English

झरेको बरफ कलायात्रा : कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी



प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन्।

धेरैजसको समय काठमाडौं र यस आसपासका प्राकृतिक, पुरातात्विक र ऐतिहासिक विषयलाई क्यान्भासमा कैद गर्ने कलाकार पुण्यराम मताङ र लक्ष्मीप्रसाद खोतेजा यसपालि कापुचेले तानेर त्यहाँ पुर्‍याएको बताए। यसअघि उनीहरूले मार्दीमा पुगेर त्यहाँका हिमशृङ्खला समेटेर चित्र बनाएका वर्ष नबित्दै अर्को महत्त्वपूर्ण यात्रा तय गरे।

कापुचे ताललाई समुन्द्र सतहबाट सबैभन्दा तल्लो ठाउँमा रहेको हिमतालका रुपमा चिनिन्छ। ‘उक्त ताल र वरपरका दृश्यलाई क्यान्भासमा उन्दा नौलौ अनूभूति मिलेको छ’, उनले भने, ‘रङमा कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी, क्यान्भासमा दुरुस्त रङ भर्न हम्मेहम्मे भयो, त्यो क्षणको अनुभूति शब्दमा भन्न सकिँदैन, स्वर्गको टुक्रामा बसेर कला सिर्जना गरेको महसुस भयो।’

आइतबार बिहान पुग्दा ताल बरफमा परिणत भएको थियो। घामका किरणको स्पर्शपछि बिस्तारै फैलिन थाल्थ्यो। कलाकारले बोतलमा आइस हालेर पानी बनाई कला सिर्जना गरेको उनले सुनाए। कापुचे ताल उदीयमान पर्यटकीय गन्तव्य र नयाँ पद मार्गका रुपमा विकास भएको क्षेत्र हो। कास्की जिल्लाको उत्तर-पूर्वमा पर्ने यो ताल पोखराबाट प्रकृतिसँग रम्दै छोटो समयमा पुग्न सकिने रमणीय क्षेत्र हो। समुन्द्र सतहबाट दुई हजार ५४६ मिटरको उचाइमा रहेको कापुचे पर्यटकीय क्षेत्र सिक्लेसबाट छ घन्टाको पैदल यात्रामा पुगिन्छ। त्यहाँ पुग्दा लाग्ने थकान दृश्यावलोकनपछि सबै मेटिन्छ।

त्यस वरपरका दृश्यले निकै लोभ्याउने कलाकार मताङले बताए। ‘अनि त्यसैको काखमा बसेर क्यान्भासमा दृश्य उतार्न कम्ता मजा भएन’, उनले भने। कापुचेको अर्थ झरेको बरफ हो। नाम अनुसारको दृश्य पनि सजिलै देख्न सकिन्छ यहाँ। हिउँले ढाकिएको पहाडको बीचमा पर्ने यो तालमा बेलाबेलामा हिमपहिराले आकर्षण थप्छ। यसपालि शनिबारीय चित्रकला कार्यशालाका सक्रिय सदस्य यी दुई कलाकार कापुचे कलायात्रा पूरा गरेर फर्किएका हुन्। शनिबार र आइतबार दुई दिनको यात्रामा सिक्लेसबाट उनीहरूले अन्नपूर्ण दोस्रोको सुनौलो दृश्यलाई पनि क्यान्भासमा उतारेका छन्।

कलाकारका अनुसार जानलाई केही चुनौती भयो। साँघुरो बाटो, भिर, पाखाका बुट्यान समाउँदै पुगिने त्यहाँका झरना, खोलालगायत पहाडी र हिमाली प्राकृतिक सौन्दर्यले बाटोको थकान सबै मेटिएको उनीहरूले सुनाए। ‘बेलाबेलामा हिउँ खस्ने र त्यसबाट मेघ गर्जे झैँ निस्कने रहेछ, राति त्यस्तै आवाज आयो, ल पानी पर्ने भयो, चित्र सिर्जना गर्न नपाइने भयो भन्ने चिन्ता थियो आखिर त्यो मेघ नभएर हिउँ खसेको आवाज रहेछ, हामीलाई समयले पनि साथ दियो, अभियान सफल बनाएर आयौँ’, तामाङले भने।

गएको शुक्रबार काठमाडौंबाट हिँडेको दुई सदस्यीय कलाकार टोली शनिबार र आइतबार त्यहाँको दृश्य क्यान्भासमा कैद गरेर सोमबार काठमाडौं आइपुगे। अन्य बाँकी कलाकारले काठमाडौंकै विभिन्न क्षेत्रमा चित्र सिर्जना गरेका थिए। विगत तीन वर्षदेखि शनिबारीय चित्रकला कार्यशाला अभियानका संयोजक दिवेश प्रधानले सुन्दर तर चुनौतीका बीच कार्यशालामा सहभागी भएर आएकाले दुवैलाई सम्मानसमेत गरेको बताए। कापुचे पुगेका दुईसहित चन्द्रा श्रेष्ठलाई ललितकला मञ्च नेपालले शुक्रबार सम्मान गरेको थियो। प्रधानको संयोजकत्वमा शनिबारीय कला कार्यशाला जारी छ। सोही अभियानअन्तर्गत दुई कलाकार प्रकृतिसँग रमाउँदै खुला आकासभित्रका दृश्यलाई क्यान्भासमा कैद गर्न पोखराको विकट तर रमणीय क्षेत्र कापुचे पुगेका हुन्।

संयोजक प्रधानका अनुसार अभियानकै क्रममा अब प्लेन एयर कन्भेन्सन, प्रतिस्पर्धात्मक चित्रकला कार्यशाला, प्लेन एयर टकलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। उनले यस अभियानअन्तर्गत कालापत्थरमा पुगेर चित्रकला कार्यशाला गर्ने योजना रहेको पनि बताए। ‘कलामा समाजवाद ल्याउने हाम्रो उद्देश्य हो, अहिले एउटा कला प्रदर्शनी गर्दा कम्तीमा एक लाख खर्च हुन्छ, त्यसलाई हामी खर्चै नगरी सामान्य कलाकारले पनि सिर्जना गर्न र प्रदर्शनी गर्न सकोस् भनेर अघि बढिरहेका छौँ,’ उनले भने।

राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका अध्यक्ष कृपाराम धमला कलाकार सबैको साझा गहना भएकाले यस्ता कलाकारलाई राज्यले नै सम्मान गर्नुपर्ने बताउँछन्। ‘आस्था आफ्नो ठाउँमा होला तर पार्टीले मेरो र तेरो नभनी कलाकारलाई उत्तिकै सम्मान दिनु जरुरी छ’, उनी भन्छन्।



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।