English

जसले लोकदोहोरीलाई स्टेजमा उकाले (भिडियो पनि)



रामप्रसाद खनाल । ४० को दशकका लोकदोहोरी गायक तथा पत्रकार । यतिमा मात्र उनको परिचय सीमित छैन । खनाल कुशल साहित्यकार पनि हुन् । उनका कविता, गजल र मुक्तक गरी १८ संग्रह प्रकाशित भइसकेका छन् । साथै, ५० भन्दा बढी गीति एल्बम बजारमा ल्याइसकेका खनालको १२ सयभन्दा बढी गीतमा स्वर छ ।

‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा’, ‘देउरालीमा पिपल छाँयाले’, ‘विशाल बजारमा मन पर्यो मायालाई एकै नजरमा’, ‘चिठ्ठी लेखेर’, ‘छैन यो मन थिर’, ‘शनिबार भेटौंला’ लगायतका हिट गीत उनकै नाममा छन् ।

बहुविधामा पोख्त खनाल सन् २००८ मा अमेरिका हानिए । त्यसअघि, पनि कार्यक्रमका सिलसिलामा १३ पटक अमेरिका पुगेका थिए तर, १४औं पटकको माहोलले उनलाई नेपाली नागरिकता त्याग्न बाध्य बनायो । अनि बने अमेरिकी ‘ग्रिन कार्ड होल्डर’ ।

हरेक वर्ष नेपालमा

यद्यपि, खनाललाई हरेक वर्ष नेपाली माटोले तानिरहन्छ । नेपाल आएका बखत उनी गीत रेकर्ड गर्छन्, भिडियो छायाँकन सक्छन्, युट्युबमा सार्वजनिक गर्छन् अनि अमेरिका फर्कन्छन् ।

यसपालि उनी छोराछोरीको विवाहका लागि नेपाल आए । यही मौकामा सातवटा गीत रेकर्ड गराए । जसमध्ये तीनवटाको छायाँकनसमेत सिध्याएर एउटा भजन आफ्नै युट्युबमार्फत सार्वजनिक गरिसके । दुई वर्षअघि नेपाल आउँदा पनि ११ वटा गीत रेकर्ड गरेका थिए । त्यसो त लाग्छ, खनालमा संगीतप्रतिको भोक अझै उस्तै छ । ‘नेपाल बसेका कलाकारले आफ्नो कर्मलाई जसरी निरन्तरता दिइरहन्छन्, मलाई पनि त्यही निरन्तरता दिने पछ्याइले डोर्याइरहेको छ,’ उनी भन्छन् ।

पत्रकारितामा होमिए, गायक बनेर चिनिए

खनालले संघर्षका दिनमा गायन, पत्रकारिता, कलाकारिता र साहित्यलाई सँगसँगै लिएर अघि बढे । तर, उनको संगीतप्रति रुचि भने सानैदेखिको हो । जसले उनलाई ‘राम प्रसाद खनाल’ बनाएर चिनायो । ०४४ सालतिरको कुरा हो । रेडियो नेपालले आधुनिक गीत राष्ट्रिय प्रतियोगिता आयोजना गर्यो । त्यसमा सहभागी हुन उनी गुल्मीबाट काठमाडौं आए । रेडियो नेपालमा ‘तिमीलाई नै सम्झेर आँशु मेरो झरेछ’ बोलको गीत रेकर्ड गराए । जसले उनलाई सांगीतिक क्षेत्रमा होमिन बल पुर्यायो । त्यसपछि रेडियो नेपालसँग उनको साइनो झनै प्रगाढ बन्दै गयो । यतिसम्म कि त्यही रेकर्ड भएका गीतले उनलाई दुनियाँ चिनायो, अनि कार्यक्रम प्रस्तोता पनि बनायो ।

