नदीजन्य पदार्थको उत्खननले सर्लाहीका दर्जनौं गाउँ जोखिममा
सर्लाही । बागमती नगरपालिकास्थित बागमती नदी, हरिवन नगरपालिकास्थित चापिनी र लखनदेही नदी, लालबन्दी नगरपालिकास्थित कालिञ्जोर र फुलजोर तथा ईश्वरपुर नगरपालिकास्थित बाँके खोलामा दोहन भइरहँदा सरोकारवाला निकाय मौन देखिएका छन्।
जनप्रतिनिधि र कर्माचारीको मिलेमतोमा अवैध नदी भैरहेको स्थानीयवासीले आरोप लगाएका छन्। स्थानीय निकायले वातावरणीय मूल्यांकन प्रतिवेदन तयार पारी नदीजन्य पर्दाथ उत्खननको ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले स्थानीय निकायलाई बेवास्ता गर्दै मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरिरहेको स्थानीयवासीको आरोप छ।
लालबन्दी र ईश्वरपुर नगरपालिकाको सिमानामा पर्ने फुलजोर खोलाको ढाडाटोल नाका, प्रतापटोल नाका र फुलजोर र कालिञ्जोर दोभान नाकाबाट पाँच फिट गहिराइ आठ लाख ९७ हजार ८९६ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी विकल्प कन्ट्रक्शनले रु ३५ लाखमा सम्झौता भएको थियो।
त्यसैगरी लालबन्दी नगरपालिकाअन्तर्गत पर्ने कालिञ्जोर खोलाको भोर्लेनी नाका, रानीगञ्ज नाका, रेल्वेपुल नाका र जब्दी दोभान नाकाबाट पाँच फिट गहिराइ कूल २५ लाख ६५ हजार ४१८ घनमिटर उत्खनन गर्ने गरी ठोकर निर्माण सेवाले रु एक करोडमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाले जानकारी दिए।
साथै लखनदेही खोलाको प्रारम्भिक वातावरणीय मूल्यांकन प्रतिवेदनमा उल्लेख भएअनुसार लालबन्दी–११ बाहुने नाका, हीरापुर नाका र हीरापुर कोइरीटोल नाकाको लखनदेही खोलाबाट १.५ मिटर अर्थात् पाँच फिट गहिराइ छ लाख ४१ हजार ३५४ घनमिटर गिट्टी, बालुवा निकाल्न मिल्ने गरी गएको गत असोज २२ गते २५ लाखमा लालबन्दी नगरपालिका र जल्केश्वर कन्ट्रक्शन लालबन्दी–८ बीच सम्झौता भएको थियो।
फुलजोर खोला एक वर्ष ईश्वरपुर र अर्को वर्ष लालबन्दी नगरपालिका र लखनदेही खोलाको एक वर्ष हरिवन नगरपालिका र अर्को वर्ष लालबन्दी नगरपालिकाले ठेक्का लगाउने गरेको छ भने कालिञ्जोर खोला हरेक वर्ष लालबन्दी नगरपालिकाले मात्रै लगाउने गरेको छ। यी तीनवटै खोला यस वर्ष लालबन्दीले ठेक्का लगाएको थियो। नगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौताविपरीत ठेकेदार कम्पनीले करिब पाँच गुणा बढी गहिरो पारेर गिट्टी, बालुवा निकालिरहेका बताइएको छ।
कालिञ्जोर र फुलजोर खोलाको नदीजन्य पर्दाथ नदी नजिकै संकलन गरेर राखेका छन् भने केही नदीजन्य पदार्थ जिल्लाका विभिन्न क्रसरमा पुर्याउने गरेका छन्। यसका कारण आसपासमा रहेका दर्जनौँ बस्ती र खेतीयोग्य जमिन डुबान र कटानको उच्च जोखिममा छन्। यसरी मापदण्डविपरीत ठेकेदार कम्पनीले गलत तरिकाले उत्खनन गरिरहँदा पनि सम्बन्धित निकायको मौनताले जनप्रतिनिधि, कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतो रहेको स्थानीयवासीको आरोप छ।
त्यसैगरी लखनदेही खोलाको नजिकै रहेको हीरापुर, चन्द्रपुर पलार, नवलपुर, मोहनपुर, गणेशचोकलगायत दर्जनौँ गाउँ र उर्वरभूमि बाढी र कटानको जोखिममा छन्। नदी उत्खननको काममा नगरपालिकालगायत सरोकारवाला निकायले जिम्मेवार नहुँदा ठेकेदारको मनोमानी बढेको छ। सरोकारवाला निकाय मौन हुँदा खोलामा ठेकेदार कम्पनीले आफूखुसी करिब १५ देखि २० फिटभन्दा गहिरा खाल्डा पारेर नदीजन्य पदार्थ उत्खनन गरेका छन्।
ठेकेदारहरुले मापदण्डअनुसार उत्खनन गरेको पाइए कानुनी कारबाही गर्ने प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाले बताए। तर,प्रभावकारी अनुगमन नभएको उनले स्वीकार गरे। ठेकेदार कम्पनीले उत्खनन गरेपछि निरीक्षण गर्नुपर्ने नगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिले स्थानीय बासिन्दाबाट आएको गुनासोमा कुनै तदारुकता नदेखाउनुमा उनीहरूको समेत मिलेमतोको आशंका रहेको स्थानीयवासीको आरोप छ। यता ठेक्का लगाउने, अनुगमन गर्ने, कारबाही गर्नेलगायतका काम स्थानीय निकायको नै रहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। उनका अनुसार आफूहरूको कार्यालयमा लिखित उजुरीमा आएमा मात्र आफूहरूले अनुगमन गर्ने जानकारी दिए।
लालबन्दी नगर प्रमुख मानबहादुर खड्काले ठेकेदार कम्पनीले मापदण्डविपरीत उत्खनन गरेको पाइए कारबाही गर्ने बताए। उनले आफूहरूले नियमित अनुगमन गरिरहेको र बाहिरबाट आएको आरोपजस्तो नरहेको उल्लेख गरे।