाँ जिल्लाका स्थानीय तह मिलेर छुट्टै आइसोलेसन भवन बनाइदिएका छन्। यस्तै, दमौली अस्पतालले पनि सात बेड आइसियु र चार भेन्टिलेटर सहितको २५ बेड क्षमताको आइसोलेसन सञ्चालन गरेको छ।

जिल्लामा वैशाखयता ६ हजार १३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये पाँच हजार २६२ जना निको भएका छन्। वैशाखयता मात्र कोरोना संक्रमणका कारण १३१ जनाको मृत्यु भएको छ।



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।