हिजो हामीले गाउँघरमा गएर जन–जनका बोली बटुलेर गीत बनाउँथ्यौं अनि जति सुने पनि आनन्द आउँथ्यो । तर, आजभोलिका गीतमा मौलिकपन नै पाइँदैन ।

मौलिकता हराएकोमा चिन्ता

पछिल्लो समय लोक गीत संगीतमा मौलिकता हराउँदै गएको उनको ठम्याइ छ । नयाँ पुस्ताका गायक गायिकाहरू भाइरल हुन र चर्चामा आउने अभिलाषाले मौलिकता भुल्दै गएको उनी सुनाउँछन् । ‘राम्रो गरेरभन्दा पनि नराम्रोमा लागेर रातारात भाइरल हुने दाउमा गायक गायिका, कलाकार, सर्जकहरू लागे जसले लोकप्रियता घट्यो,’ उनी आक्रोशित सुनिन्छन्, ‘ हिजो हामीले गाउँघरमा गएर जन–जनका बोली बटुलेर गीत बनाउँथ्यौं अनि जति सुने पनि आनन्द आउँथ्यो । तर, आजभोलिका गीतमा मौलिकपन नै पाइँदैन । जब मौलिकता हराउँछ त्यसपछि केही बाँकी रहँदैन, न गीत, गीत बन्छ, न कविता बन्छ, न मुक्तक ।’ त्यसैले मौलिकताको पाटोलाई नभुल्न उनको आग्रह छ ।

लोकदोहोरीलाई स्टेजमा उकाल्दाको त्यो क्षण

खनालले लोकदोहोरी क्षेत्रमा पुर्याएको योगदानलाई नेपाली माटोले सम्झिरहन्छ । कुनैबेला आधुनिक, पप अनि हिन्दी गीतले मेला महोत्सवमा कब्जा जमाउँथे । लोकदोहोरी खासै बझ्दैनथे । वि.सं २०५३ तिरको कुरा हो । रुपन्देही उद्योग संघले बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो । संघको अध्यक्ष थिए, श्याम पाठक । त्यसको सांस्कृतिक समितिमा खनाल पनि थिए । समितिमा महोत्सव कसरी चलाउने, त्यहाँको खर्च कसरी धान्ने भन्ने कुरा आयो ।

‘मैले महोत्सवमा दोहोरी राखौं भन्ने प्रस्ताव गरेँ त्यसलाई श्याम दाइले पनि समर्थन गर्नुभयो,’ अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्षसमेत रहेका खनाल भन्छन्, ‘पहिलोपटक राष्ट्रिय औद्योगिक प्रदर्शनीमा लोकदोहोरीलाई मेला महोत्सवमा औपचारिक रूपमा प्रवेश गराएका हौं ।’ हिजोआज दोहोरीबिनाको मेला महोत्सव निरस हुन्छ, आयोजकलाई खर्च उठाउनै धौ–धौ पर्छ । ‘आफूले गरेको शुरुवातले निरन्तर सफलता पाउँदा खुसी लाग्छ,’ उनले सुनाए ।

प्रवासबाट नेपाल नियाल्दा

खनालले नेपालमा रहँदा लामो समय पत्रकारितालाई पनि आफ्नो कर्म बनाए । २०४५ सालबाट पत्रकारितामा पाइला चालेका खनालले पत्रपत्रिका, रेडियो, टेलिभिजनलाई आफ्नो कर्मक्षेत्र बनाए । उनले नेपाल टेलिभिजनबाट सञ्चालन गरेको ‘लोकदोहोरी’ कार्यक्रम दर्शकमाझ निकै लोकप्रिय थियो । साथै, खनाल पनि त्यतिबेला चल्तीका गायक थिए ।

भिडियो

भिडियो – राजकुमार श्रेष्ठ

यो पनि…
प्रमोद र ज्योतीको ‘खै कसरी’ (भिडियो सहित)
दोहोरीले धानेको नेपाली लोक संगीत (भिडियो पनि)



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested